सप्तकोशीको कहरः

कोशी छेक्ने सामर्थ्य हामीसँग छैन : मन्त्री कार्की

कोशी छेक्ने सामथ्र्य हामीसँग छैन : मन्त्री कार्की

उदयपुरको बेलकास्थित सप्तकोशी नदी बाँध कटान गर्दै बस्ती पसेको समाचारले देश तरंगित बनेको छ । बुधबार विहानै फैलिएको समाचारसँगै सरकारी संयन्त्र उद्धारमा जुटेको थियो । प्रदेश १ सरकारका दुई जना मन्त्री दिनभर सोही स्थानमा देखिएका थिए । आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले बिहान १० बजेतिरै सो क्षेत्रमा पुगेर सरकारी  संयन्त्रलाई परिचालित गरेका थिए । स्थानीयको उद्धार र राहतमा जुट्न प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री हिमाल कार्की पनि खटिएका थिए । उनीसँग सरकारी संयन्त्रले गरिरहेको काम, उद्धार, राहत र पुनःस्र्थापनाबारे गरिएको कुराकानीः

सप्तकोशीको कटान निरीक्षणका क्रममा दिनभर बेलकामै रहनुभयो । त्यहाँको वास्तविक अवस्था के छ ?

बुधबार बिहान ४ बजे सप्तकोशीको बहाब पश्चिमपट्टि बगेर बेलका नगरपालिकामा पहिले बगेको भंगालोतिर गएको छ । जहाँ एक महिना अगाडि म पनि गएको थिएँ । त्यसपछि हामीले नै प्रयास गरेर बाढी नपसोस् भनेर कोशी बक्राहा आयोजनाले एक महिनादेखि त्यसको अस्थायी बाँध बाध्न सुरु गरेको थियो । तर, बाँधले थामेन । त्यो भंगालो वस्तीमा छिरिसकेपछि जनमानस आतङ्कित भयो । तर, धेरै वस्तीहरु डुब्न पाएको छैन । केही घरहरु डुबेको हामीले पाएका छौं । कोशी र भँगालोको बीचका बस्तीहरु चाहिं अत्यन्तै जोखिममा छन् । नगरपालिकासँग कुरा गरेर हिजै वस्ती सार्ने मेलोमेसो गर्नुहोस् भनेर मैले भनेको थिएँ । नगरपालिकाले सामुदायिक भवन, वनका भवन, विद्यालयहरु खोज्न लागेकोथियो । त्यसले गर्दा हामीलाई आज सजिलो भयो । केही मानिसहरु अझै घरबाट निस्कन मान्नुभएको छैन । हामी उच्च स्थानमा छौं पानी रहन्छ भन्ने केही मान्छेको कुरा छ । सुनसरीको बराहक्षेत्रको २ वटा वडा पनि कोशीपारि नै पर्छ । उहाँहरु एक जना पनि आउन चाहनु भएन । उहाँहरुको कुरा हामी उच्च स्थानमा ठाउँमा छौं, हामीलाई उद्धार गर्नु पर्दैन भन्ने छ ।

जोखिपूर्ण स्थानका चौपायाहरु, खाद्यान्न, बालबालिका तथा महिलाहरु, वृद्धवृद्धाहरुलाई एपिएफ, जनपथ र नेपाली सेनालगायतले सारेको अवस्था छ । मानवीय क्षति अहिलेसम्म भएको छैन । अझै पानी बढे पनि मानवीय क्षति हुन नदिन हामी प्रयत्न गरिरहने छौं । यो बाढी जहाँबाट प्रवेश गर्यो त्यो चाहिं बेलकाकै १ र २ नम्बर वडा भागलपुर क्षेत्रमा धेरै क्षति गर्छ कि भन्ने हामीले अनुमान गरेका छौं । यो बाढी अझै बढ्यो भने यसले मधेश प्रदेशको कञ्चनरुप नगरपालिकाको केही भाग र सप्तकोशी नगरपालिकाको केही भागमा पनि असर गर्छ । अहिले अन्नबालीलाई धेरै क्षतिगरिरहेको छ । अहिले पनि कृषिबालीबाटै नदी कुदिरहेको छ । भागलपुर क्षेत्रमा ओल र पिँडालु खेती बढी छ त्यसलाई पनि क्षति गर्ने देखिएको छ ।

गाउँमा बाढी गाउँमा पसिसकेपछि कतिपय त्यहीँ रहेकोले अहिलेसम्म ठ्याक्कै विस्थापनमा परेको संख्या कति हो ? कति प्रभावित छन् ?

म आफैंले स्थलगत निरीक्षणमा गएर विपद् व्यवस्थापन समितिको बैठकमा आएको तथ्यांकअनुसार अहिले तत्कालै १५ सय घर परिवारलाई हामीले सारेका छौं । बाढी धेरै बढ्यो भने २५ सय घर परिवार हामीले सार्नुपर्ने देखिन्छ । त्यसको लागि हामीले बस्ने, खाने व्यवस्थापन गरिसकेका छौं । त्यसमा हामी कुनै कमी हुन दिँदैनौं ।

खानेबस्ने व्यवस्थामा के कसरी गर्नुभएको छ ?

हामीले ड्राइफुड पनि व्यवस्था गरेका छौं । चिउरा, चाउचाउ, भुजा । चामल, दाल, तेल, नुन प नि हामीले पठाएका छौं । अहिलेसम्म तत्कालै ८ हजार किलो चामल हामीले पठाएका छौं । आवश्यकता अनुसार खाद्यान्न वितरण गर्नसक्छौं ।

उनीहरुले पकाउने चाहिँ के मा कसरी हुन्छ ?

