विराटनगर । विराटनगर भन्सार कार्यालयले आयातका लागि योग्य भन्दै छाडेका धेरैजसो ढुवानीका साधन अचेल प्रहरी फन्दामा पर्दै आएका छन् । भन्सारले छाडेपछि पनि प्रहरीले किन धमाधम नियन्त्रणमा लिँदैछ ती साधन र आयात गरिएका सामग्री ?
‘भन्सारले प्रक्रिया पूरा गरेर छाडेको कागज दिएको त हुन्छ तर ढुवानीकर्तासँग ती सामान वैध हुन् भन्ने कुनै प्रमाण हुँदैनन्’, मोरङका एक प्रहरी अधिकारी भन्छन् ‘कागजात केही हुन्न । सामान मात्रै हुन्छ । भन्सारले कसरी छाडिरहेको छ, हामी आफै अचम्मित छौं ।’
प्रहरीलाई छक्क पार्ने यस्ता घटना पछिल्लो एक सातामा झन् धेरै भए । भन्सारले सजिलै छाडेका ढुवानीका सामान बोक्ने साधनहरु प्रहरीले नियन्त्रणमा लिनुपछिको कारण के हो ? ‘विराटनगर भन्सार कार्यालयका कर्मचारी र भन्सार एजेन्टको मिलेमतोमा भन्सारबाट न्यून मूल्यांकन कायम गरि सामान भित्रिने गरेको छ’, विराटनगर भन्सार स्रोतले भन्यो ‘यो त्यसैको परिणाम हो ।’
एजेन्टले सामान ढुवानीकर्तासँग ‘सेटिङ’ मिलाएर भन्सारका कर्मचारीले सामानको मूल्याङ्कन कम गरिदिने तथा कम परिणाम देखाएर बढी सामान ढुवानीको व्यवस्था मिलाइदिने गरेको पाइएको हो ।
भन्सारबाट जाँचपास भएर निस्किएका सामान लोड गरिएका ढुवानीका साधनलाई नियन्त्रणमा लिएर प्रहरीले बुझाएपछि राजश्वले अनुसन्धान अघि बढाउँदा कर्मचारीको मिलेमतोमा भन्सार छली भएको पुष्टि हुने गरेको छ । मंगलबार राति प्रहरीले कम मूल्यांकन गरी भन्सार छली गरेको आशङ्कामा मोटर पार्टस बोकेको ट्याक्टर नियन्त्रणमा लिएको छ । विराटनगर –१२ रोडशेस चोकबाट मोटर पार्टस बोकेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।
भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएको भारतीय नम्बर प्लेटको बिआर ७ के १७२४ नं. ट्याक्टरमा विभिन्न किसिमका मोटर पार्टस र ट्याक्टर नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टर र सामानको मूल्य ३७ लाख बराबरको रहेको छ । ३३ लाखको सामान र ४ लाखको ट्याक्टर मूल्यांकन गरी प्रहरीले राजस्व कार्यालयमा पठाएको छ ।प्रहरीले ट्याक्टर चालक भारतको अरअरिया बस्ने २४ वर्षीय तलुवा मुर्मीलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले बरामद गरेको ट्याक्टर, सामान र चालकलाई थप अनुसन्धानको लागि राजस्व कार्यालय इटहरी पठाइएको हो । नियन्त्रणमा लिएको सामान ९ वटा फर्मले आयात भएको देखिएको छ ।
यसअघि भन्सारबाटै जाँचपास भएर निस्किएको आठ ट्रक सुपारी प्रहरीले नियन्त्रणमा लिएको थियो । सुपारीको जाँचपासलाई लिएर उच्च अदालत विराटनगरले प्रश्न उठाएको छ । यद्यपि राजस्व अनुसन्धान कार्यालयले अहिलेसम्म सुपारीको अनुसन्धान अघि बढाएको छैन ।
यसअघि भन्सार कार्यालयदेखि निस्किएको सामानमा न्यून मुल्यांकन र भेइकल एन्ड कन्साइन्मेट ट्र्याकिङ सिस्टम (भीसीटीएस) पनि नगरेको भेटिएपछि विराटनगरको शिवम मोटर्स पार्टस् र मारुती हार्डवेयरलाई राजस्व अनुसन्धान कार्यालय इटहरीले कारवाही गरेको थियो । भिसिटिएस नगरि सामान आयत गर्ने फर्मलाई ३ लाख र न्यून मूल्याकन गरि भन्सार छली गरेको कसुरमा ३ लाख १८ हजार रुपैयाँ जरिवाना भएको छ ।
गत असोज १३ गते साँझ भीसीटीएसमा गाडी नम्बर उल्लेख नगरी भन्सार जाँचपास गरेर यार्डबाट निस्किएको ३४ लाख मूल्यको कपडा, मोटर्सको पार्टपूजा र हार्डवयरको सामान लोड गरिएको वीआर ३८ डी ३२४३ नम्बरको ट्र्याक्टरलाई सशस्त्र प्रहरीको रानी सीमा आउट पोस्ट (बिओपी) ले नियन्त्रणमा लिएको थियो । त्यसबेला ट्याक्टर चालक पंकज यादव पनि पक्राउ परेका थिए ।यसअघि गत साउन पहिलो साता पनि विराटनगर भन्सार कार्यालयका कर्मचारी र एजेन्ट मिलेमतोमा १८ लाख रुपैयाँ राजस्व छली गरेको पुष्टि भएको थियो । राजस्व अनुसन्धान कार्यालय इटहरीले कपडा र विभिन्न सामान बोकेका दुई ट्याक्टर नियन्त्रणमा लिएर अनुसन्धान गर्दा १८ लाख राजस्व ठगी भएको पुष्टि भएको थियो ।
विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी राजेन्द्र ढुङ्गानाले नियम अनुसार जाँच पाँस भएर गएको सामानमा कुनै पनि प्रकारको भन्सार छली नभएको दाबी गरे । ‘प्रहरीको दुःख दिने नियत मात्र हो,’ उनले भने, ‘नियम संगत रूपमा भन्सार दाखिला गरी सामानहरूको जाँच पास हुने गरेको छ ।’ जाँचपासमा कुनै कमजोरी नभएको उनको दावी छ । केही दिनअघि तस्करीकै स्याउ र सुपारी पनि प्रहरीले यही शैलीमा नियन्त्रणमा लिएको थियो ।


