गठबन्धनको गाँठो खुकुलिँदा बागीहरु मोर्चाबन्दीमा

विराटनगर । आफूलाई सबै दलले मत हाल्नुपर्ने तर अन्य दलको चुनाव चिन्हमा मतदान गर्ने बाध्यता आफूलाई नहुने काँग्रेसको दम्भले विराटनगर महानगरमा पाँच दलीय गठबन्धनको गाँठो क्रमशः फुस्कँदै गएको छ ।

पाँच दलीय सत्ता गठबन्धनको गाँठो क्रमशः खुकुलो हुँदै गएको बेला गठबन्धनबाटै विद्रोह गरेर बाहिरिएकाहरु भने मोर्चाबन्दीमा जुटेका छन् ।
आ–आफ्नो दल त्यागेर स्वतन्त्र रुपमा चुनावी मैदानमा होमिएका मेयर, उपमेयर, वडाध्यक्ष लगायतका उम्मेद्वारहरु एउटै चुनाव चिन्ह रोज्नेदेखि एकअर्कालाई सघाउने तहसम्म सहकार्य गरिरहेका छन् । पाँच दलीय सत्ता गठबन्धनका दलहरु त्यागेको घोषणा गरेर स्वतन्त्र उम्मेद्वारी दिएका उनीहरुलाई महानगरमा भने गठबन्धनकै बागी उम्मेद्वार भन्ने गरिएको छ ।

उनीहरुको बागी उम्मेद्वारी गठबन्धनका लागि टाउको दुखाई बनेको छ । महानगरमा सत्तारुढ गठबन्धनबाट मेयरमा काँग्रेसका नागेश कोइराला र उपमेयरमा जसपाका अमरेन्द्र यादव उम्मेदवार छन् । प्रमुख र उप्रमुखमा गठबन्धन भएपनि महानगरको वडामा सबैको छुट्टाछुट्टै उम्मेदवारी छ । वडाहरुमा भागबण्डा गर्न काँग्रेस तयार नभएको भन्दै माओवादी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी लगायतका दलहरुले आ–आफ्नो उम्मेद्वार खडा गरेका छन् ।

हरेक दल अलग्गै चुनावी अभियानमा छन् । यसले गठबन्धनको गाँठो क्रमशः कमजोर बनेको गठबन्धनकै नेताहरुको भनाइ छ ।केही दिनअघि मात्रै काँग्रेस विराटनगर सभापति दिपक चापागाइँले महानगरका वडामा काँग्रेसले कसैसँग तालमेल नगर्ने प्रष्ट पारेका थिए । उनको सोही अडान अनुसार काँग्रेसले महानगरका कुनै पनि वडामा गठबन्धन दलहरुसँग भागबण्डा गर्न चाहेन । यसले गठबन्धनका मुख्य दुई घटक माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई बिच्क्याएको छ । महानगरमा संयुक्त चुनावी अभियान हुन सकेकोसमेत छैन ।‘हामी सैद्धान्तिक रुपमा गठबन्धनमै छौं । तर, काँग्रेसले सँगै चुनावी अभियानमा बोलाएको छैन,’ माओवादी केन्द्रका एक नेताले भने ‘काँग्रेस र जसपाले नखोजे पछि हामी आफै गएर खोज्ने कुरा पनि भएन ।’ एकीकृत समाजवादीका एक नेता पनि काँग्रेसको दम्भले समस्या आएको बताउँछन् । ‘हामीले काँग्रेस र जसपाको चिन्हमा भोट हालिदिनुपर्ने, काँग्रेसले कतैपनि हामीलाई हाल्न नपर्ने भएपछि गठबन्धनको मर्म कसरी स्थापित हुन्छ ?’ ती नेताले भने ‘महानगरमा गठबन्धनको मर्म अनुसार काँग्रेस र जसपा अघि बढेनन् ।’

माओवादी र समाजवादीका नेताले भनेजस्तै अवस्था विराटनगरमा छ । गठबन्धनबाट मेयरको उम्मेद्वार बनेका काँग्रेसका नागेश कोइराला चुनावी अभियानमा काँग्रेस कार्यकर्ता मात्रै लिएर हिँडिरहेका छन् । प्रतिबद्धतापत्र पनि एक्लै बनाएर सार्वजनिक गरेका छन् । उपमेयर उम्मेद्वार रहेका उपेन्द्र यादवपुत्र अमरेन्द्र पनि जसपाको मात्रै सहयोग लिएर घरदैलो अभियानमा छन् ।

सहकार्य नगरी अघि बढेका मेयर, उपमेयर र गठबन्धन दलहरुबीच आपसी कुराकानी नभएको नेताहरु बताउँछन् । सत्ता गठबन्धनका दलहरुबीच यसरी सहकार्य अभाव रहेका बेला तिनै दलबाट बागी बनेकाहरु सहकार्यमा जुटेका छन् ।

जनता समाजवादी पार्टी त्यागेको घोषणा गरेर मेयरका उम्मेद्वार बनेका उमेश यादव र माओवादी केन्द्रमा राजीनामा बुझाएर उपमेयरको उम्मेद्वार बनेकी नमिता न्यौपानेसहितका स्वतन्त्रहरु एउटै चुनाव चिन्हसहित चुनावी मैदानमा होमिएका छन् । सार्वजनिक रुपमा उनीहरुले मोर्चाबन्दी गरेको घोषणा गरेका त छैनन् । तर, चुनावी अभियान अघि बढ्दै जाँदा उनीहरु सहकार्य गर्ने तहमा पुगेका हुन् ।

‘स्वतन्त्र उम्मेद्वारले कसको सहयोग लिने, कसको नलिने भन्ने हुँदैन,’, मेयरका उम्मेद्वार रहेका उमेश यादव भन्छन् ‘त्यसैले सबैको सहयोग लिने हो ।’ स्वतन्त्रहरुबीच आपसमा सघाउने सहमति भइनसकेको बताउने यादवले त्यो सम्भावना जिवितै रहेको बताए ।

महानगरमा अब त्रिपक्षीय प्रतिष्पर्धाको अवस्था आएको छ । गठबन्धनबाट नागेश–अमरेन्द्रको जोडी, नेकपा एमालेबाट मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्की अनि स्वतन्त्रबाट उमेश र नमिता न्यौपानेको टिमले महानगरमा प्रतिष्पर्धा गर्नेछन् ।

सोमबार, १९ बैशाख, २०७९, बिहानको ०८:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर