विराटनगर । रंंगेली नगरपालिकाकी बिहरीदेवी पासवानले छोरीको विवाह गर्न ३ लाख रुपैयाँ गाउँका महाजनसँग लिएकी थिइन् । बिहरी स्थानीय होटलमा भाँडा माभ्mने काम गर्छिन् । छोरीको विवाहका लागि उनले मन्तोष साहसँग पैसा लिएकी थिइन् । पटक–पटक गरेर उनले साहुसँग लिएको ऋण तिरिन् । आफ्नो नाममा भएको १८ धुर जग्गा बन्धकी राखेर उनले पैसा लिएकी थिइन् ।
बिहरीले पैसा तिर्दा साहुले त्यसको भर्पाइ दिदैनथे । उनले भपाई माग्दा ‘म फटाहा छु र तेरो जग्गा दिइहाल्छु नि !’ भन्थे ।
‘एक दिन साहु घरमा गाडी लिएर आए । तेरो जग्गा फिर्ता गरिदिन्छु हिँड मालपोत कार्यालय भनेर मलाई पनि गाडीमा राखेर लगे,’ बिहरीले भनिन् ‘म पनि खुसी हुँदै आएँ । बल्ल ऋण चुक्ता हुने भयो भनेर खुसी भएको थिएँ । मालपोतमा पुग्दा कागज ठिक्क पारेर राखेका रहेछन् । मैले पनि जग्गा फिर्ता आउने खुसीमा हतार हतार ल्याप्चे लगाइदिएँ । एक छिनपछि मेरै आँखा अगाडि मेरै जग्गा ६ लाख रुपैयाँमा साहुले बेचिदिए ।’ बिहरीले सरकारले गठन गरेको मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि कार्यदल सँगको छलफलमा आँखाबाट आँसु खसाउँदै भनिन् ‘अहिले जग्गा फिर्ता गर्ने भए १८ लाख लिएर आइज भनिरहेका छन् ।’
विराटनगरका दिपनारायण यादव आफ्नै भाइबाट पीडित बनेका रहेछन् । ‘मेरो भाइ शिवनारायणले मलाई पीडित बनायो’ दिपनारायणले भने । शिवनारायण निर्माण व्यावसायी हुन् । ‘व्यवसाय चलाउन केही रकम चाहियो भनेर मसँग १२ धुर जग्गा माग्यो, मैले पनि विश्वास गरेर २०६७ सालमा दिएँ,’ दिपनारायणले भने ‘मलाई चाहिएको बेलामा फिर्ता गर्ने सर्तमा दिएको थिएँ, केही समयपछि मलाई डेढ लाख रुपैयाँ आवश्यक परेर मागें, उसले १२ लाख रुपैयाँको तमसुक गरेर डेढ लाख लैजान भन्यो । बाध्यताले तमसुक गरेर लिएँ । २०७० कार्तिक ५ गते एक वर्ष भित्रमा तिर्ने सर्त थियो मैले वर्ष दिननै नपुगी ब्याजसहित १ लाख ६९ हजार रुपैयाँ तिरेँ । भाइले १२ लाख तिर्न बाँकी छ भनेर जग्गा फिर्ता दिइरहेको छैन ।’ दिपनारायणले मिटरब्याजीको विरुद्धमा उजुरी खुलेपछि जिल्ला प्रशासन कार्यालयमा जाहेरी दर्ता गराएका छन् ।
विराटनगरकी गायत्रादेवी साहलाई कसैसँग पैसा लिएको थाहा छैन । तर विराटनगरकै जितेन्द्र साह र शीतल पाण्डेले पाँच लाख कर्जा लिएको र ब्याजसहित ८ लाख रुपैयाँ तिर्नु पर्ने भनेर भर्पाइ देखाए पछि उनी छक्क परिन् । जितेन्द्र र शीतल श्रीमान् श्रीमती हुन् । गायत्रादेवीसँग पाँच लाख तिर्ने क्षमता थिएन । उनका भतिजा दीपेन्द्रकुमार साहले भने ‘पैसा तिर्न नसकेपछि १० कट्ठा जग्गा श्रीमान् श्रीमतीका नाममा काकीले पास गरिदिनु भयो ।’
