लोड हुँदैछ...

मेनु

विराटनगरको राधाकृष्ण रथयात्रा आज

विराटनगरको राधाकृष्ण रथयात्रा आज

विराटनगर । विराटनगरको राधाकृष्ण रथयात्रा आज निकालिँदै छ ।

प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीका भोलिपल्ट विराटनगरमा रथयात्रा निकालिने गरीन्छ यसअघिका दुई वर्ष कोरोना महामारीका कारण खटयात्रा मात्रै निकालिएको थियो ।

राधाकृष्ण मन्दिर व्यवस्थापन तथा रथयात्रा आयोजक समितिले ५४ औँ रथयात्राको सबै तयारी पूरा भएको जनाएको छ ।

स्वास्थ्य मापदण्डको पालना गरेर मात्रै रथयात्रामा सहभागी हुन आह्वान समेत गरीएको छ ।

तीनपैनीबाट निकालिने रथ यसअघि मेन रोडबाट ट्राफिक चोक, हिमालय रोड हुँदै कोसी लोकमार्ग प्रवेश गराएर बरगाछीबाट मन्दिरतर्फ लैजाने गरिएको थियो । सौन्दर्यकरणको कामले हिमालय रोडमा अवरोध भएका कारण रथलाई रोडशेष चोकबाट घुमाउने तयारी छ ।

विक्रम संवत १९८९ सालबाट सुरु भएको खटयात्रालाई पछि गएर रथयात्रामा परिणत गरिएको हो । २०२५ सालदेखि विराटनगरमा रथयात्रा गरिँदै आएको छ । कोरोनाका कारण रथयात्राको ५२ र ५३ औँ संस्करण भने खटयात्रामा सीमित भयो । दुई वर्ष राधाकृष्णको युगल जोडीलाई खटमा राखेर नगर परिक्रमा गराइएको थियो ।

रथयात्राका लागि २२ फिट लम्बाई, १४ फिट चौडाई र १८ फिट उचाईको रथ तयार पारिएको छ । विराटनगरको रथयात्रालाई दक्षिण एसियाकै दोस्रो ऐतिहासिक रथयात्रा मान्ने गरिन्छ । रथयात्राको अवलोकन गर्न नेपालका विभिन्न जिल्ला र छिमेकी मुलुक भारतबाट समेत भक्तजन आउने गरेका छन् ।

रथयात्रालाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार रथयात्रालाई सुरक्षित र मर्यादित बनाउन सुरक्षाकर्मी परिचालन, निगरानी र आन्तरिक व्यवस्थापन लगायतका सुरक्षा रणनीति बनाइएको छ ।

रथयात्राको सुरक्षाका लागि नेपाल र सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरी परिचालन गरिने छ । नौ सय ६० जनाभन्दा बढी सुरक्षाकर्मी रथयात्राका लागि परिचालित हुने छन् । नेपाल प्रहरीका तीन जना डिएसपी फिल्डमा खटिने छन् ।

डिएसपी श्रेष्ठले रथयात्रामा बढी भीडभाड हुने भएकाले सुनचाँदीका गरगहना नलगाउन र बहुमूल्य वस्तुको प्रयोग नगर्न सबैमा आह्वान गरिएको छ । सिसी क्यामेराबाट रथयात्रा निगरानीको व्यवस्था मिलाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।