विराटनगर । सुनसरीको दुहबी ९ को बेलाल पब्लिक स्कूल (मदरसा हजरत बेलाल) को प्रधानाध्यापक अवकास भएको १६ महिना पछिसम्म पनि काम गरिरहेको पाइएको छ ।
उनले गत २०७८ साल वैशाख महिनामै उमेर हदका कारण अवकाश प्राप्त गरेका थिए । तर, राजनीतिक आड भरोसाका कारण उनले पद अन्य शिक्षकलाई हस्तान्तरण नगरी विद्यालय व्यवस्थापनको कामदेखि प्रशासनिक काममा पनि हस्तक्षेप गरिरहेको भन्दै उनीविरुद्ध उजुरी परेको छ ।
विद्यालयका अभिभावकहरुको नाममा दुहबी नगरपालिकामा पेश गरेको उजुरीमा प्रधानाध्यापक जमिल अख्तरले अवकाश भइसकेको भए पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनमा पनि हस्तक्षेप गरेको उल्लेख छ ।
विद्यालय व्यवस्थापन समितिको भेला पनि मापदण्ड विपरीत गरेको र विद्यालय व्यवस्थापन समितिको अध्यक्षलाई भूमिकाविहीन बनाएर विद्यालय अभिभावक हुनका लागि विद्यार्थी स्कुलमा अध्ययनरत रहनुपर्ने कानूनी व्यवस्थाको पनि उल्लंन गरिएको निवेदनमा उल्लेख छ ।
१ दर्जनबढी अभिभावकले दिएको उजुरीको विषयमा आवश्यक छानविन हुनुपर्ने उनीहरुको माग छ । अभिभावक तथा सोही विद्यालयका जग्गा दाता मो. एजुबले पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले अवकास प्राप्त प्रअबाट आर्थिक कारोबार गर्नु गैर कानूनी छ छैन भन्ने प्रश्न उठेको बताए । दुहबी नगरपालिकाको शिक्षा विभागले आवश्यक छानविन गर्नुपर्नेमा उनले जोड दिए ।
यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आलम हुसेनले अवकास पाए पनि सोही क्षमताको अन्य व्यक्तिहरु नपाइएको कारण उनैलाई प्रधानाध्यापक बनाइएको बताए । ‘स्कुलसम्म ज्ञान भएको व्यक्ति, लामो समयदेखि योगदान गरेकोे व्यक्ति भएको कारण उहाँलाई राखिएको हो, यसमा आपत्ति हुनुपर्ने विषय होइन,’ उनले भने । व्यवस्थापन समिति गठन अवैधानिक भएको भन्दै उक्त कार्य समिति विघठन गर्न माग गरिएको स्थानीय अभिभावक भोला मियाँले बताए । ८ कक्षासम्म पठन पाठन हुने उक्त मदरसामा लगभग ३ सय विद्यार्थी अध्ययनरत रहेको व्यवस्थापन समितिका अध्यक्ष हुसेनले बताए ।