सरकारले देशैभरका मिटर ब्याज पीडितहरूलाई भदौ ५ गतेसम्म उजुरी दर्ता गर्न आह्वान गरेपछि उनले पनि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी छन् ।
विराटनगरकै जगदीश साहले दुई लाख ऋण लिएर १८ लाख ९४ हजार बुझाएको गुनासो सुनाए । विराटनगर १२ का सुनिल गुजराती र विराटनगर ६ का सिद्धकी ताजब्बर विरुद्ध उनले जिल्ला प्रशासन कार्यालय मोरङमा मिटरब्याजीको चपेटामा परेको भन्दै गरेका छन् । उनीहरू युवासंघ नेपाल महानगर कमिटी अध्यक्ष किरण लामा समूहका सदस्य हुन् ।
२०७४ साल मंसिर पहिलो साता एक हप्ताभित्रमा फिर्ता गर्ने सर्तमा विराटनगरकै ताजब्बर सिद्धिकीसँग उनले दुई लाख सापटी लिएका थिए । जगदीश र ताजब्बर साथी हुन् । उनले पैसा जम्मा गरेर फोन गरे । ताजब्बरको भने फोन लागेन । १२ दिनपछि उनैले फोन गरेर पैसा मागे । तर उनले २ लाख नभई ८ लाख दिन भने । ८ लाख नलिएको र दिन नसक्ने बताएपछि सिद्धिकीले अपहरण शैलीमा लगेर कुटपिट गरेको समेत आरोप लगाए । किरण लामा, अमिस बराल, सिद्धिकी लगायतले जबरजस्ती होटेलमा लगेर पैसा तिर भन्दै हप्काउन थाले । मैले २ लाख लिएको हो त्यो भन्दा बढी लिन सक्दिन भनेपछि मलाई कुटपिट पनि गरे । राति १ बजेसम्म हात खुटा बाँधेर टेन एलेभेन रेस्टुरेन्टमा कुटपिट गरे । उनीहरूले जबरजस्ती ८ लाखको कागजमा सही गरे मात्रै छोड्दिने भनेर धम्की दिएपछि मैले सहिछाप गरेको थिएँ ।
ज्यान जोगाउनका लागि मैले सहिछाप गरेको थिए । पछि मात्रै थाहा पाएँ त्यो तमसुकमा सुनिल गुजरातीको १५ लाख रुपैयाँ ऋण लिएको उल्लेख रहेछ । मैले न्याय पाउँ भनेर प्रहरीकहाँ पटक पटक उजुरी लिएर गएँ । तर प्रहरीले उजुरी लिन मानेन । पछि उनीहरूले जिल्ला अदालत मोरङमा मुद्दा हाले । २०७५ माघ १७ गते जिल्ला अदालतले मिटरब्याजीको पक्षमा फैसला गरेको थियो । फैसला कार्यान्वयनका लागि साह २०७६ माघ ७ गते पक्राउ परे । ‘म जग्गा बेचेर तमसुकमा उल्लेख गरिएको रकमको सावाँब्याज तिरेर कारागारबाट मुक्त भएँ’ उनले भने । उनले १८ लाख ९४ हजार रुपैयाँ लामाको समूहलाई तिरेको बताए ।
जिल्ला प्रशासन कार्यालय मोरङमा मिटरब्याजी सम्बन्धी ४२ वटा उजुरी परेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी सरदकुमार पोख्रेलकाअनुसार विराटनगर महानगरपालिकाका १७ जनाले, पथरी शनिश्चरे नगरपालिकाका ७ जनाले रंगेली नगरपालिकाको ४ जनाले, जहँदा गाँउपालिकाको ३ कटहरी गाँउपालिकाको ३, सुनबर्षी नगरपालिका र ग्रामथान गाउँपालिका बाट एक–एक जनाले जाहेरी दिएका हुन् ।
सरकारले गठन गरेको मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि कार्यदलका संयोजक डा. भीष्मकुमार भूसाल लागायतको टोलीले विराटनगरमा आज पीडित तथा सरोकार वालाहरुसँग छलफल गरेको छ । मिटरब्याजीका कारण धेरै सुकुम्वासी बनेको भेटिएको उनले बताए ।

