लोड हुँदैछ...

मेनु

विराटनगर महानगरमा मनपरी: संकट छ भन्दै बजेटमा ब्रम्हलुट

विराटनगर महानगरमा मनपरी: संकट छ भन्दै बजेटमा ब्रम्हलुट

विराटनगर । स्रोत अभावको सकस झेलिरहेको विराटनगर महानगरपालिकाले नेपाली काँग्रेसका दिवंगत नेताहरुको नाममा स्थापना भएका प्रतिष्ठान र संस्थाहरुलाई मात्रै बजेटमा ब्रम्हलुट मच्चाएको पाइएको छ । प्रतिष्ठान, फाउण्डेशन आदिको नाममा बजेट दुरुपयोग गर्ने कार्यमा काँग्रेस नेतृत्वलाई एमालेको समेत साथ र साझेदारी रहेको देखिएको छ ।

अनावश्यक खर्च कटौतीको प्रतिबद्धता जनाएर महानगरको नेतृत्वमा पुगेका मेयर नागेश कोइरालाको नेतृत्वमा आएको पहिलो बजेटमै काँग्रेसका दिवंगत नेताहरुका नाममा रहेका संस्थाहरुलाई कुस्त बजेट छुट्याइएको हो । तर, ती संस्थाहरुले समाजमा के काम गरिरहेका छन्, ती संस्थाहरुलाई यतिधेरै बजेट खन्याउनुको औचित्य के भन्ने चाहिँ अहिलेसम्म प्रष्ट हुन सकेको छैन ।

विराटनगर महानगरपालिकाले चालु वर्षको बजेटमा स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको नाममा मात्रै विभिन्न चार शीर्षकमा बजेट छुट्याएको छ । काँग्रेस नेताहरुको नाममा खुलेका प्रतिष्ठानहरुका लागि मात्र यो वर्ष झण्डै २ करोड रुपैयाँ सञ्चालन तथा पुँजीगत अनुदानको व्यवस्था गरिएको छ ।

महानगरपालिकाले असार १० गते नगरसभामा प्रस्तुत गरेको बजेट पुस्तिका अहिलेसम्म प्रकाशन भएको छैन । विनियोजनलाई अन्तिम रुप दिँदै केही दिन अघिमात्र महानगरले विनियोजनका शीर्षकहरु समावेश भएको पिडिएफ फाइल महानगरको वेवसाइटमा प्रकाशन गरेको हो । त्यसअनुसार काँग्रेसका स्वर्गीय नेताहरुको नाममा स्थापना भएका प्रतिष्ठानहरुमा करोडौं बजेट विनियोजन गरिएको पाइएको हो । नेताहरुको नाममा यसरी बजेटमा ब्रमह्लुट गर्ने कार्यमा नेकपा एमालेको पनि साझेदारी देखिएको हो ।

नेपाली काँग्रेसका स्वर्गीय नेता तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना भएको गिरिजाप्रसाद कोइराला प्रतिष्ठानको नाममा महानगरले विभिन्न चार शीर्षकमा ४५ लाख ७५ हजार रुपैयाँ बजेट छुट्याएको छ । गिरिजाप्रसाद कोइराला प्रतिष्ठान भवन निर्माण गर्न २८ लाख ७५ हजार रुपैयाँ, पुस्तिका प्रकाशन गर्न ५ लाख रुपैयाँ, बालश्रम सम्बन्धी काम गर्न ५ लाख रुपैयाँ, र गिरिजाप्रसाद कोइराला हक्की प्रतियोगिता सञ्चालन गर्न ७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका स्वर्गीय नेता सुशिल कोइरालाको नाममा स्थापना भएको सुशिल कोइराला फाउण्डेशनको भवन निर्माणका लागि ५७ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । फाउण्डेसनको भवन विराटनगर ८ मा बन्ने उल्लेख छ ।
काँग्रेस नेता डा. शेखर कोइरालाकी आमा स्वर्गीय नोना कोइरालाको नाममा स्थापना भएको नोना कोइराला प्रतिष्ठानको भवन निर्माणका लागि महानगरले ५७ लाख ५० हजार रुपैयाँ बजेट छुट्याएको छ । उक्त भवन विराटनगर ४ मा निर्माण गरिनेछ ।

