विराटनगर । छिमेकी भारतमा सन्थाल समुदायकी द्रौपदी मुर्मु राष्ट्रपति बनेपछि प्रथम आदिबासी राष्ट्र प्रमुखका रुपमा उनको चर्चा चुलिएको छ ।
छिमेकमा आफ्नो समुदायकी महिलाले पाएको यो सम्मानले नेपालका सन्थाललाई पनि खुसी तुल्याएको छ । तर, आफूहरुलाई भने निरन्तर आश्वासन मात्रै दिँदै भोट आर्जन गर्ने माध्यम बनाएको आक्रोश उनीहरुमा देखिन्छ ।
झापा, मोरङ, सुनसरी लगायत प्रदेश १ को तराई क्षेत्रमा बसोबास भएका सन्थालहरु कतिसम्म परित्यक्त छन् भने सरकारले उनीहरुका लागि गर्छु भनेको कामसमेत पूरा गरेको छैन । २०७७ फागुन १८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामसहित शिलान्यास गरेको मोरङको उर्लाबारीस्थित एकीकृत सन्थाल बस्ती अहिलेसम्म अलपत्र छ । नयाँ घर पाइन्छ भन्ने आशमा बसेका सन्थालहरुलाई यसले निराश बनाएको छ ।
घर बनाउनका लागि ठेक्का लागेको लामो समय बित्दासमेत काम भने सुरु हुन सकेको छैन । रातो होली खोल्सीको छेउमा निर्माण गर्न लागिएको बस्तीका लागि छुट्ट्याइएको जग्गा विवादका कारण सन्थाल जातिका लागि निर्माण गर्न लागिएका घरको काम अगाडि बढ्न नसकेको हो ।
बस्तीमा १ सय ३२ घर निर्माण गर्ने गरी कार्यक्रम अगाडि बढाइएको थियो । जसमा १ सय ६ घर सन्थालको र २६ घर उराँव जातिका लागि निर्माण गर्ने जनाइएको थियो । २०७४ सालमा बक्राहा खोलामा बाढी आएपछि धेरै सन्थाल परिवार विस्थापित भएका थिए ।
केही परिवार अहिले पनि खोला किनारमै छन् । निर्माणस्थल रातो होलीको उत्तर–दक्षिण फैलिएको सात सय ८० मिटर लम्बाइभित्र पर्ने ५२ हजार आठ सय २८ वर्ग मिटर जग्गामध्ये ३१ हजार सात सय ६८ वर्ग मिटरभित्र बस्ती विकास गरिने योजना छ । बक्राहा खोला बाढी आउँदा नसुती रात काट्ने गरेको डिठ्ठा मर्दी सन्थालले बताए । उनले नेताहरुले सन्थाललाई राजनीति गर्ने माध्यम मात्रै बनाएको बताए ।
बस्ती निर्माणको काम अगाडि बढाउनका लागि ठेक्का लागे पनि जग्गा विवाद नमिल्दा समस्या भएको उर्लावा का मेयर गंगाप्रसाद खरेलले बताए । ऐलानी जग्गा भए पनि वर्षाैंदेखि भोगचलन गर्दै आएकाले सरकारले सम्बोधन गर्नुपर्ने स्थानीय बासिन्दाको भनाइ छ ।
लोपोन्मुख अल्पसंख्यक आदिवासी जनजाति समुदायमा पर्ने सन्थाल जातिमा गरिएको सर्वेक्षण अनुसार २७ परिवारको घर बनाउन पुग्ने आफ्नै जग्गा भए पनि आर्थिक अवस्था कमजोर भएकाले घर बनाउन नसक्ने अवस्था छ । उनीहरूको जग्गा भएकै स्थानमा बनाउने गरी कार्यक्रम अगाडि बढाइएको थियो । जग्गा भएकाहरुको पनि घर बनाउने कार्यक्रम अगाडि बढ्न सकेको छैन ।
बस्ती बन्ने आशमा बसेका सन्थालहरूले भने, ‘प्रधानमन्त्री आफैँ आउँदा खुशी लागेको थियो, त्यो खुशी अहिले हराउँदै गएको छ ।’
‘एकीकृत बस्ती विकाससम्बन्धी कार्यविधि २०७५ अनुसार स्थानीय प्रविधि, सीप र सामग्री प्रयोग गरी प्रत्येक परिवारका लागि दुई कोठा, एउटा भान्सा घर र एक शौचालयसहित संरचना निर्माण गर्ने गरी ठेक्का लगाएको भनेर चुनावमा नेताहरुले भनेको सुनेका छौं,’ सन्थाल समुदायका अगुवा बुद्धिलाल सोरेनले भने, ‘सरकारले हामीमाथि राजनिति गर्यो ।’
सडक, खानेपानी, मनोरञ्जनस्थल, खोल्सी संरक्षण, सरसफाइ, बाल विकास केन्द्र, विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन लगायतको निर्माण गर्ने गरी ‘मास्टर प्लान’मा उल्लेख गरिएको छ । तर, कामै सुरु नहुँदा स्थानीयबासी खिन्न बनेका हुन् ।

