ओलीको जस्तो तुच्छ गाली नगरौंः शर्मा

विर्तामोड । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कसैका विरुद्ध नभई देशको मुहार फेर्न चुनावी तालमेल गरेको बताएका छन् ।

झापाको धाइजनमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले गठबन्धन दलका उम्मेदवारलाई विजयी गराएर तालमेल अनुमोदन गर्न मतदातासमक्ष आग्रह गरे ।

काँग्रेसभित्र एक्लै चुनाव लड्नुपर्ने भन्ने कतिपयको मत रहेको भएपनि सहकार्यबाट अघि बढ्दा देशका लागि राम्रो हुने निष्कर्षका साथ पार्टीले चुनावी तालमेल गर्ने निर्णय लिएको शर्माको भनाइ छ । चुनाव रेस्लिङ खेल्ने र दुश्मनी साँध्ने विषय नभएको उल्लेख गर्दै उनले मत दिनु भनेको दण्डित र पुरस्कृत गर्नु भएको टिप्पणी गरे ।

सभ्य र सुसंस्कृत देश बनाउन मतदाताका लागि निर्वाचन अवसर भएको भन्दै शर्माले जनताले दिएको मत विश्वास गर्न नसक्ने र संविधान मास्न खोज्नेलाई भोट नदिन मतदातासामु आह्वान गरे । आफूहरुको गठबन्धनलाई गाली गर्ने केपी ओलीले राप्रपा नेपाल र परिवार दलसँग तालमेल गरेको भन्दै उनले एमालेले हार स्वीकार गरेकोले छट्पटी देखिएको दावी गरे । केपी ओलीजस्तो तल्लो स्तरको गाली कुनैपनि दल र नेतालाई नगर्न आह्वान गर्दै शर्माले स्वस्थ प्रतिस्पर्धामा जोड दिएका थिए ।

सभामा अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष रञ्जित तामाङले धेरै अहङ्कार नगर्न एमाले अध्यक्ष केपी ओलीलाई सुझा दिँदै अहङ्कारकै कारण सत्ता गुमाएको बताए । अहंकार र दम्भ देखाइरहने हो भने एमालेलाई गुगलमा सर्च गरेर खोज्नुपर्ने दिन आउने उनको चेतावनी थियो ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य धनप्रसाद गुरुङले एमाले अध्यक्ष केपी ओलीलाई कंशको संज्ञा दिए । उनले पाँच दलीय गठबन्धनलाई पाँच पाण्डवका रूपमा अथ्र्याउँदै सत्यको सधैँ जित भएको दृष्टान्त सुनाए ।

चुनावीसभामा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले आफू एक्लै चुनाव लड्दा १६ सयभन्दा धेरै मतले चुनाव जितेको मेचीनगरमा फराकिलो मतले चुनाव जित्ने ठोकुवा गरे । सभामा मेचीनगरका प्रमुखका उम्मेदवार इन्द्रबहादुर बुढाथोकी र उपप्रमुखका उम्मेदवार प्रकाश भण्डारीलगायतले बोलेका थिए ।

मेचीनगरमा काँग्रेसले प्रमुख र नेकपा माओवादी केन्द्रले उपप्रमुख लिएर चुनावी तालमेल गरेका छन् । मेचीनगर जनसंख्याको हिसाबले देशभरकै ठूलो नगरपालिका हो ।

बैशाख २५, २०७९, साँझको ०५:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर