लोड हुँदैछ...

मेनु

काँग्रेस इटहरी कार्यालयमा तालाबन्दी

काँग्रेस इटहरी कार्यालयमा तालाबन्दी

इटहरी । नेपाली काँग्रेस इटहरी उपमहानगरपालिकाको पार्टी कार्यालयमा तालाबन्दी भएको छ । उपमहानगर समितिका उपसभापति बालकृष्ण विष्टको नेतृत्वमा पार्टी कार्यालय तालाबन्दी भएको हो ।

शनिबारदेखि काँग्रेसले सुरु गरेको जनताको साथमा काँग्रेस अभियानकै क्रममा पार्टी कार्यालयमा तालाबन्दी भएको हो । चुनाव केन्द्रित तयारी सुरु गरेको काँग्रेसले जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएर अभियान अगाडि बढाइरहेको छ ।

सुनसरीका २ र ३ नम्बर क्षेत्रमा पर्ने इटहरीको पार्टी कार्यालय तालाबन्दी भएपछि चुनावी अभियान प्रभावित हुने देखिएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा नभएको र नियमित बैठक नबसेको भन्दै तालाबन्दी गरिएको उपसभापति विष्टले जानकारी दिए ।
पार्टी नेतृत्वले आफ्ना कुराहरू गम्भीर रूपमा नलिएको कारण यो अवस्था सृजना भएको उनको भनाइ छ । नेतृत्वले चुनावी अभियानलाई ध्यानमा राखेर वार्ताको माध्यमबाट ताला खोल्ने वातावरण सृजना गर्नुपर्ने उनको अडान छ ।

उपमहानगर सभापति हेमकर्ण पौडेल मेयरमा निर्वाचित भएसँगै उपसभापति कोविदजंग कार्कीलाई कार्यवहकको जिम्मेवारी दिएका छन् । कार्कीले गत असार २ गते रिक्त रहेको कोषाध्यक्ष पदमा सुशीला चौधरीलाई नियुक्त गरेपछि विवाद भएको हो ।

एक महिना अगाडि समूहको भेला नै बेलाएर मेयर तथा सभापति पौडेलले आफूहरूलाई बेवास्ता गरेको विष्ट समूहले निष्कर्ष निकालेको थियो । विष्ट समूहमै रहेका उपमहानगर सचिव मन्दीप भट्टराई सभापतिले चासो नदिएको कारण सबै समस्या सृजना भएको बताउँछन् । सभापति मेयर भएपछि पेलेरै जाने मनसायमा रहेको र मेयरकै रणनीति अनुसार अहिलेको अवस्था आएको उनको बुझाई छ ।

कार्यवाहक सभापति कार्कीले भने आफ्नो नेतृत्व स्वीकार गर्न नसक्नेहरू अत्तालिएको प्रतिक्रिया दिएका छन् । सभापति फरक टिमको भएर पनि टिकट पाएर मेयरमा विजयी भएपछि साथीहरूलाई मन नपरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।