भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा मेयर र उपमेयरमा अघिल्लो निर्वाचनमा पराजित भएकाहरुले यस पटक त्यसबेला विजेता बनेकाहरुलाई पराजित गरेका छन् ।
अघिल्लो निर्वाचनमा मेयरमा पराजित भएका सुरेन्द्रकुमार उदास र उपमेयरमा पराजित भएकी प्रमिला राईले यसपटक परिणाम उल्टाएर विजयी भएका हुन् ।
नेकपा एमालेका उदास मेयरमा र नेकपा माओवादी केन्द्रकी राई उपमेयरमा निर्वाचित हुँदा अघिल्लो पटक उनीहरुलाई पराजित गर्ने निवर्तमान मेयर र निवर्तमान उपमेयर दुबै फराकिलो मतान्तरले पराजित भएका छन् । मेयरमा एमालेका उदास ६०९० मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिष्पर्धी निवर्तमान मेयर काँग्रेसका बीरबल राईले ५२८७ मत मात्रै पाए ।
उपमेयरमा प्रमिला राई ६६३१ मतसहित विजयी बन्दा नेकपा एमालेकी मेरिका राईले ३९६२ मत प्राप्त गरिन् ।
२०७४ को निर्वाचनमा मेयर पदमा विरबल राई ४९८६ मतसहित निर्वाचित हुँदा उदासले ४६९४ मत प्राप्त गरेका थिए । यस्तै उपमेयरमा मेरिका राई ४६९७ मतसहित निर्वाचित हुँदा प्रमिलाले २४८१ मत प्राप्त गरेकी थिइन् ।


