चार दाजुभाई उम्मेदवारः पालिका अध्यक्षमा दुई र वडाध्यक्षमा एक निर्वाचित

विराटनगर । स्थानीय तहको निर्वाचनमा प्रदेश १ का २ स्थानीय तहमा एकैघरका दाजुभाई अध्यक्षमा निर्वाचित भएका छन् ।

ओखलढुंगाको मानेभञ्ज्याङका हेमराज रुम्दालीका चार छोरा स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएकोमा २ जना गाउँपालिका अध्यक्षमा र एक जना वडाध्यक्षमा निर्वाचित भएका छन् । एक छोरा भए गाउँपालिका उपाध्यक्षमा पराजित भए ।

धनकुटाको सागुरीगढीमा दाजु ४० वर्षीय जितेन्द्र रुम्दाली नेपाली काँग्रेसबाट अध्यक्षमा निर्वाचित हुँदा ओखलढुंगाको मानेभञ्ज्याङमा भाई ३९ वर्षीय ज्ञानेन्द्र रुम्दाली स्वतन्त्र उम्मेदवार बनेर अध्यक्ष निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनबाट साँगुरीगढी गाउँपालिकामा उम्मेदवारी दिएका जीतेन्द्रले ५ हजार ३९९ मत प्राप्त गरि जित निकालेका हुन् । नेकपा एमालेबाट उम्मेदवार रहेका गाउँपालिकाका निवर्तनमा अध्यक्ष कुमारजंग याखाले ४ हजार ८२८ मत प्राप्त गरे । उनी अघिल्लो निर्वाचनमा याखासँगै पराजित भएका थिए ।

पढाइको लागि धरान झरेका जितेन्द्र धरान हुँदै धनकुटामा पर्यटन व्यवसायीको पहिचानसहित सामाजिक काममा सक्रिय थिए । २०५६ सालदेखि भेडेटारमा होटल व्यवसाय सुरु गरेका जितेन्द्र होटल व्यवसायी संघ भेडेटारमा सचिव, उपाध्यक्ष हुँदै अध्यक्षसमेत भए।

मानेभञ्ज्याङ गाँउपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनमै ज्ञानेन्द्र अध्यक्षको आकांक्षी थिए । तर, स्थानीय तह र प्रदेशसभामा पनि पार्टीले टिकट नदिएपछि उनी बागी उम्मेदवार बनेर ओखलढुंगा प्रदेश २ बाट १८ सय बढी मत ल्याएका थिए ।

यस पटक पनि पार्टीले उम्मेदवार नबनाएपछि ज्ञानेन्द्रले स्वतन्त्र उम्मेदवारी दिए । उनको लोकप्रियताकै कारण काँग्रेसले बाध्य भएर समर्थन गर्दा उनले अध्यक्षमा जित हासिल गरेका हुन् । उनले एमालेका रुपलाल तामाङलाई १ हजार २०६ मतान्तरले पराजित गरे । ज्ञानेन्द्रले ५ हजार २१ मत ल्याउँदा एमालेका तामाङले ३ हजार ८१५ मत प्राप्त गरेका छन् ।

दुई दाजुभाई गाउँपालिकाको अध्यक्ष मात्र चयन भएनन् जेठा दाजु ४५ वर्षीय राजकुमार रुम्दाली ओखलढुंगाको मानेभन्ज्याङ १ को वडाध्यक्षमा विजयी भएका छन् । उनी नेपाली कांग्रेसबाट वडाध्यक्षमा उनले ४५७ मत पाएर निर्वाचित भए । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सुजन रुम्दालीले ४१४ मत ल्याए।

राजकुमार अघिल्लो पटक पनि मानेभञ्ज्यांग गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा निर्वाचित भएका थिए। उनी दोहोरिएर वडाध्यक्ष बनेका छन् ।

मानेभञ्ज्याङमै भाइ ३६ वर्षीय दीपेन्द्र रुम्दालीले नेकपा एमालेसँगको गठबन्धनमा जनता समाजवादी पार्टीबाट उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । २ हजार ७७७ मत प्राप्त गरेका उनले भने नेपाली कांग्रेसकी आश्राचन राईसँग पराकिलो मतान्तरले पराजय व्यहोरे । राई ४ हजार ७५० मत प्राप्त गरिन् ।

जेष्ठ २, २०७९, दिउँसोको ०३:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर