प्रदेश १ मा अहिलेसम्म : काँग्रेस १७, एमाले १०, माओवादी ८ र स्वतन्त्र २ तहमा विजयी

विराटनगर । प्रदेश १ का १३७ स्थानीय तहमध्ये सोमबार अपरान्हसम्ममा ३७ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ।

पछिल्लो दुई दिनमा सार्वजनिक भएको चुनावी नतिजा अनुसार हालसम्म काँग्रेस १७ वटा स्थानीय तह प्रमुख र १५ वटा उपप्रमुख पद जितेर पहिलो स्थानमा छ। २०७४ मा काँग्रेसले प्रदेश १ मा ५४ स्थानीय तहमा जीत हासिल गरेको थियो।

२०७४ को निर्वाचनमा प्रदेश १ मा सबैभन्दा धेरै ६९ स्थानीय तह जितेर पहिलो बनेको एमाले यसपटक दोस्रो स्थानमा खुम्चिने सम्भावना बढेको छ । यसपटक प्रदेशमा एमालेले हालसम्म १० वटा प्रमुख र ८ उपप्रमुख पद जितेको छ।

नेकपा माओवादी केन्द्रले प्रमुखमा ८ र उपप्रमुख ७ वटा जितेको छ। अघिल्लो निर्वाचनमा जम्मा ९ स्थानीय तह जितेको उसले यसपटक ३७ वटाको नतिजा आउँदा जीत संख्या ८ पुर्याएको हो ।

अघिल्लो चुनावमा प्रदेशमा ३ स्थान जितेको राप्रपा र २ ठाउँ जीतको जसपा (तत्कालीन संघीय समाजवादी फोरम) ले यसपटक अहिलेसम्म जीत हात पारेका छैनन्। प्रदेश १ मा अहिलेसम्म दुई जना स्वतन्त्र उम्मेद्वारले प्रमुख पदमा जीत हासिल गरिसकेका छन्।

उपप्रमुख पदमा नेकपा एकीकृत समाजवादीले ५ स्थान र जसपाले २ स्थानमा जीत हात पारेका छन्।

कहाँ कसले जिते ?
निर्वाचन आयोगले सार्वजनिक गरेको चुनावी नतिजा अनुसार भोजपुरको रामप्रसाद राई गाउँपालिका अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका थामबहादुर राई विजयी भएका छन। यहाँ माओवादी र कांग्रेससहितको गठबन्धन थियो। उपाध्यक्षमा कांग्रेसका वीरेन्द्र राई निर्वाचित भएका छन्।

भोजपुरकै अरूण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका शालिकराम खत्री निर्वाचित हुँदा उपाध्यक्षमा पनि कांग्रेसकै बिनिता ढकाल निर्वाचित भएकी छन्।

भोजपुरकै साल्पासिलिछो गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार दौलथकुमार कुलुङ राई विजयी भएका छन्। उनले नेकपा एमालेबाट बागी उम्मेदवारी दिएका थिए। उपाध्यक्षमा नेपाली कांग्रेसकी अस्मिता कुलुङ राई विजयी भएकी छिन्।

भोजपुरकै आमचोक गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अशोक राई विजयी भएका छन्। उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रकमी सीता राई विजयी भएकी छिन्। आमचोकमा एमाले र कांग्रेसबीच तालमेल भएको थियो।

जिल्लाको हतुवागढी गाउँपालिकामा नेकपा एमालेका प्रेमकुमार राई विजयी हुँदा उपाध्यक्षमा सुनिता राई निर्वाचित भएकी छन् । माओवादीकी उनले गठबन्धनका क्रममा रुख चिन्ह लिएर चुनाव लडेकी थिइन् ।

भोजपुरको पौवादुङ्मामा एमालेका किरण राई अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा एमालेकै ज्योत्सना राई निर्वाचित भइन् ।

सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा एमालेका बुद्धिकिरण राई र उपाध्यक्षमा माओवादीका गौरव राई विजयी भएका छन् ।

सोलुखुम्बुकै महाकुलुङ गाउँपालिकामा कांग्रेसका सूर्यबहादुर राईले अध्यक्ष पद जितेका छन् भने उपाध्यक्षमा पनि कांग्रेसकै विपना कुलुङ विजयी भएकी छन्।

सोलुखुम्बुको सोताङ गाउँपालिका अध्यक्षमा कांग्रेसका खिलराज बस्नेत निर्वाचित हुँदा उपाध्यक्षमा पनि कांग्रेसकी अञ्जु नाछिरिङ राई निर्वाचित भएकी छन्।

सोलुकै थुलुङ दूधकोशी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका असिम राई विजयी हुँदा गाउँपालिका उपाध्यक्षमा पनि माओवादी केन्द्रकै सविता राई विजयी भएकी छन्।

लिखुपिके गाउँपालिका प्रमुखमा कांग्रेसकी मिनादेवी कार्की विजयी भएकी छिन्। उपाध्यक्षमा पनि कांग्रेसकै डावाङ लाक्पा शेर्पा विजयी भएका छन्।

सोलुखुम्बुको खुम्वु पासाङल्हमु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा मिङ्मा छिरी शेर्पा र उपाध्यक्षमा टासी ल्हामु शेर्पा विजयी भएकी हुन्।

तेह्रथुमको म्याङलुङ नगरपालिकाको मेयरमा एमालेका सञ्जयकुमार तुम्बाहाङफे विजयी भएका छन्। उपमेयरमा एमालेकै जमुनादेवी सुवेदी विजयी भएकी छिन्।