उहाँहरुले आफ्ना भाँडाकुँडा र ग्यास पनि ल्याउनु भएको छ । अधिकांश परिवारले दाउरा प्रयोग गर्ने भएकोले दाउरा पनि उपलब्ध छ । त्यसकारण पकाउने कुरामा धेरै ठूलो समस्या छैन । अर्को सामुदायिक भवन, विद्यालयमा बस्ने भएकोले पनि समस्या छैन । रेडक्रसले आवश्यक पर्ने त्रिपालहरु दिएको छ । एपिएफ, जनपथ प्रहरी र नेपाल आर्मी, रेडक्रससहित गरेर हामीले डुंगा र बोटहरु तयारी अवस्थामा राखेका छौं ।

बालबालिका, सुत्केरी महिला र बुढाबुढीको लागि के व्यवस्थापन भएको छ ?

हामीले जेष्ठ नागरिक, महिला र बालबालिकालाई प्राथमिकतामा राखेर उद्धार गरेका छौं । उहाँहरुलाई कोठामै राख्छौं । त्रिपालमा राख्दैनौं । स्वास्थ्य शिविर पनि हामी त्यहाँ केन्द्रीत गरेका छौं । पहिलेको जस्तो उद्धार गर्यो ल्यायो, स्कूलमा राख्यो छोड्यो जस्तो भएको छैन । हामीले राम्रो तयारी गर्न पाएका कारण धेरै व्यवस्थित छ ।

पानी घट्ने वा बढ्ने अवस्थाबारे तपाईहरुलाई के जानकारी छ ? जोखिम कस्तो छ ?

अहिले पहाडमा वर्षा रोकिएको छ । तलको पानीभन्द ापनि पहाडी क्षेत्रमा परेको पानीको बहावको यो प्रभाव हो । अर्को कुरा के देखिन्छ भने पानीको प्रेसर कोशी ब्यारेजको हो कि भनेर शंका गर्ने ठाउँ दिँदैन । बहाब नै त्यसरी आएको छ । केही वर्ष अगाडिदेखि नै कोशीको धार नै परिवर्तन भएर पश्चिमतिर गइरहेको देखिन्छ । म आजभन्दा डेढ महिना अगाडि त्यहाँ जाँदा पनि पानीको बहाब पश्चिमतिरै बढेको कारण त्यसतर्फ सतर्कता अपनाउन अस्थायी बाँध निर्माण थालिएको थियो । तर, बाँध नै फुटाएर लगेको छ । त्यहाँ अर्को सपोर्टिङ काम गर्न धेरै गाह्रो छ । त्यहाँ धेरै परसम्म होली नै होली छ । त्यसले गर्दा एकदमै अप्ठ्यारो छ । पहिले त्यहीबाट कोशी बगेको भंगालो हो, त्यो । अब पानी रहेपछि त्यहाँ अस्थायी र स्थायी खालको बाँध निर्माणमा हामी पहल गर्छौं ।

अहिले बस्तीतिर पसेको त्यो भँगालो नियन्त्रण गर्ने र अहिलेको कोशीको धारतिरै परिवर्तन गराउने उपाय केही छ या छैन ?

अहिले तत्कालै त्यो हामीले देखिरहेका छैनौं । पानीको बहाब झनै बढ्यो भने त्यो सम्भव नै हुँदैन । त्यहाँ सुरक्षाकर्मी र स्थानीयले धेरै प्रयास गरेको पनि देखिएको छ । त्यो प्रयास गर्दागर्दै पनि कोशीको प्रवाह जुन गतिले आएको छ । अहिले तत्कालै छेक्नसक्ने सामथ्र्य कम छ ।

स्थानीयबासी चाहिं वस्तीमा सप्तकोशी पस्नुमा सरकार जिम्मेवार रहेको भन्दै रुष्ट देखिए । सरकारमा मान्छे आउँछन् हेर्छन् केही गर्दैनन् । यस्तो हुन्छ भन्ने पहिल्यै थाहा थियो भनेका छन् । यसबारे के भन्नुहुन्छ ?

स्थानीयले त्यहाँ बाँध बाँधेको देख्नुभएन होला । प्रदेश सरकारको पहलमा त्यहाँ बाँध निर्माण भइरहेको थियो नि । त्यहाँ अहिले गएर हेर्दा पनि हुन्छ नि । त्यहाँ क्षति हुन्छ भनेरै नयाँ आउने मेयरसहितले पहल गरेर यो काम सुरु गरेको हो । अब कोशीले भत्कायो । त्यसको बहाव छेक्न सकेन । प्रकृतिसँग त हाम्रो के लाग्छ र ? तर, हामी हिजोदेखि नै तयारी गरिरहेका थियौं । त्यही भएर पनि अहिले राम्रोसँग उहाँहरुको उद्धार गर्न सक्यौं नि । त्यो क्षेत्रमा बिहानैदेखि उद्धार गर्नलाई कोशीस गरिरहेका थियौं । तर, त्यहाँका मानिस कोशी टप्पुबाट भगाउन सरकार लागेको हो, त्यस कारण हामी जाँदैनौं । पानी आकै छैन भनेर अडान लिइरहेका छन् । त्यहाँ त्रास चाहिं बाढीको बहाना लगाएर त्यहाँबाट हामीलाई निकाल्छ कि भन्ने रहेछ । सरकारी जग्गा खाली गराउँछ कि भन्ने त्रासमा स्थानीय छन् ।

शुक्रबार, २० साउन, २०७९, बिहानको ०७:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर