विराटनगर । प्रदेश १ को सबैभन्दा ठुलो सरकारी हस्पिटल कोशीमा ६ महिनामै सुपरिटेन्डेन्ट (मेसु ) फेरिएका छन् । बुधवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोशी अस्पतालका डा. लक्ष्मीनारायण यादवलाई मेसुको जिम्मेवारी दिएको हो ।
कोशीमा ४ फागुनदेखि डा. यज्ञ खरेलले निमित्त मेसुको जिम्मेवारी समाल्दै आएका थिए । मन्त्रालयले यादवलाई मेसुको जिम्मेवारी तोकेको छ भने खरेललाई सोही हस्पिटलमा कार्यरत रहन भनेको छ ।
स्वास्थ्य मन्त्रालयले मेसुको जिम्मेवार दिएको डा. यादव १० औँ तहका चिकित्सक हुन् । यस अस्पतालमा ११ औँ तहको मेसुको दरबन्दी रहेको छ । यादवलाई कोशी अस्पतालको निमित्त मेसुको जिम्मेवारी दिएको हो । उनी अस्पतालका वरिष्ठ कन्सलटेण्ड फिजिसियन चिकित्सक हुन् ।
यसअघि मन्त्रालयले जुनियर चिकित्सकबाट मेसु नियुक्त गरेको भन्दै अस्पताल भित्रका सिनियर चिकित्सकहरू असन्तुष्ट बनेका थिए । जुनियरबाट मेसु नियुक्ति गरेको भन्दै अस्पतालका सिनियर चिकित्सकहरू असन्तुष्ट भएको कारणले पनि छोटो अवधिमा जिम्मेवारी हेरफेर गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । यादव र खरेल दुवै दसौँ तहको भए पनि यादव अस्पतालका सिनियर चिकित्सक हुन् ।
मन्त्रालयले मेसुको जिम्मेवारी दिएको यादव २०७१ सालदेखि कोशी अस्पतालमा कार्यरत रहेका छन् । उनी यसअघि अस्पतालको प्रवक्ताको जिम्मेवारी पनि समाली सकेका छन् ।
२०५८ सालमा लोकसेवाबाट नाम निकालेपछि पहिलो पोस्टिङ उनको धनुषाको प्राथमिक स्वास्थ्य चौकीमा भएको थियो । ६ महिना उक्त अस्पतालमा काम गरेपछि झापाको मेची अस्पतालमा सेवा गरे ।
वीर हस्पिटलको नेम्सबाट २०६६ सालमा एमडी गरेपछि पुनः मेची अस्पताल हुँदै यादवले २०७१ सालदेखि कोशीमा सेवा दिँदै आएका छन् ।