विराटनगर । ‘शिक्षा, कृषि, उद्योग र पूर्वाधार, समृद्ध कटहरीको मूल अधिकार’ नाराको साथ मोरङको कटहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधवार गाउँपालिकाको प्रथम अधिवेशनमा स्वास्थ्य, पूर्वाधार, कृषि र शिक्षालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

कटहरी गाउँपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, कृषि र शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको अध्यक्ष देवराज चौधरीले बताए ।

गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रममा गाउँपालिका भित्रको सम्पूर्ण विद्यालयहरूलाई प्रविधिमैत्री र समावेशी विद्यालयसहितको रूपान्तरित गरिने, स्वास्थ्य केन्द्रहरूलाई प्रविधिमैत्री बनाइने, गाउँपालिकामा १५ शय्याको अस्पताल बनाउने नीति तथा कार्यक्रममा उल्लेख । यस्तै गाउँपालिकाले कृषकहरूको माटो परीक्षण गर्नको लागि माटो परीक्षण ल्याब पनि सञ्चालनमा ल्याउने भएको छ । गहुँ, धान र मकैको उत्पादकत्व बढाउन कृषकहरूलाई गहुँ, धान र मकैको बिउमा अनुदान दिने, कृषि तथा पशु बिमा कार्यक्रम विस्तार गरिने उल्लेख छ ।

कार्यक्रममा बोल्दै सङ्घीय सांसद अमनलाल मोदीले गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । जनप्रतिनिधिहरूले बनाएको योजना व्यवहारमा कार्यान्वयन गरेर लैजान सके मात्र समृद्ध गाउँपालिका बनाउन सकिने उनले बताए ।

कार्यक्रममा प्रदेश सांसद तथा पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे, नेकपा माओवादी केन्द्र मोरङका अध्यक्ष तथा प्रदेश सांसद विजय विश्वास, जिल्ला समन्वय समिति मोरङका अध्यक्ष अम्बर राईलगायतको उपस्थिति रहेको थियो ।