विराटनगर । अघिल्लो स्थानीय तहको निर्वाचनमा जस्तै विराटनगर महानगरपालिकामा यसपटक पनि मत बदर भएको छ ।
अघिल्लो निर्वाचनमा २४.०७ प्रतिशत मत बदर भएको विराटनगरमा अहिले जारी मतगणनामा मेयर पदमा ३१.४८ र उपमेयरको ४४.१२ प्रतिशत मत बदर भएको हो ।
महानगरमा सोमबार दिउँसो २ बजेसम्म १६ हजार ३४४ मत गणना हुँदा मेयर पदमा ५ हजार १४६ र उपमेयर पदमा ७ हजार २११ म बदर भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमराज बुढाथोकीका अनुसार मेयर पदमा सबैभन्दा धेरै विराटनगर १७ को मत बदर भएको छ ।
विराटनगर १७ मा १ हजार ७०१ मत, विराटनगर १ मा ५५४, २ मा ३०१, १६ मा ७५६, १८ मा ९८१ र १९ मा ८५३ मत बदर भएको छ । यस्तै उपमेयर पदमा विराटनगर १७ मा १ हजार ७६१, विराटनगर १ मा ९५६, विराटनगर २ मा ५३५, विराटनगर १६ मा १ हजार १०२, विराटनगर १८ मा १ हजार ३१६ र विराटनगर १९ मा १ हजार ५३८ मत बदर भएको छ ।
सोमबर विराटनगर महानगरपालिकाको १६, १७ र १९ वडाको अन्तिम मत परिणाम सार्वजानिक भएको छ । विराटनगर १६ मा वडाअध्यक्ष पदमा २६७ मत, १७ मा २५४ र विराटनगर १९ नं. वडामा ३०८ मत बदर भएको सूचना अधिकारी बुढाथोकीले बताए ।
महानगरमा रहेको कुल मतदाता १ लाख ३३ हजार १४२ मध्ये ६७.३५ प्रतिशत अर्थात ८९ हजार ६७८ मत खसेको छ । अघिल्लो निर्वाचनमा महानगरमा ८० हजार ६८९ मत खसेको थियो । त्यसमध्ये मेयरमा १९ हजार ४ सय १९ मत बदर भएको थियो ।
विराटनगरमा सत्तारुढ गठबन्धनबाट मेयरमा काँग्रेसका नागेश कोइराला र उपमेयरमा जसपाका अमरेन्द्र यादव उम्मेदवार छन् । यस्तै नेकपा एमालेबाट मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्की उम्मेदवार छन् ।
जसपा परित्याग गरी स्वतन्त्रबाट उमेश यादव मेयरमा र माओवादी परित्याग गरि नमिता न्यौपाने उपमेयरको उम्मेदवार भएकी छन् । धेरै मत उनीहरुको चिन्हमा बदर भएको छ । लालटिन चिन्ह लिएर उम्मेदवार भएका उनीहरुलाई मत दिनेले सो पदमा पार्टीको चिन्हमा पनि मत दिएकोले बदर भएको हो ।
मतदाता शिक्षा प्रभावकारी नहुँदा मत खासाल्ने बेला मतदाता अलमलमा परेकाले बदर मतको संख्या बढेको हो । निर्वाचन आयोगले यसपटक मतदाता शिक्षा कार्यक्रम नै सञ्चालन नगर्दा बदर मत सबैतिर बढेको पाइएको छ ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा प्रदेश १ का सबै पालिकामा ६.४४ प्रतिशत मत बदर भएको थियो ।