तेह्रथुमको फेदाप गाउँपालिकाको अध्यक्षमा कांग्रेसका केशवप्रसाद भेटवाल निर्वाचित भएका छन्। उपाध्यक्षमा पनि कांग्रेसकै सुनिता पहीम विजयी बनेकी छन्।

आठराई गाउँपालिका अध्यक्षमा कांग्रेसका दिलकुमार पाहिम र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका बलिराज इङ्नाम विजयी भएका छन् ।

तेह्रथुमकै छथर गाउँपालिकाको अध्यक्षमा एमालेका सन्तवीर लिम्बु निर्वाचित भएका छन्। उपाध्यक्षमा कांग्रेसका टेकराज लिम्बु विजयी भएका छन्।

मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका यादवबहादुर खापुङ निर्वाचित भएका छन्।उपाध्यक्षमा काँग्रेसकी गीतादेवी तिम्सिना निर्वाचित भएकी छन् ।

खोटाङको ऐसेलुखर्क गाउँपालिकाको अध्यक्षमा एमालेका गिरेन्द्रबहादुर राई निर्वाचित भएका छन्। उपाध्यक्षमा कांग्रेसकका राजेशकुमार राजभण्डारी विजयी भएका छन्। ऐसेलुखर्कमा कांग्रेस र माओवादीबीच तालमेल थियो।

खोटाङको केपिलासगढी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका समिर राई निर्वाचित भएका छन्। उपाध्यक्षमा जनता समाजवादी पार्टीका गुरुराज राई निर्वाचित भएका छन्।

खोटाङकै बराहापोखरी गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा शालिकराम बन्जरा र उपाध्यक्षमा भुवलराज राईले जितेका हुन् ।

खोटाङको जन्तेढुङ्गा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार अरूणादेवी राई निर्वाचित भएकी छन् । उनी यसपटक निर्वाचित हुने पहिलो महिला प्रमुख हुन् । उपाध्यक्षमा काँग्रेसका खेमबहादुर खड्का निर्वाचित भएका छन्।

धनकुटाको चौबिसे गाउँपालिकामा एमालेका राजकुमार लिम्बु निर्वाचित हुँदा उपाध्यक्षमा पनि एमालेकै टंकमाया पाङमी विजयी भएकी छिन्।

सागुरीगढी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका जितेन्द्र राई निर्वाचित भएका छन्। उपाध्यक्षमो एमालेका मुना राई निर्वाचित भएकी छन्।

धनकुटाकै छथर जोरपाटी गठबन्धनको तर्फबाट उम्मेदवार भएकाहरु नै निर्वाचित भएका छन् । अध्यक्षमा कांग्रेसका छत्रबहादुर लिम्बु र उपाध्यक्षमा माओवादी केन्द्रकी गीता गुरुङले जितेका छन् ।

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मेजरकुमार राई निर्वाचित हुँदा उपाध्यक्षमो कांग्रेसका पुष्पलाल राई निर्वाचित भएका छन्।

ताप्लेजुङको मेरिङदेन गाउँपालिका अध्यक्षमा काँग्रेसका युक हाङविर हाङ्गामले जित्दा उपाध्यक्षमा एकीकृत समाजवादी दुर्गाप्रसाद चोङबाङ विजयी भएका छन् ।

ताप्लेजुङकै फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका राजन लिम्बूले जित हात पार्दा उपाध्यक्षमा कांग्रेसका रबिन साम्रा लिम्बू विजयी भएका छन्।

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका विजयप्रकाश वनेम विजयी भएका हुन्। उपाध्यक्षमा गठबन्धनकै तर्फबाट काँग्रेसका उम्मेदवार कमलकुमारी लिम्बू विजयी भएकी छिन्।

ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका निशान्त शर्मा निर्वाचित भएका छन्। उपाध्यक्षमा कांग्रेसका सन्तोषबाबु थापा विजयी भएका छन्।

ओखलढुंगाकै मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली निर्वाचित भएका छन् । उपाध्यक्षमा कांग्रेसका आश्रचन राई निर्वाचित भए।

ओखलढुंगाको चम्पादेवी गाउँपालिका अध्यक्षमा काँग्रेसका नवराज केसी विजयी भएका छन् । उपाध्यक्षमा एमालेकी दिलमाया मगरले जितेकी छन् ।

संखुवासभाको खाँदवारी नगरपालिकामा नेपाली कांग्रेसले मेयर जितेको छ।गठबन्धनका तर्फबाट मेयरमा महेश थपलियाले जित्दा उपमेयरमा भने एमालेकी महेश्वरा श्रेष्ठ विजयी भएकी छन्।

जिल्लाको सभापोखरी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा काँग्रेसका भीमबहादुर लिम्बू र उपाध्यक्षमा एकीकृत समाजवादीका लक्ष्मी चापागाईं विजयी भएकी छन् ।

सिलिचोङ गाउँपालिका अध्यक्षमा काँग्रेसका भूपाल राई विजयी हुँदा उपाध्यक्षमा कांग्रेसकै देविता राई विजयी भइन्।

इलामको माङसेबुङ गाउँपालिकाको अध्यक्षमा एमालेका हेमन्त राई र उपाध्यक्षमा जनता समाजवादी पार्टीका विनोद कुमार नेम्बाङ विजयी भएका छन्।

त्यसैगरी इलामको सन्दकपुरमा अध्यक्षमा काँग्रेसका तुलाराम गु्रुङ र उपाध्यक्षका एकीकृत समाजवादीका हरिबहादुर लुंगेली विजयी भएका छन्।

पाँचथरको कुम्मायक गाउँपालिकामा गठबन्धनका कांग्रेस उम्मेद्वार बमप्रसाद लावती र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर खड्का निर्वाचित भएका छन्।

जेष्ठ २, २०७९, दिउँसोको ०४:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर