विराटनगर । विराटनगरको ट्राफिक चोक क्षेत्रमा नक्कली कर चुक्ताको प्रमाण पत्र बनाउने गिरोह सक्रिय रहेको पाइएको छ ।आन्तरिक राजस्व कार्यालय विराटनगर आसपासको क्षेत्रमा नक्कली कर चुक्ताको प्रमाणपत्र बनाउने गिरोह सक्रिय रहेको पाइएको हो ।
आन्तरिक राजस्व कार्यालय विराटनगरले मंगलबार नक्कली कर चुक्ताको प्रमाणपत्र बनाउने गिरोहलाई पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको छ । राजस्वले विराटनगरबाट नक्कली कर चुक्ताको प्रमाणपत्र बनाएको आरोपमा विराटनगरका लक्ष्मण कुमार पण्डितलाई पक्राउ गरेको हो ।
पक्राउ परेका पण्डितले मोरङको ग्रामथान गाउँपालिका ७ मा रहेको पाथीभरा ग्रिल उद्योगको नक्कली कर चुक्ताको प्रमाणपत्र बनाएको पाइएको छ । पण्डितले आर्थिक वर्ष २०७८/०७९ को ग्रिल उद्योगको कर चुक्ताको नक्कली प्रमाण पत्र बनाएका थिए । कति रकम लिएर नक्कली कर चुक्ताको प्रमाणपत्र बनाए त्यो खुलिसकेको छैन । पक्राउ परेका पण्डितलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मोरङ पढाएको आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख सूर्य प्रसाद पोखरेलले जानकारी दिए । ‘पाथीभरा ग्रिल उद्योगका संचालक कर चुक्ता गरेको प्रमाणपत्र लिएर आन्तरिक राजस्व कार्यालय आउनुभएको थियो । प्रमाणपत्रमा कर अधिकृतले गरेको हस्ताक्षर हेर्दा नक्कली जस्तो लागेपछि पान नम्बर राखेर कम्प्युटरमा इन्ट्री गर्दा नक्कली कर चुक्ताको प्रमाणपत्र रहेको खुलेको छ,’ कार्यालय प्रमुख पोखरेलले भने, ‘के कसरी यस्तो भयो । त्यस विषयमा अनुसन्धानको लागि हामीले प्रहरीमा जिम्मा लगाएका छौँ । थप विषय प्रहरीले अनुसन्धान गर्नेछ । ‘के कसरी यस्तो भयो । त्यस विषयमा अनुसन्धानको लागि हामीले प्रहरीमा जिम्मा लगाएका छौँ । थप विषय प्रहरीले अनुसन्धान गर्नेछ ।’
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले कर चुक्ताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा आन्तरिक राजस्व कार्यालयले पक्राउ गरेर पढाएपछि थप अनुसन्धान भइरहेको बताए । ‘पक्राउ गरी अहिले अनुसन्धान सुरु गरेका छौँ,’ डिएसपी श्रेष्ठले भने, ‘थप विषय अनुसन्धानपछि खुल्नेछ ।’
कर कार्यालय आसपासमा खुलेको च्याउ सरी कर सम्बन्धी काम गर्ने फर्महरूले बिचौलिया राख्ने गरेका छन् । फर्मले राखेको बिचौलियालाई आन्तरिक राजस्व कार्यालय अगाडी गेटमा राख्ने गरेका छन् । बिचौलियाले सस्तोमा सेवा गर्ने भन्दै कमिसन पाउने फर्ममा पुर्याउँछन्। बिचौलियाले सस्तो र छिटो सेवा दिने भन्दै प्रलोभनमा पर्दा सेवाग्राही ठगीमा पर्ने गरेका छन् । करसम्बन्धी काम गर्ने एउटा फर्मले २ देखि ५ पाँच जनासम्म बिचौलिया राख्छन् । कुनै पनि फर्मको कर चुक्ताको प्रमाणपत्र बनाउन सहयोग पुर्याएबापत १ हजारदेखि ५ हजारसम्म लिने गर्दछन् ।
कर कार्यालय अगाडी रहेको केही फर्महरू नियामक निकायमा दर्ता पनि नगरी संचालन रहेको छ । ती फर्महरूले बिचौलियालाई निश्चित रकम दिने र सेवाग्राहीलाई ठगी गर्दछन् । सेवाग्राहीबाट लिएको रकम फर्म संचालक र बिचौलियाले आधा आधा लिने गरेका छन् ।
यसरी कर कार्यालय अगाडी बिचौलियाले सेवाग्राहीलाई हातै समातेर कर कार्यालय तिर जान नदिई फर्म तिर लैजाँदा पनि आन्तरिक राजस्व कार्यालय प्रमुख सूर्य प्रसाद पोखरेल मुख दर्शक भएर बस्ने गरेका छन् । पोखरेलले समालेको कर कार्यालय अगाडी खुलेको फर्महरू दर्ता बेगार खुलेआम संचालन रहँदा पनि नियमन गरी कानुनी दायरामा ल्याउन कुनै पहल नगरेको स्थानीयको गुनासो रहेको छ ।


























1 प्रतिक्रिया
1 प्रतिक्रिया
राम्रो
प्रतिक्रियाहरू बन्द छन्।