लोड हुँदैछ...

मेनु

बुढीगंगामा चुनावी सरगर्मी बढ्दै

माओवादीको आक्रमक प्रचारको छायाँमा प्रतिस्पर्धी दलहरु

माओवादीको आक्रमक प्रचारको छायाँमा प्रतिस्पर्धी दलहरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा चुनावी सरगर्मी बढेको छ । नेपाली काँग्रेसले आफ्नो प्रभाव क्षेत्र मान्दै आएको बुढीगंगालाई यस पटकको निर्वाचनमा सबै राजनीतिक दलले प्रतिष्ठाको विषय बनाएका छन् । उम्मेदवारी छनौटका क्रममा नेपाली काँग्रेसभित्र तीब्र असन्तुष्टी व्यक्त भइरहेको छ । जसले गर्दा काँग्रेसको चुनावी माहौल सोचेअनुरुप सिर्जना हुन सकेको छैन ।

यतिबेला बुढीगंगामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनले चुनावी माहौल सिर्जना गरिरहेको बताइएको छ । गठबन्धन बनाएर चुनावमा गएका दुई कम्युनिष्ट पार्टीले सातवटै वडाहरु बाँडेर उम्मेदवारी दिएका कारण गठबन्धनले काँग्रेससँग सिधासिधा टक्कर दिइरहेको स्थानीय धर्मेन्द्र ऋषिदेवले बताए ।

नेकपा माओवादी केन्द्रले बिहीबार बुढीगंगा गाउँपालिका ५ मा वृहद् घरदैलो अभियान सञ्चालन गरेको छ । घरदैलोमा वडाका ५ सयभन्दा बढी सहभागी थिए । एउटै वार्डमा चार–पाँच सय जनाको घरदैलो हुन थालेपछि प्रतिस्पर्धी दलहरुलाई चुनाव जित्न हम्मे पर्ने नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य उपेन्द्र रायले बताए । ‘बुढीगंगा गाउँपालिकामा हाम्रो मुख्यप्रतिस्पर्धा नेपाली काँग्रेससँग हो, हाम्रो पक्षमा जनलहर उर्लिएको देखेर विपक्षीहरु अत्तालिन थालेका छन्,’ नेता रायले भने ‘बुढीगंगामा हाम्रो गठबन्धनले चारदेखि पाँच वटा वडा जित्ने सम्भावना छ ।’ बुढीगंगा ४ र ५ मा करिब जीत निश्चित भइसकेको उनीहरुको दाबी छ । ४ नम्बर वार्डमा यस अघिकै वडाध्यक्ष कासिम मियाँ नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार छन् भने ५ मा माओवादी केन्द्रका देवेन्द्रप्रसाद दाहाल उम्मेदवार छन् । वडा नम्बर ३ र ६ मा माओवादी र काँग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेको उनको दाबी छ । त्यस्तै वडा नम्बर १ र ७ मा पनि गठबन्धनले आफ्नो अवस्थालाई सुधार गर्दै प्रतिस्पर्धातर्फ बढाइरहेको बताइएको छ । गठबन्धनको उपस्थिति तुलनात्मकरुपमा वडा नम्बर २ मा कमजोर रहेको बताइएको छ । नेपाली काँग्रेसको राम्रो अवस्था मानिएको २ नम्बर वडामा काँग्रेसभित्रको विवादका कारण नेकपा एमालेलाई फाइदा पुग्नसक्ने सम्भावना रहेको जानकारहरुले बताएका छन् ।

सात वटा वडा भएको बुढीगंगामा चार वटा वडामा जित निकालेको खण्डमा गठबन्धन नै बिजयी हुने सम्भावना देखिन्छ । यद्यपि थारु समुदायको बलियो उपस्थिति रहेका कारण उनीहरुको मत जता केन्द्रीत हुन्छ जित उतै हुने सम्भावना पनि जीवितै छ ।