यतिमात्र होइन पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको नाममा स्थापना गरिएको कृष्णप्रसाद भट्टराई प्रतिष्ठानको भवन निर्माणका लागि २८ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । यी प्रतिष्ठानहरुलाई दिने सबै बजेट समानीकरण अनुदानबाट उपलब्ध गराइने गरी स्रोत सुनिश्चित गरिएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० मा काँग्रेस निकट नेताहरुको नाममा खोलिएका प्रतिष्ठानहरुका लागि करिब २ करोड रुपैयाँ बजेट विनियोजन गरेको महानगरपालिकाले तिनै प्रतिष्ठान र फाउण्डेशनहरुले गत वर्ष सम्पन्न गरेको कामको भुक्तानी गर्न भन्दै थप १ करोड ४८ लाख रुपैयाँभन्दा बढी रकम विनियोजन गरेको छ ।

गत आर्थिक वर्षमा नोना कोइराला स्मृति प्रतिष्ठानको भवन निर्माणमा खर्च भएको ७३ लाख ०२ हजार ९३५ रुपैयाँ भुक्तानी दिन बाँकी शीर्षकमा बजेट विनियोजन गरिएको छ । यस्तै गत वर्ष गिरिजाप्रसाद कोइराला फाउण्डेशनको भवन निर्माणका लागि महानगरले दुई वटा शीर्षकमा बजेट छुट्याएर काम गराएको थियो । फाउण्डेसनको तला थप गर्दा खर्च भएको १६ लाख ५० हजार २६३ रुपैयाँ र वडा नम्बर १ बाट सोही शीर्षकमा खर्च गरेको ९ लाख ५९ हजार १७२ रुपैयाँ चालु वर्षमा भुक्तानी गर्ने गरी बजेटको व्यवस्था गरिएको छ ।

यसैगरी गतवर्ष विराटनगर ८ स्थित सुशिल कोइराला फाउण्डेसनलाई भुक्तानी दिन ३८ लाख ८२ हजार रुपैयाँ चालु वर्षको बजेटमा विनियोजन गरिएको छ । यी प्रतिष्ठान र फाउण्डेसनका लागि गतवर्ष र चालु आर्थिक वर्षको गरी महानगरले ३ करोड ५३ लाख रुपैयाँ भुक्तानी गर्नु पर्नेछ ।
यसरी नेताहरुको नाममा खुलेका प्रतिष्ठानमा बजेट लैजाने होडमा काँग्रेस एक्लो छैन नेकपा एमालेले पनि साथ दिएको छ । महानगरको मेयर र उपमेयरले आ–आफ्ना नेताको नाममा खोलिएका प्रतिष्ठानमा बजेट विनियोजन गर्न सहमति गरेको सहज अनुमान गर्न सकिन्छ । नेकपा एमालेका पूर्व महासचिव स्वर्गीय मदन भण्डारीको नाममा स्थापना भएको मदन भण्डारी फाउण्डेशनको नाममा चालु वर्षमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । गम्भीर विषय के छ भने फाउण्डेसनको उर्लाबारीमा संरचना बन्दैछ भने बजेट विराटनगर महानगरपालिकाले उपलब्ध गराउँदैछ । चालु वर्षको बजेटमा मदन भण्डारी फाउण्डेशनको संरचनागत विकासका लागि ७ लाख रुपैयाँ र मदन भण्डारी फाउण्डेशन उर्लाबारीको भौतिक संरचना निर्माणका लागि २३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

विराटनगर महानगरपालिकाको उदारता त्यतिमात्र छैन उसले एसियाली विकास बैंकको सहयोगमा सञ्चालन भइरहेको एग्रिकल्चर एलायन्स नामक संस्थाको सञ्चालनमा सहयोग गर्न १० लाख रुपैयाँ विनियोजन गरेको छ । एलायन्सले विराटनगर वा मोरङमा कुनै कार्यक्रम गर्दैन । उसको कार्यक्षेत्र इलामतिर छ । तर, महानगरले सञ्चालन खर्च भने उपलब्ध गराउँदै आएको छ ।

