काँग्रेसका लागि चुनौती बन्दै जिसस न्यौपाने

काँग्रेसका लागि चुनौती बन्दै जिसस न्यौपाने

विराटनगर । विद्यार्थी नेता जिसस न्यौपानेको उम्मेदवारीले विराटनगर महानगरपालिका वडा नम्बर ४ का युवा पुस्तामा नयाँ रौनक थपेको छ । अखिल क्रान्तिकारी प्रदेश १ का महासचिव समेत रहेका ३१ वर्षे युवा नेता विद्यार्थीहरुमाझ लोकप्रिय छन् । भद्र, सालिन र वौद्धिक व्यक्तित्व भएका न्यौपानेलाई नेकपा माओवादी केन्द्रले विराटनगर ४ मा वडाध्यक्षको उम्मेदवार बनाएपछि युवाहरु उत्साहित बनेका छन् ।

स्थानीय सरकारमा जनतासँग प्रत्यक्ष जोडिने स्थान वडा भएकोले वडालाई जनमैत्री, प्रभावशाली र पारदर्शी ढंगले सञ्चालन गर्ने सोच उनको छ । जनप्रशासन विषयमा स्नातकोत्तर उतीर्ण गरेका उनी वडाबासीका माझमा पनि परिचित छन् । स्कुले जीवनदेखिनै अखिल क्रान्तिकारीमा संगठित भएर राजनीतिमा क्रियाशील उनको उम्मेदवारीले वडाका सबै विचारमा विश्वास गर्ने युवाहरु उत्साहित भएको विराटनगर ४ का अजय गडेरीले बताए । ‘हामीले जिसस जस्तो योग्यता र क्षमता भएको अनि नयाँ सोच भएको युवालाई उम्मेदवारको रुपमा पाउनु महत्वपूर्ण कुरा हो,’ गडेरीले भने ‘त्यसैले हामी युवाहरुले यस पटक न्यौपानेलाई जसरी पनि बिजयी बनाउनु पर्छ भनेर निर्णय गरेका छौं ।’

स्थानीय सरकारको काम राजनीतिसँग सम्बन्धित नभएर विकाससँग सम्बन्धित भएकोमा स्पष्ट रहेका उनी शिक्षा, चेतना र उत्पादनका माध्यमबाट विकासलाई अगाडि बढाउनु पर्ने विचार राख्दछन् । शिक्षा र चेतनाको विकास भए भौतिक पूर्वाधारको विकास र सुरक्षा सहज हुने भएकोले त्यसलाई प्राथमिकता दिने उनी बताउँछन् । स–सानो स्केलमा भएपनि सबैलाई उत्पादनमा जोड्ने र उत्पादित वस्तुको बजारीकरणमा सहयोग गरी उत्पादन बढाउनुको साथै रोजगारी सिर्जना गर्ने, उद्यमशीलताको विकासमा सहजीकरण र योगदान गरी स्वरोजगार अभिवृद्धि गर्ने उनको सोच रहेको छ ।

विद्यार्थीहरुलाई प्राविधिक शिक्षा दिएर देशमै रोजगार बनाउने तर्फ स्थानीय सरकारले काम गर्नुपर्ने भन्दै त्यसका लागि वडाले नै योजना बनाएर काम गर्नुपर्ने उनको भनाइ छ । विकासका लागि सफ्टवेयर र हार्डवेयर दुवैलाई सँगसँगै अघि बढाउनु पर्नेमा सचेत रहेका उनको सोच र योजनाबाट युवाहरु आकर्षित छन् ।