नेकपा माओवादी केन्द्रले युवा नेता इश्वरी आचार्यलाई अध्यक्ष पदको उम्मेदवार बनाएको छ । गठबन्धनबाट माधवकाजी घिमिरे उपाध्यक्ष पदका उम्मेदवार छन् । वाइसिएल नेपाल प्रदेश १ का सहअध्यक्ष ३९ वर्षे आचार्य युवाहरुमाझ परिचित व्यक्ति हुन् । विगत केही वर्षदेखि बुढीगंगाको विकास निर्माणका काममा निरन्तर जोडिएका उनको उम्मेदवारीबाट युवा पङ्ति उत्साहित छ भने विकासका लागि क्रियाशील जमात पनि आचार्यकै पक्षमा उभिएका छन् । परम्परागत मतदाताहरु जसलाई उम्मेदवारसँग कुनै सरोकार छैन उनीहरुबाहेक धेरै आचार्यलाई अध्यक्ष बनाउँदा विकासमा फाइदा पुग्ने विश्वासमा छन् । २०७४ सालको प्रदेशसभा निर्वाचनमा थोरै मतले पराजित भएका माओवादी नेता जीवन आचार्यको सहयोगमा त्यस क्षेत्रमा खानेपानी, बिजुली बत्ति लगायतका धेरै योजना केन्द्रबाट ल्याएका कारण पनि स्थानीयहरु इश्वरीप्रति सकारात्मक छन् । त्यस निर्वाचनमा उम्मेदवारसँग सबै क्षेत्र र व्यक्तिसँग जोडिन पुगेको लाभ पनि उनले यस पटक लिनसक्ने देखिएको छ । त्यस कारण माओवादी केन्द्रले प्रचार अभियानलाई आक्रमक बनाउँदै लगेको छ । बिहीबार विहान ७ बजेदेखि १० बजेसम्म वडा नम्बर १ मा सयौंको घरदैलो चलाएको माओवादीले १० बजेदेखि ३ बजेसम्म वडा नम्बर ५ मा पाँच घण्टा निरन्तर ५ सय जनाभन्दा धेरैले पैदल घरदैलो गरेका थिए ।

विद्यार्थी संगठन अखिलमा आवद्ध भएर २०५६ सालबाट राजनीति थालेका आचार्य २०५८ सालमा एसएलसी दिएपछि माओवादी विद्यार्थी संगठनमा आवद्ध भए । कलेजमा विद्यार्थी राजनीति गर्दागर्दै पार्टीमा जोडिएका उनी २०७० साल यता युवा संगठन वाइसिएल नेपालमा क्रियाशील छन् । वाइसिएल नेपालको मोरङ जिल्ला अध्यक्ष हुँदै उनी अहिले प्रदेश १ का सह–अध्यक्षको जिम्मेवारीमा छन् । गत पुसमा सम्पन्न नेकपा माओवादी केन्द्रको प्रदेश १ कमिटीको सदस्य निर्वाचित उनी बुढीगंगा गाउँपालिकाको इन्चार्ज पनि हुन् । बुढीगंगा ६ डंग्राहा स्थित तिलाठी साविक घर भएका उनी केही वर्षयता बाँसबारीमा बस्दै आएका छन् । निरन्तर सामाजिक राजनीतिक कार्यमा क्रियाशील उनको बुढीगंगाको उत्तरी र मध्य क्षेत्र दुबैतर्फ राम्रो प्रभाव रहेको छ ।

बुढीगंगामा नेपाली काँग्रेसले जितनारायण थापालाई अध्यक्ष पदको उम्मेदवार बनाएको छ भने उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष अमृता गच्छदार उम्मेदवार छन् । टंकिसिनुवारीका थापा पनि काँग्रेसमा परिचित र युवाबीच प्रभाव राख्ने व्यक्तिकै रुपमा चिनिन्छन् । डा. शेखर कोइरालाको विश्वास पत्रको रुपमा रहेका उनको उम्मेदवारीप्रति काँग्रेसमा एकताबद्ध भएको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पक्षधरहरुको तीब्र असन्तुष्टि छ । २०७४ सालको निर्वाचनमा एक्लाएक्लै चुनाव लड्दा काँग्रेसलाई फोरम लोकतान्त्रिकका उम्मेदवारले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पराजित गरेका थिए । यद्यपि काँग्रेसले गच्छदारलाई उपप्रमुखमा दोहो¥याएर सन्तुलन मिलाउने प्रयास भने गरेको छ ।

नेकपा एमालेले बलभद्र सरदारलाई अध्यक्ष पदको उम्मेदवार बनाएको छ । थारु समुदायका उम्मेदवार भएका कारण उनले जातीय सहानुभूतिको मत बढी तान्नसक्ने अनुमान गरिएको छ । त्यसो भएको खण्डमा बुढीगंगामा त्रिपक्षीय प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । एमालेले उपाध्यक्षमा तुलसा विष्टलाई उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धा गर्दैछ । तर, यसपटक एमालेको चुनावी तयारी त्यति मजबुद नभएको, पार्टी विभाजनको असर बुढीगंगामा परेका कारणले पनि एमाले रक्षात्मक अवस्थामा पुगेको विश्लेषण गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।