विराटनगर । तेह्रथुममा चार स्थानीय तहमा पुरानै नेतृत्व आएको छ । ६ वटा स्थानीय तहमध्ये चारमा पुरानै नेतृत्व दोहोरिएका हुन् ।
लालिगुराँस नगरपालिकामा कांग्रेसका अर्जुन मावोहाङ विजयी भएका छन् । ५१३९ मतसहित मावोहाङ विजयी हुँदा एमालेका गणेश लिम्बू ३३ सय ४४ मत ल्याएर पराजित भए । यसअघि पनि मावोहाङसँगै पराजय भोगेको लिम्बू दोस्रो प्रयासमा पनि असफल भए ।
लालिगुराँसको उपमेयरमा कांग्रेसका जमुना मगर कार्की विजयी भइन् । उनी गत चुनावमा एमालेबाट उपमेयरमा उम्मेदवार भइ पराजित भएकी थिइन् । यस पटक कांग्रेसमा प्रवेश गरेर उनले उपमेयरमा जित निकालिन् ।
यस्तै म्याङलुङ नगरपालिकामा एमालेका संजय तुम्हाम्फे पनि दोहोरिएका छन् । उनले ५११७ मत ल्याएर विजयी हुँदा काँग्रेसका अर्जुन तुम्बाहाम्फेले ४४७८ मत ल्याए । उपमेयरमा एमालेकै जमुना सुवेदी ५२१० मतसहित निर्वाचित हुँदा निवर्तमान उपमेयर पार्वती सानु डाँगी भने पराजित भइन् । एमालेले टिकट नदिएपछि उनी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेर उम्मेदवार बन्दा ४४१४ मत मात्रै ल्याइन् ।
मेन्छ्यायेम र छथर गाँउपालिकामा अध्यक्ष र उपाध्यक्ष नै पुरानै अनुहार दाहोरिएका छन् ।
मेन्छ्यायेम गाँउपालिकामा एमालेका यादवबहादुर खापुङले २०५५ मत ल्याएर विजयी हुँदा कांग्रेसका धनबहादुर लिम्बूले २०२१ मत मात्रै पाएका थिए । उपाध्यक्षमा कांग्रेसकी गिता तिम्सिना दोस्रो कार्यकालका लागि १९८६ मतसहित विजयी बन्दा एमालेकी प्रेमलता घिमिरेले ९७४ मत मात्रै ल्याएकी थिइन् । अघिल्लो चुनावमा पनि उनीहरु नै विजयी बनेका थिए ।
छथर गाँउपालिकामा सन्तबीर लिम्बू र तारा खरेल नै दोहोरिएका छन । गठबन्धन हुँदासमेत यसपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष दुबै जितेको छ । सन्तबीरले ३९१५ मत ल्याएर दोस्रो कार्यकालको लागि निर्वाचित हुँदा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर इमसङले ३३०६ मत मात्रै प्राप्त गरे । उपाध्यक्षमा तारा खरेलले ३७६२ मत ल्याउँदै विजयी बन्दा कांग्रेसका टेकराज लिम्बूले ३६०२ मत प्राप्त गरे ।
तेह्रथुमको फेदाप गाउँपालिका र आठराई गाउँपालिकामा गठबन्धनले एमालेलाई पराजित गरेको छ । फेदापमा कांग्रेसका केशवप्रसाद भेटवाल निर्वाचित भएका छन । निवर्तमान अध्यक्ष हरिप्रसाद चोङवाङले ३८६९ मत ल्याउँदा भेटवालले ४०४१ मत ल्याएर विजयी बनेका हुन् । उपाध्यक्षमा कांग्रेसका सुनिता पहिम ३९८५ मतसहित निर्वाचित हुँदा एमालेकी गिता थापा भने पराजित बनिन् ।
यस्तै आठराई गाउँपालिकामा कांग्रेसका दिलकुमार पाहिम विजयी बन्दा एमालेका रामचन्द्र थपलिया पराजित बने । थपलियाले ४००८ मत मात्रै प्राप्त गरेका थिए । उपाध्यक्षमा माओवादी केन्द्रका बलिराज इङनाम ४०८० मतसहित विजयी भएका छन् । निवर्तमान उपाध्यक्ष रुपा कन्दङवाले ४०७० मत ल्याएर पराजित भइन् ।


