विराटनगर । भारतसँगको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि नेपालले निर्यातजन्य वस्तुहरुको नयाँ सम्भावना खोजी गर्नुपर्नेमा जोड दिइएको छ ।
नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ समितिले विराटनगरमा आयोजना गरेको सीमावर्ती भारतीय क्षेत्रसितको व्यापार सम्भावनासम्बन्धी छलफल कार्यक्रमका कृषि लगायतका निर्यातजन्य नयाँ वस्तुहरुलाई भारतीय बजारमा पु¥याएर व्यापार घाटा कम गर्न सरकारले सम्भावना खोज्नुपर्ने बताइएको हो ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले अन्तरदेशीय व्यापारमा नेपालको सवैभन्दा सम्भावना रहेको बजार नै भारतीय बजार रहेको र अहिले भारतसँगै ठुलो अन्तरमा व्यापार घाटा बढेको बताए । उनले भारतसँगको व्यापारको परनिर्भरता घटाउनका लागि विशेष वस्तु केन्द्रीत नीति आवश्यक रहेको बताए ।
‘सरकारले निश्चित वस्तु नै तोकेर बजेटमा सहुलियत दिन सकेन, गोलमटौल सहुलियतले निर्यात व्यापारलाई सघाउन सक्दैन’ बोहोराले भने, ‘अब त नेपालबाट तेस्रो मुलक निर्यात सोच्न गारो हुने अवस्था आइसकेको छ, अहिलेको समयमा भारत नै सवैभन्दा ठुलो पार्टनर हो, सरकारले भारतलाई नै लक्षित गरेर वस्तु केन्द्रीत नीति बनाउनु पर्छ ।’ उनले कृषि क्षेत्रलाई औधोगिकतर्फ लैजान सकिने र निजी क्षेत्रले पनि व्यापारका नयाँ क्षेत्रको पहिचानका लागि सरकारसँग छलफल गर्नुपर्ने विचार व्यक्त गरे ।
महासंघका केन्द्रीय सदस्य एवं प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले मुलुकबाट गार्मेन्ट निर्याय करीव शुन्यको अवस्थामा पुगेको भन्दै सरकारले निर्यातमा ठोस नीति अघि सार्न नसकेको बताए । मुलुकको व्यापार घाटा कम गर्नका लागि सरकारले भारतसँग गर्नुपर्ने जति लविङ गर्न नसकेको उनले दाबी गरे । जुट निर्यातमा भारतले बंगलादेशलाई एण्टी डम्पिङ नलिने तर नेपालबाट निर्यात हुने जुटका उत्पादनमा भने एण्टी डम्पिङ लिइरहेको बताए ।
‘बाध्यताले उद्योगहरु चलाउनु पर्ने अवस्था छ, धेरै प्रधानमन्त्रीहरुले भारत भ्रमण गरिसकेका छन् तर मुलुकको व्यापार प्रवद्र्धनका लागि भने सोचे अनुसार उपलब्धि हुन सकेको छैन’ उनले भने, ‘सरकारले एकातिर सिमेन्टमा छुट दिन खोजेपनि अर्कोतिरबाट रोयल्टी बढाएर उद्योगीहरुलाई आहत पारेको छ ।’
उपाध्यक्ष राउतले अदुवा र फलफुलको निर्यातमा नेपालको सम्भावना धेरै रहेकोले निर्यात बृद्धि गर्नका लागि कृषिजन्य उत्पादनको प्रसोधनमा सरकारले सहयोग पु¥याउनु पर्ने बताए । उनले केन्द्रीय सरकारको बजेटले आयातलाई नै प्रवद्र्धन गर्न खोजेकोले स्वदेशमा उद्योगधन्दा गरिरहेका उद्योगीहरुमा निरुत्साहित बनेको भन्दै चिन्ता व्यक्त गरे ।
कार्यपत्र प्रस्तुत गर्दै पूर्व बाणिज्य सचिव पुरुषोत्तम ओझाले नेपालको पहिलो निर्यात गन्तव्य भारत नै भएको बताए । उनले उत्पादन बृद्धिका लागि प्रभावकारी केन्द्रीय नीति आवश्यक रहेको र त्यसका लागि सवै क्षेत्रबीच समन्वयका खाँचो रहेकोमा जोड दिए । साथै लघु तथा मध्यम तहका उद्योगहरुको संरक्षण समेत आवश्यक रहेको बताए ।
छलफलमा सावती नेपालका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा.पोषराज पाण्डेले नेपालमा वि.सं. १७९२ मा तत्कालिन ब्रिटिस सरकार र नेपालबीच बाणिज्य सम्झौता भएपश्चात भारतसहितका अन्तरदेशीय क्षेत्रहरुमा व्यापारको सम्बन्ध अघि बढेको बताए । नेपालले निर्यात हुने कृषि उत्पादनमा भन्सार नलाग्ने व्यवस्थाको फाइदा उठाउनु पर्ने उनले सुझाव दिए । डा.पाण्डेले नेपालले विद्यमान उत्पादनमात्रै नभई नयाँ उत्पादनका क्षेत्र र वस्तुहरुको पहिचान गर्न सकिएको खण्डमा मुलुकको निर्यात घाटा कम भएर जाने बताए ।
कार्यक्रमका सभापति नेपाल उद्योग बाणिज्य महासंघका प्रदेश १ अध्यक्ष टिकाराज ढकालले भारतमा भइरहेको क्षेत्रीय स्तरको व्यापारमा देखिएका समस्याहरुको समाधानका लागि सवै क्षेत्रको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा उद्योग व्यवसायसम्वद्ध संघसंस्थाका प्रमुख तथा प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।