विराटनगर ४ मा चुनावी प्रतिस्पर्धा तीब्र भइरहँदा अधिकांश युवा पुस्ताका मतदाताहरु न्यौपानेको पक्षमा उभिएका छन् । नेपाली काँग्रेस, र नेकपा एमालेको विचारमा विश्वास राख्ने युवाहरु पछिल्लो समय खुलेआम न्यौपानेको पक्षमा उभिन थालेका छन् । ‘विराटनगर ४ जामुनगाछीका एक युवाले भने ‘हामी जिससको भन्दा फरक राजनीतिक विचारमा विश्वास राख्छौं तर, विकासको मुद्दामा जिसससँग सहमत छौं, उनको सक्रियता, स्पष्टता र विकासका योजना हाम्रा पनि हुन् त्यसैले यस पटक सबैले सहयोग गर्ने निर्णय गरेर काममा जुटिसकेका छौं ।’

नेपाली काँग्रेस र नेकपा एमालेले उम्मेदवारीमा भौगोलिक सन्तुलन नमिलाएका कारण पनि यस पटक विराटनगर ४ मा माओवादी केन्द्रले फाइदा लिने सम्भावना प्रवल भएको छ । नेपाली काँग्रेसले टिकट वितरणमा अग्रज र प्रभावशाली व्यक्तिहरुलाई वाइपास गरेका कारण ठूलो पङ्ति असन्तुष्ट बनेको छ । असन्तुष्ट मतदाताहरु गठबन्धन भित्रकै उम्मेदवारलाई जिताउने गरी आन्तरिक छलफलमा जुटेको सूचना आफूले पाएको माओवादी केन्द्रका पूर्व वडा इन्चार्ज विनोद घिमिरेले बताए ।

अर्कोतर्फ विराटनगर ४ मा थारु समुदायको निर्णायक मत रहेको छ । मुख्य तीन राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रबाट यस पटक एक जनामात्र थारु उम्मेदवार छन् । नेकपा माओवादी केन्द्रले जोलाटोलका युवा सन्तोष माझीलाई वडा सदस्यको उम्मेदवार बनाएको छ । त्यसकारणले गर्दा पनि थारु समुदाय माओवादीप्रति बढी सकारात्मक बनेको छ । जसले गर्दा न्यौपानेसहितको माओवादी टिमले नेपाली काँग्रेंससँग प्रतिस्पर्धा गरिरहेको छ । ‘केही दिनभित्रै हामी काँग्रेसलाई पछि पारेर १ नम्बर हुँदैछौं,’ न्यौपानेले भने ‘अहिले बाहिर जे देखिएको छ भित्री अवस्था त्यस्तो छैन, अब विराटनगर ४ मा माओवादीको बिजयलाई कसैले रोक्न सक्दैन ।’

विराटनगर ४ मा नेपाली काँग्रेसले सन्जय मण्डललाई अध्यक्षको उम्मेदवार बनाएको छ । भौगोलिक सन्तुलन र वडाको जातीय सन्तुलन सम्बोधन नगरी वडाका दुई तिहाई बढी क्रियाशील सदस्यहरुको सहमति नहुँदानहुँदै अध्यक्षको उम्मेदवार बनेका कारण उनी आन्तरिक विवाद र असन्तुष्टिको सिकार भएको एक काँग्रेस नेताले बताए ।

नेकपा एमालेले जितन थापालाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । जग्गा कारोबारमा आवद्ध उनको उम्मेदवारी सुरुका दिनदेखिनै विवादमा छ । त्यसमा पनि हरेक निर्वाचनमा एउटै परिवारबाट वडाध्यक्षको उम्मेदवार बनाएको भन्दै एमालेभित्र पनि चरम असन्तुष्टि छ । एमालेले २०७४ को निर्वाचनमा थापाको दिदीलाई वडाध्यक्षको उम्मेदवार बनाएको थियो ।
त्यस बाहेक जनता समाजवादी पार्टीले उपेन्द्र यादवलाई उम्मेदवार बनाएको छ । जसले मधेशी समुदायको केही मत होल्ड गर्ने र नेपाली काँग्रेसका क्रियाशील सदस्य रहेका मोहन दाहाल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेपछि बरगाछी क्षेत्रबाट काँग्रेस र एमालेको उल्लेख्य मत तान्ने अवस्था छ । त्यसको फाइदा पनि न्यौपानेलाई हुने देखिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्