विराटनगर । मोरङ जिल्ला अदालतमा चालु आर्थिक वर्ष २०७८/ ०७९ अहिलेसम्मकै सबैभन्दा धेरै मुद्दा दर्ता भएको छ ।

चालु आर्थिक वर्षमा ८ हजार ६४१ वटा मुद्दा दर्ता भएको अदालतको स्रेस्तेदार टिकेन्द्रविरजंग राणाले जानकारी दिए । ‘यो संख्या अहिलेसम्मै सबैभन्दा धेरै हो’ उनले भने, ‘दर्ता भएकामध्ये सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा छन् ।’

अदालतले यो वर्ष ४ हजार १५८ वटा नयाँ मुद्दा दर्ता हुने अनुमान गरेको थियो । तर, ५ हजार १०१ मुद्दा दर्ता भएका छन् भने अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ३ हजार ५४० मुद्दा छन् ।
अदालतले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा ३७९ कम मुद्दा फैसला गरेको छ । ५ हजार ६१९ वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको अदालतले असार ३० गतेसम्म ५ हजार २४० वटा मुद्दा फछ्र्यौट भएको स्रेस्तेदार राणाले जानकारी दिए ।

अदालतमा अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ६ हजार ४२५ वटा मुद्दा थियो । यस्तै आर्थिक २०६७/७७ मा ५ हजार ४१ वटा मुद्दा दर्ता भएको अदालतको अभिलेखमा देखिन्छ ।

चालु आर्थिक वर्षमा दर्ता भएका मुद्दामध्ये सम्बन्धविच्छेदको सबैभन्दा धेरै १ हजार ७९४ वटा छ । जसमध्ये १ हजार ३२६ वटा मुद्दा फछ्र्यौट भएको श्रेस्तेदार राणाले जानकारी दिए । सम्बन्ध बिच्छेदको ४६८ मुद्दाको फैसला हुन बाँकी छ ।

करणी सम्बन्धी ३७२ वटा मुद्दा दर्ता भएकोमा २५९ वटा फछ्र्यौट भएको अदालतले जनाएको छ । ज्यान सम्बन्धी १९४ मुद्दा दर्ता भएकोमा १२४ फछ्र्यौट भएको छ भने ७० वटा मुद्दा बिचारधिन रहेको छ । यस्तै लागूऔषध मुद्दा ४७९ वटा दर्ता भएकोमा ३७० वटा फछ्र्यौट भएको छ भने १०९ बाँकी रहेको अदालतको अभिलेखमा देखिन्छ ।

चालु आर्थिक वर्ष २०७७÷७८ मा ३ हजार ५४० वटा मुद्दा लगत सरेर आएको थियो । अदालतले यो अबधिमा २७ करोड ३३ लाख ८१ हजार ६ सय ६८ रुपैयाँ जरिवना असुली गर्नपर्नेमा २ करोड ८२ लाख ३५ हजार ६३८ रुपैयाँ असुली गरेको छ । यस्तै ६ हजार ९८९ वर्ष ३ महिना २३ दिन कैद असुली गर्नुपर्नेमा १ हजार ६३८ वर्ष ३ महिना २० दिन असुली गरेको अदालतले जनाएको छ ।