विराटनगर । झापाको केचनाकवल ५ स्थित चिया बगानमा रहेको बयरको रुपमा झुण्डिएको अवस्थामा तीन जना किशोरीको शव भेटिएको छ ।
शनिबार दिउँसोदेखि हराएका किशोरीहरु आइतबार बिहान एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
स्थानीय बेल्लेगाउँस्थित सुनकोशी चिया बगानमा उनीहरुको शव भेटिएको गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजबंशीले जानकारी दिए। मृतक तीनैजना चिया बगानमा मजदुरी गर्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले १६ वर्षे करिना गणेश, १७ वर्षे अञ्जली गणेश र १६ वर्षे कल्पना गणेशको शव भेटिएको जानकारी दिए । डिएसपी पाठककाअनुसार दुई जना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेका हुन्।
कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी अनुसार एक जनाले गाई बाँध्ने दाम्लो, अर्कीले प्लाष्टिकको डोरी र अर्कीले गम्छा प्रयोग गरेका छन्।सामूहिक आत्महत्या गर्नुपर्ने कारण खुलेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ ।
तीनैजना किशोरी चिया बगानमा काम गर्ने गरेका थिए । यो घटनाले गाउँ नै शोकमा डुबेको छ ।

