विराटनगर ।स्थानीय तह निर्वाचनमा इलामको सूर्याेदय नगरपालिकाका नगर प्रमुख (मेयर) रणबहादुर राई पुनः निर्वाचित भए । अघिल्लोपटक नेकपा एमालेबाट निर्वाचित भएका राई यसपटक एमालेबाट विद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीबाट चुनाव जितेर दोस्रो कार्यकालका लागि मेयर बने ।
प्रदेश सांसदलाई हराएर उनी मेयर बनेका हुन् । नेकपा एमालेका प्रदेश सांसद काजीमान कागतेले राजीनामा दिएर सूर्याेदय नगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरेका थिए । राईले १२ हजार ४३१ मत ल्याएर विजयी हुँदा कागतेले १० हजार ५७९ मत पाएका थिए । सूर्याेदयमा ‘दाइ एमालेलाई भाइ एमालेले हरायो’ भनेर चर्चा समेत भयो । सुर्याेदयमा मेयर, उपमेयरमा गठबन्धन भएको थियो भने वडामा गठबन्धन भएको थिएन । ५ वटा वडामा एकीकृत समाजवादीले जितेको थियो ।
प्रदेश सांसदलाई हराएका राईले दोस्रो कार्यकालमा पर्यटन र शिक्षाको सुधार पहिलो प्राथमिकतामा रहेको बताए । ‘धेरै काम गर्न बाँकी छ । अघिल्लो कार्यकालमा नसकिएका धेरै काम यो कार्यकालमा सक्नुछ,’ उनले भने, ‘पर्यटन र शिक्षामा मैले अघिल्लो कार्यकालमा पनि धेरै काम गरेको छु, अहिले पनि यिनै क्षेत्रका अधुरा बाँकी काम गर्नुपर्नेछ ।’
‘समाज परिवर्तन तथा सामाजिक रूपान्तरणका लागि महिलालाई शिक्षामा प्राथमिकता दिनुपर्छ,’ उनले भने, ‘यसपटक बजेटमा नै तोकेर ‘नगरको इच्छा बुहारीलाई शिक्षा’ भन्ने कार्यक्रम नै लागू गर्ने तयारी गरिरहेको छु ।’ विवाह गरेपछि विभिन्न कारणले पढ्न नपाएका बुहारीहरुलाई पढाउने पहिलो प्राथमिक्ता भएको उनि बताँउछन् ।
उनले अन्तरजिल्ला गणित प्रदर्शनी राखिने समेत बताए । गणित विषयमा कमजोर भएका बिद्यार्थीका लागि छुट्टै कक्षाको व्यवस्था गर्ने उनले बताए । ‘विज्ञान र गणित प्रदर्शनी गरिने छ,’ उनले भने ।
अघिल्लो निर्वाचनमा निर्वाचित भएपछि राईको पहिलो प्रयास पनि शिक्षाको सुधार नै थियो । सामुदायिक विद्यालयका शिक्षक तथा स्कूलमै पुगेर विद्यार्थी र अभिभावकसँग पनि गुणस्तरीय शिक्षाको सुधारका लागि छलफल गरेका थिए । शैक्षिक क्षेत्रका विज्ञ सहितको टोलीसँग आफैं विद्यालयमा गएर कुरा सुनेपछि मेयर राईले नगरबाट योजना बनाए र कार्यान्वयनमा लगेका थिए । त्यसको प्रतिफल लिन धेरै समय नलागेको उनी बताउँछन् ।