विराटनगर । प्रदेश १ को पर्यटन प्रवद्र्धन तथा विकासका लागि अन्तर्राष्ट्रिय र अन्तरप्रादेशिक पर्यटक आदनप्रदानमा जोड दिइने पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बूले बताएकी छन् ।
मधेश प्रदेश, प्रदेश १ र सीमावर्ती भारतका पर्यटन व्यवसायी र पत्रकारहरुको सहभागितामा आयोजना गरिएको अन्तरक्रिया तथा प्रचारप्रसार गोष्ठिमा मन्त्री लिम्बूले पर्यटक आदनप्रदान गर्नुपर्ने बताएकी हुन् ।
नेपालबाट धार्मिक पर्यटनका लागि ठूलो संख्यामा मानिसहरु भारत जाने गरेको भन्दै भारतबाट पनि त्यसरी नै पर्यटकहरु आउने वातावरण बनाउन सबै क्रियाशील हुनुपर्ने उनले बताइन् । ‘नेपालमा प्राकृतिक, धार्मिक र सहासिक पर्यटनका लागि प्रसस्त ठाउँहरु छन्, तपाईंहरु त्यहाँबाट मानिस पठाइदिनुहोस् हामी यहाँ घुमाउँछौं,’ मन्त्री लिम्बूले भनिन् ‘यहाँबाट पनि ठूलो संख्यामा भारततर्फ जाने चलन छ, अब अन्तरदेश र अन्तर प्रदेशको पर्यटक आदनप्रदान गर्ने वातावरण बनाउनु पर्छ ।’
नेपालमा कृषि पर्यटनको समेत राम्रो सम्भावना भएकोले त्यसलाई बेच्न बजारीकरणमा ध्यान दिनु पर्ने र अब प्रदेश सरकारले त्यसलाई लक्षित गरेर काम गर्ने उनको भनाइ थियो । प्रदेश १ मा ‘टि टुरिज्म’को राम्रो सम्भावना रहेको भन्दै चिया बगानको हरियाली र सयौं वर्ष पुरानो चिया उद्योगहरु पर्यटकका आकर्षक गन्तब्य बन्न सक्ने उनले बताइन् ।
पर्यटकीय स्थल र गन्तव्यहरुको पहिचान र निर्धारण गरेर त्यहाँसम्मको सहज पहुँच तथा सौन्दर्यकरणमा सरकारले काम गर्ने उनले बताइन् ।
पर्यटन तथा संस्कृति मन्त्रालयका सचिव इश्वर गिरीले प्रदेश १ का प्रमुख २६ गन्तव्यहरुका बारेमा कार्यक्रममा जानकारी गराएका थिए । पछिल्लो समय मुन्धुम पदयात्राप्रति मानिसहरुको चासो बढ्दै गएको र त्यस क्षेत्रमा पर्ने गोठहरुमा सोलार लाइटको प्रबन्ध गरेर यात्रुहरुको बसोबासलाई सहज बनाउने तर्फ सरकारले काम गरिरहेको उनले बताए ।
पर्यटन व्यवसायी भविसकुमार श्रेष्ठले प्रदेश १ को पर्यटनको मेरुदण्डको रुपमा भारतीय पर्यटकहरु भएपनि सरकारी नीतिका कारण सोचेजस्तो भारतीय पर्यटक ल्याउन नसकिएको बताए । भारतबाट आउने यात्रुहरुले ५०० र एक हजार दरका भारु नोट बोकेर विमानबाट यात्रा गर्न नसक्ने, २५ हजार भन्दा धेरै भारतीय मुद्रा बोकेर आउन नपाउने, भारतीय गाडीलाई कयौं ठाउँमा चेकजाँचको नाममा रोकेर दुःख दिने जस्ता कार्यले नेपाल घुम्न चाहने भारतीयहरु पनि नआइरहेको उनले बताए । सरकारले यस्ता समस्या समाधान गरेर पर्यटक सहजै आउने र घुम्न सक्ने वातावरण बनाउनु पर्नेमा उनले जोड दिए ।
प्रदेश सरकारले प्रदेशका १४ वटै जिल्लाका पर्यटन व्यवसायीहरुलाई भेला गरेर भारत र प्रदेश १ का पर्यटन व्यवसायी र पत्रकारहरु समेतको उपस्थितिमा दुई दिनसम्म छलफल तथा अन्तरक्रिया गरेको थियो ।

