विराटनगर । प्रदेश १ को सबैभन्दा ठूलो सरकारी अस्ताल कोशीमा दुई महिनादेखि बन्द भएको एनआइसियु सेवा सुचारु नगर्दा बिरामीले चर्को शुल्क तिरेर निजीमा उपचार गर्न बाध्य भएका छन् ।
नयाँ भवन बनेर बच्चा वार्ड सरेको एक महिना हुँदा पनि बन्द गरेको एनआइसियु सेवा सुचारू नगर्दा विरामीलाई सास्ती भएको हो ।
ठाउँ अभाव भएको देखाउँदै कोशी अस्पताल प्रशासनले दुई महिनादेखि एनआइसियुको उपकरणहरू स्टोरमा थन्काएर राखेको छ । स्टोरमा एनआइसियुमा आवश्यक पर्ने उपकरणहरू ताला लगाएर राखिएको छ ।
अस्पतालको बच्चा वार्डको पुरानो भवनबाट सरेर नयाँ भवनमा गएको एक महिना हुनलाग्दा पनि अस्पताल प्रशासनले एनआइसियु सुचारु गर्ने चासो देखाएको छैन । कोशीको पुरानो बच्चा वार्ड ओपीडी भवनदेखि पूर्वउत्तरतर्फ रहेको थियो । पुरानो भवनमा रहँदा ५ शय्याको एनआइसियु सुचारु रहेको थियो ।
कुल २ करोड ६ लाख ८६ हजार ९ सय ५७ रुपैयाँ लागतमा निर्माण भएको लिफ्टसहितको नयाँ भवनमा सरेको एक महिना पुग्दा पनि एनआइसियु सुचारु हुन नसकेको हो । नयाँ भवनमा बच्चा वार्ड पनि सरेको थियो । वार्डमा ३२ शय्या रहेको छ । भेन्टिलेटर आवश्यकता पर्ने नवजात शिशुदेखि बालबालिकाहरूलाई एनआइसियुमा राखेर उपचार गरिन्छ ।
कोशीको गाइनो वार्डमा दैनिक २० देखि २५ वटासम्म प्रसुति हुने गरेको छ । जसमध्ये हप्तामा ५ देखि १० जनासम्म नवजात शिशुलाई एनआइसियूमा राखेर उपचार गर्नुपर्ने हुन्छ । तर, अस्पतालको एनआइसियु सुचारु नहुँदा विपन्न परिवारका बिरामी समस्यामा परेका छन् । ‘पैसा हुनेले त निजीमा गएर उपचार गर्दछन् । कोशीमा आउने विपन्न हुन्छन् । त्यसमाथि निजीमा उपचार गर्दा चर्को शुल्क तिर्नुपर्ने अवस्था रहेको छ,’ बिरामीका आफन्त खगेन्द्र बराइलीले भने, ‘कोशीमा भए दिनको एक हजार रुपैयाँमा उपचार हुने रहेछ । निजीमा एनआइसियुमा राखेर उपचार गर्दा दिनको ३ हजारदेखि ५ हजार रुपैयाँसम्म तिर्नुपर्दो रहेछ ।’
मोरङको कानेपोखरी गाउँपालिका–६ घर भएका बराइलीले चार वर्षको भाइ निमोनियाले ग्रस्त भएपछि कोशी हस्पिटल लिएर आएका थिए । चिकित्सकले बिरामीको अवस्था हेरेपछि एनआइसियुमा राखेर उपचार गर्नुपर्ने सुझाव दिए । आर्थिक अवस्था नाजुक भएको बराइली परिवारले सस्तोमा उपचार हुने भएकोले कोशीमा बिरामी लिएर आएका थिए । तर, एनआइसियु बन्द भएको कारणले बराइलीले चर्को शुल्क तिरेर निजीमा भाइको उपचार गर्न बाध्य भएका हुन् ।
कोशी अस्पतालका बच्चा विभागका प्रमुख डा.रामनारायण चौधरीले भवन अभावको कारणले एनआइसियु राख्ने ठाउँ नभएको बताए । ‘अहिले ज्वरो र इन्फेक्सन भएका बिरामीहरू आउने गरेका छन्,’ डा. चौधरीले भने, ‘यहाँ उपचार हुनसक्ने बिरामीलाई वार्डमा राखेर उपचार गर्दै आएका छौँ । गाह्रो भएका बिरामी र एनआइसियुमा राखेर उपचार गर्ने गरेका बिरामीलाई एनआइसियु भएको हस्पिटल लैजान आग्रह गर्दै आएका छौँ ।’
कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञ खरेलले पुरानो भवनबाट नयाँ ठाउँमा सरेको भवनमा एनआइसियु राख्ने उपयुक्त ठाउँ नभएकोले समस्या भएको बताए । चाँडै एनआइसियु जडान गर्ने तयारीमा रहेको भन्दै उनले केही दिनभित्रमा सेवा सुचारु गर्न जनशक्ति पनि माग गरिएको जानकारी दिएका छन् ।
पोषणमा एनआइसियु राख्ने तयारी
कोशी अस्पतालभित्र रहेको पोषण रहेको भवनमा एनआइसियु राख्ने तयारी गरिएको छ । अहिले रहेको पोषण भवनमा एनआइसियु राख्ने र पोषण पुरानो आइसियुमा सार्ने २९ साउनमा अस्पतालले निर्णय गरेको हो । पोषण र गाइनो वार्ड नजिक रहेको छ ।पोषण भएको भवनमा एनआइसियु राख्दा उपयुक्त हुने चिकित्सकहरूले सुझाव दिएपछि अस्पतालले निर्णय गरेको बुझिएको छ । निर्णय अनुसार अस्पतालले एनआइसियु राख्ने तयारी सुरु गरेको मेसु खरेलले बताए ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।