इलाम । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली गुणस्तरीय चिया निर्यातका लागि भारतीय सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भारतले नेपाली तयारी चियाको निर्यात निरुत्साहित गर्नेगरी कानुन बनाउन लागेपछि त्रसित व्यवसायी र सरोकारवालासँग भएको भेटमा प्रधानमन्त्री देउवाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

इलाम र झापाका व्यवसायी तथा सरोकारवाला भारतको नयाँ कानूनको कारण समस्या आउने खतरा रहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन बालुवाटार पुगेका थिए । प्रधानमन्त्री देउवाले भारतीय पक्षसँग दूतावासमार्फत कुरा गरी नेपाली चिया निर्यात सहज बनाउन पहल गर्ने बताएको भेटमा सहभागी इलामको सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईले बताए ।

अहिले भइरहेको सहुलियतलाई निरन्तरता दिनेगरी वातावरण मिलाउन भारतीय पक्षसँग समन्वय गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएको मेयर राईले जानकारी दिए । प्रधानमन्त्रीले नेपाली व्यवसायी र किसानलाई चियामा गुणस्तर कायम गर्न पनि आग्रह गरेका थिए ।मेयर राईसहित इलाम र झापाबाट काठमाडौं पुुगेका व्यवसायीले पूर्वप्रधानमन्त्री झलनाथ खनाल, अर्थमन्त्री जनार्दन शर्मालगायत सरोकारवालासँग पनि भेट गरेका छन् । भेटमा अर्थमन्त्री शर्माले निर्यात भइरहेका वस्तुमा पाइने सहुलियतको लाभ चिया किसानले पनि पाउनेगरी वातावरण बनाउने बताएका थिए । चिया निर्यातमा देखिनसक्ने समस्या समाधानमा आफूले पनि पहल गर्ने बताएको मेयर राईले जानकारी दिए ।

नेपाली तयारी चिया आयातमा ४० प्रतिशतसम्म कर लगाउनेगरी भारतको लोकसभा र राज्यसभामा प्रस्ताव उठेको छ । नेपाली चियालाई कुनै न कुनै निहुँ बनाएर ३० सांसदले राज्यसभा र लोकसभा अध्यक्षलाई प्रतिवेदन बुुझाएपछि झस्किएका व्यवसायी र जनप्रतिनिधिले प्रधानमन्त्री र अर्थमन्त्री भेटेका हुन् ।

चियाको राजधानीका रूपमा रहेको सूर्याेदय नगरपालिकाका मेयर राईसहित व्यवसायी उदय चापागाईं, चण्डी पराजुली र सूर्याेदय टी प्रोड्युसर्स एसोसिएसनका प्रतिनिधिलगायतको टोली चिया निर्यातमा देखिनसक्ने समस्याबारे ध्यानाकर्षण गर्न काठमाडौं पुगेको हो । सरोकारवालाको टोलीले भारतीय सांसद्को प्रस्ताव पारित भए नेपाली चियालाई ठूलो चुनौती हुने प्रधानमन्त्री देउवालाई जानकारी गराएको छ ।
भारतीय राज्यसभा र लोकसभामा उठेको प्रस्ताव पारित भए ६० हजार नेपाली चिया किसानको व्यवसाय धराप हुने व्यवसायीको गुनासो छ ।