लोड हुँदैछ...

मेनु

आधा रकम छुट दिने लोभ देखाएर ठगीधन्दा

आधा रकम छुट दिने लोभ देखाएर ठगीधन्दा

विराटनगर । एक जना भारतीय नागरिकले छुटको लोभ देखाउँदै विराटनगरमा ठगीधन्दा चलाउने गरेको खुलेको छ । भारत तमिलनाडुका ५५ वर्षीय साराभाम वामानन्दले विराटनगरमा इलेक्ट्रोनिक्स सामानमा छुट दिने लोभ देखाउदै उपभोक्तालाई ठगी गर्ने गरेको खुलेको हो । विराटनगर –५ भकृटीमार्गमा रुबी इन्टरप्राइजेज नामक इलेक्ट्रिानिक्स पसल दर्ता गरी साराभामले एमआरपी मुल्यभन्दा ५० प्रतिशत छुटमा सामान दिने भन्दै उपभोक्तालाई ठगी गरेको गरेको प्रहरीको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । पसल सञ्चालन गरेर ५० प्रतिशत छुटमा सामान उपलब्ध गराउने भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा गत मंगलबार उनी पक्राउ परेका थिए । पक्राउ परेका साराभामलाई मोरङ प्रहरीले ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

साराभामसहित उक्त समूहका अन्य चार जना फरार छन् । फरार रहेकाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।रुबी इन्टरप्राइजेज नामक पसल दर्ता गर्दै वडा कार्यालय र आन्तरिक राजस्व कार्यालयबाट इलेक्ट्रोनिक्स सामान बिक्री गर्ने अनुमति लिएर ठगी गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी कोइरालाले जानकारी दिए । वामानन्दको नाममा गत जेठ ११ गते दर्ता गरी विराटनगर–५ को भृकुटीमार्गमै पसल सञ्चालन गरेका थिए ।

इलेक्ट्रोनिक्स सामानको मात्रै अनुमति लिएर अरु सामान पनि बेच्ने गरेको र विभिन्न ‘स्किम’ देखाएर शंकास्पद कारोबार गरिरहेको पाइएको प्रहरीले जनाएको छ । ‘इलोक्ट्रोनिक्स सामान बिक्रीको अनुमति लिएको देखिन्छ । तर अन्य घरायसी सामान पनि बेचिरहेको पाइयो,’ एसपी कोइरालाले भने, ‘खरिदका लागि अनलाइनमार्फत् पैसा तिरेको १८ दिनभित्र ग्राहकलाई सामान उपलब्ध गराउने भनिँदो रहेछ । सामानमा ५० प्रतिशत छुटको अफर पनि दिएको देखिन्छ ।

’छुटको प्रलोभनमा परेर सर्वसाधारणले पनि सामान खरिदका लागि अनलाइनमार्फत पैसा बुझाउने गरेको प्रहरीले जनाएको छ ।
‘बजार मूल्यभन्दा आधा रकममा सामान बिक्री गर्ने भनि छुटको ‘स्किम’ देखाएर प्रलोभनमा पार्दै सर्वसाधारणसँग पैसा असुल्ने गरेको पाइएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘प्रारम्भिक अनुसन्धानबाट लगभग ३५ देखि ४० लाखजति पैसा असुलेको देखिन्छ ।’ त्यसबापतको सामान उपलब्ध नगराएको प्रहरीको भनाइ छ । संचालक साराभाम ५ हजारदेखि १ लाख ५० हजारसम्म सर्वसाधरणसँग सामान उपलब्ध गराउने भन्दै पैसा लिएको खुलेको छ । उनी पक्राउ परेपछि आइतबारसम्म उजुरी दिने करिब २ सय सर्वसाधरण पुगेका छन् । ‘उजुरी आउने क्रमम जारी रहेको छ,’ मोरङ प्रहरीका डिएसपी राजन कार्कीले भने, ‘अहिले दैनिक जसो २/४ वटा उजुरी आउने गरेको छ ।’

भारतीय नागरीक साराभामले विभिन्न सामान एमआरपी भन्दा ५० प्रतिशत छुटमा सामान ल्याइदिने भन्दै ३ सयमभन्दा बढी सर्वसाधरणसँग अग्रिम पैसा लिएको बुझिएको छ । इलोक्ट्रोनिक्सको मात्रै अनुमति लिएर फ्रिज, मोटरसाइकल, ग्यास चुल्हो, फर्निचरका सामान, साइकल, मोबाइलदेखि सबै प्रकारका घरयासी सामान बेच्ने गरेको सूचना स्थानीय प्रशासनमा पुगेको थियो ।स्थानीय जनप्रतिनिधीहरुले प्रशासनमा जानकारी गराएपछि मोरङ प्रहरीले वामानन्दको पसलमा छापा हानेर उनलाई नियन्त्रणमा लिएको हो । त्यस क्रममा वामान्दको अरु सहयोगी चार जना फरार भएका हुन् ।

छुटको अफर देखाएर मुलुकभर सञ्जाल बिस्तार गरी पैसा उठाउँदै फरार बन्ने योजना रहेको हुनसक्ने अनुमान गरेको छ । बजार मूल्यभन्दा आधामा कुनै पनि पसलले सामान उपलब्ध गराउन नसक्ने व्यवसायीहरु बताउँछन् । पैसा लिएको १८ औँ दिनमा मात्रै सामान उपलब्ध गराउने भनिएकाले ठगी गर्ने मनायसले यस्तो धन्दा चलाएको हुनसक्ने उनीहरु बताउँछन् । एकैपटक ठूलो रकम संकलन गरिसकेपछि फरार बन्ने योजनामा साराभाम रहेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

Amol mandal
August 29, 2022 9:22 PM

Bharatya nagrik lai beypaar garna dinu hudaina nepal ma

प्रतिक्रियाहरू बन्द छन्।