पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।
मंगलबार दिउँसो सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा माओवादीका अमरराज माखिम निर्वाचित भएका हुन् । एमालेका नरेन्द्रकुमार बस्नेतलाई २ हजार ३९ मतान्तरले हराउँदै उनी निर्वाचित भए ।
माखिमले ६ हजार ६५ मत प्राप्त गर्दा बस्नेतले ४ हजार २६ मत प्राप्त गरेका छन् । माखिम २०७४ सालमा पनि अध्यक्ष पदमै विजयी भएका थिए ।
उपाध्यक्षमा एमालेकी धनमाया सारु मगरलाई २ हजार २७० मतान्तरले हराउँदै नेपाली काँग्रेसका सन्तकुमार सेर्मा निर्वाचित भएका छन् । सेर्माले ५ हजार ५४२ मत प्राप्त गर्दा मगरलाई ३ हजार ३७२ मत प्राप्त भएको छ ।
उपाध्यक्षमा निर्वाचित सेर्मा यसअघि मिक्लाजुङ २ को वडाध्यक्ष थिए ।


