गठबन्धनलाई धोका दिनुहुँदैनः देउवा

विराटनगर । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकता अनुसार गठबन्धन कायम भएकोले गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आह्वान गरेका छन् ।

नेपाली काँग्रेस मोरङले विराटनगरमा बुधबार आयोजना गरेको चुनावी सभामा देउवाले गठबन्धनमा आवद्ध दलहरूका कारणले आफू प्रधानमन्त्री भएको र राष्ट्रिय आवश्यकता गठबन्धन भएकाले यसप्रति काँग्रेस प्रतिबद्ध रहेको बताए ।

‘गठबन्धनमा कुनै प्रकारको शंका उपशंका हुनुहुदैन । बरू काँग्रेस पार्टीले धोका खान्छ । तर, गठबन्धनलाई धोका दिनु हुदैन’ उनले भने, ‘यहाँ धोका दिने कुराहरू आएका छन् । काँग्रेसले कुनै हालतमा धोका दिनुहुदैन, गठबन्धनका उम्मेदवारलाई बिजयी गराउँ ।’ उनले कांग्रेसले कसैलाई धोका नदिने जिकिर गरे । ‘कांग्रेसको टाउकोमा धोकेबाज भन्ने ‘ब्लेम’ नलागोस्’ उनको भनाइ थियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पत्रकारहरु पनि डराउने गरेको टिप्पणी गर्दै देउवाले आफ्नो सरकार आएपछि नागरिक डरमुक्त भएको दावी गरे । ‘अहिले सरकारले डर–त्रास दिएको छैन । निर्धक्क भएर बोलिराखेका छन्,’ उनले भने, ‘उसबेला ओलीको खिलापमा बोल्न डराउँथे मान्छेहरु । पत्रकारहरु लेख्न डराउँथे ।’

विराटनगर महानगर पालिकाको निर्वाचनमा नागेश र अमरेन्द्रलाई जिताउन आग्रह गर्दै देउवाले गठबन्धन आम निर्वाचनसम्म जाने भएकाले विराटनगरको विकासको जिम्मा आफूलाई दिन आग्रह गरे । विराट राजाको दरबार संरक्षण र विराटनगर विमानस्थल अन्तराष्ट्रिय स्तरको बनाउन बजेटको ब्यवस्था गर्ने उनको प्रतिबद्धता थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राजनैतिक स्थिरता र परिवतनको रक्षाको लागि गठबन्धन भएकोले निर्वाचनमा गठबन्धनलाई बिजय गराउनुपर्ने बताए । ‘केपी ओलीको अस्थिरतालाई रोक्न र संविधानको रक्षाको लागि गठबन्धन बनेको हो,’ उनले भने, ‘गठबन्धनबाट उठेका उम्मेदवारलाई निर्वाचनमा भोट हालेर बिजयी गराउनुपर्दछ ।’

काँग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनले संघ र प्रदेशको निर्वाचनलाई इंगित गर्ने बताए । गठबन्धनका उम्मेदवारलाई विजयी बनाएर लोकतन्त्रको संरक्षण गर्न उनले आग्रह गरे ।

कार्यक्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले स्थानीय तह निर्वाचनमा तालमेल गर्नुपर्ने बाध्यता भएको बताए । संविधानलाई ठीक ठाउँमा ल्याउन गठबन्धन बाध्यतात्मक भएको उनको भनाइ थियो ।

तालमेलबाट कांग्रेस स्थानीय तह निर्वाचनमा मात्र होइन प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि ठूलो दल बन्ने शर्माले बताए । कार्यक्रममा नेपाली काँग्रेसका नेता महेश आचार्य, केन्द्रीय सदस्यहरू अमृत अर्याल, डिला संग्रौला, भिम पराजुली, प्रदेश १ का अध्यक्ष उद्धव थापा, काँग्रेसबाट मेयरका उम्मेदवार नागेश कोइरला जसपबाट उपमेयरका उम्मेदवार अरमेन्द्र यादवलगायतले बोलेका थिए ।

बुधबार, २१ बैशाख, २०७९, साँझको ०५:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर