विराटनगर । ऐलानी जग्गा देखाएर नम्बरी भनेर ठगी गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बेलबारी नगरपालिका–३ खोरिया टोलका ५७ वर्षीय चित्रबहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।किन्नका लागि जग्गाको खोजीमा रहेकी वसुन्धरा खतिवडासँग नम्बरी भन्दै जग्गा देखाएर बस्नेतले ३ वर्षअघि पैसा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । सुन्दरहरैँचा नगरपालिका–१२ घर भएकी खतिवडा हाल बेलबारी–३ मा बस्दै आएकी छन् ।
लिखित कागज गरेर नै बस्नेतले २०७६ साल पुस ३ गते खतिवडासँग ११ लाख ५० हजार रुपैयाँ लिएको खुलेको छ । बिक्री गर्ने भनी ३ कट्ठा ९ धुर ऐलानीलाई नम्बरी जग्गा हो भनेर झुकाउँदै पैसा लिएको खुलेपछि नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।
पैसा लिएको लामो समयसम्म जग्गा पास नगरिदिएको र पछि ऐलानी रहेको थाहा पाएको भन्दै खतिवडाले गत साउन २३ गते इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिएकी थिइन् । बस्नेतले २०७९ असार मसान्तभित्र जग्गा पास गर्ने भाका राखेका थिए । जग्गा पास नगरेपछि खतिवडाले जग्गा बारे सोधिखोजी गरेकी थिइन ।
सोधी खोजी गर्ने क्रममा नम्बरी भनिएको जग्गा ऐलानी रहेको थाहा पाएपछि खतिवडाले उजुरी गरेकी थिइन।
बस्नेतविरुद्ध ठगी मुद्दा चलाउन सोमबार जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको बेलबारी प्रहरीले जनाएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।