विराटनगर महागनरपालिकाका वर्तमान मेयर नागेश कोइरालाले अनावश्यक खर्च कटौतीमा आफ्नो ध्यान रहेको बताउँदै आएका छन् । संघसंस्थाको नाममा दिने अनुदान र संस्थागत विकासका नाममा तिनै संस्थामा हुने खर्च कटौतीलाई मेयर कोइरालाले प्राथमिकतामा राखेको बताउने गरेका छन् । तर, महानगरको बजेट खर्च कटौतीको कुनै संकेत देखिएन ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले प्रतिष्ठान र फाउण्डेसनको नाममा विनियोजन भएको बजेटको विषयमा आफ्नो व्यक्तिगत प्रतिक्रिया नभएको बताए । ‘त्यस विषयमा किताबमा जे आयो त्यही नै हो, हामी कर्मचारीले धेरै बोल्ने र भन्ने कुरा हुँदैन,’ प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भने ‘बजेटको प्राथमिकता निर्धारण गर्ने जिम्मेवारी जनप्रतिनिधिहरुको हो, हामी कर्मचारीले त्यसलाई व्यवस्थापन गर्ने हो ।’

आम्दानी ४९ करोड, पुरानो भुक्तानी र अनुदान ४८ करोड

विराटनगर महानगरपालिकाले गत वर्ष सञ्चालन गरेको योजनाको ४० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । उपभोक्ता समिति र ठेक्कामार्फत सम्झौता भएका योजनाहरुको चालु वर्षमा भुक्तानी दिनुपर्ने रकम र चालु वर्षमा विभिन्न संघ संस्थाहरुलाई उपलब्ध गराउने सञ्चालन तथा पुँजीगत अनुदान रकम ४८ करोड रुपैयाँभन्दा बढी हुन्छ । जुन गत आर्थिक वर्षमा महानगरपालिकाको आन्तरिक आम्दानी बराबर हो । गत आर्थिक वर्षमा महानगरले अहिलेसम्मकै सबैभन्दा धेरै ४९ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो ।

चालु वर्षमा महानगरपालिकाले करको दर घटाएको छ । करको दर घटेको र दायरा खासै फराकिलो नभएको अवस्थामा महानगरको आन्तरिक आम्दानीमा उल्लेख्य सुधार हुने अवस्था देखिँदैन । वार्षिक सरदर २ अर्ब ६० करोड आम्दानी गर्दै आएको महानगर पालिकाले ४ अर्ब रुपैयाँ भन्दा बढीको बजेट प्रस्तुत गरेको छ । जसले महानगरपालिकाले तर्जुमा गरेका अधिकांश योजनाहरु कार्यान्वयन हुनै नसक्ने अवस्था दर्शाउँछ ।

2 प्रतिक्रियाहरू

2 प्रतिक्रियाहरू

बालचन्द्र अर्ज्याल
August 30, 2022 2:54 PM

प्रजातान्त्रिक आन्दोलनमा राणाशासन बिरूध्द जेलनेल बुट खाएर प्रजातन्त्र ल्याउन सफल स्वतन्त्र सेनानी स्वः रामेश्वर अर्ज्याल ले बहुदलीय व्यवस्थाप्रचार समितिसप्तरीमाखेलेको भूमिकालाई अवमूल्यन गरी कृष्ण प्रसाद कोइराला कासन्तानको मात्र भूमिकारहेको छ ? महानगर को बजेट गिरिजाप्रसाद कोइरालालाई नोनाकोइराला अलि केके प्रतिष्ठान फाउन्डेसन मा बजेट छुट्याउने ? हाम्रो बुवाको पैतृक सम्पत्तिलाई हिनामिनासहित डोजर चलाउने ।काॅग्रेस को सभापतिको सपना देख्छन शेखर कोइराला ।होसियार फेरी सांसद मै देउवा देखि प्रचण्ड माकुने समूह का जनताले हराउछन ।पाप धुरीबाट कराऊछ ।जयनेपाल

बालचन्द्र अर्ज्याल
August 30, 2022 3:07 PM

मपनि डोजर लिएर पहिलो कोइराला निवास भत्काउन त्यसपछी तिन्का हनुमान हरू पूर्व मेयर पराजुली केदार कार्की महानगर योजना महाशाखासँग सम्पर्क सेटीङ मिलाउने वार्ड अध्यक्ष समेत लाई डोजर लगाउन वातावरण बनाउन बिचार छ ।जयनेपाल

प्रतिक्रियाहरू बन्द छन्।