धनकुटामा घट्यो महिला उम्मेद्वार संख्या

विराटनगर ।गठबन्धन दल र नेकपा एमालेले यसपटकको स्थानीय निर्वाचनमा प्रमुख पदमा महिला उम्मेदवार उठाएनन् । जिल्लाका सात स्थानीय तहमा गठबन्धन र नेकपा एमालेबाट कुनै महिलाको पनि प्रमुख पदमा मनोनयन दर्ता भएन ।
गठबन्धन दलले छथर जोरपाटी गाउँपालिकामा उपप्रमुख बाहेक कतै पनि महिला उम्मेदवार उठाएनन् । एमालेले भने सबै स्थानीय तहमा महिला उपप्रमुख तथा उपाध्यक्ष उठाएको छ । सम्भावना भएर पनि महिलालाई प्रमुखमा नदिएको सरोकारवालाको गुनासो छ । यसअघि जित हासिल गरेका पार्टीहरूबाट कम मात्र महिलाले प्राथमिकता पाएको अवस्थामा अन्य दलबाट भने महिलालाई उम्मेदवार बनाउने क्रम धेरै देखिएको छ ।
चौबिसे गाउँपालिकामा मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट दिलमाया लिम्बू र धनकुटा नगरपालिका सुमिना तामाङले प्रमुखमा मनोनयन दर्ता गराएका छन् ।
धनकुटा जिल्लामा १४३ जना महिला सदस्यमा उम्मेदवारी परेकोमा २ जनाले र दलित महिला सदस्यमा १२७ जनाको उम्मेदवारी परेकोमा १ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यीमध्ये जिल्लाभर ३ दलित महिला सदस्य निर्विरोध भएका छन् । पाख्रीबास नगरपालिका–९, चौबिसे गाउँपालिका–८ र साँगुरीगढी गाउँपालिका–७ मा एक–एक जना मात्र दलित वडा सदस्यको मनोनयन दर्ता भएर निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए ।
दलले महिलालाई उम्मेदवार नबनाउने समस्याकै कारणले उम्मेदवारीमा आरक्षणको व्यवस्था गरिएको भएको अधिवक्ता हिमा भट्टराईले बताइन् । ‘वडामा दुई महिला अनिवार्य चुनिने व्यवस्था गरिए झैँ प्रमुख र उपप्रमुखमा गठबन्धन नै भए पनि निर्वाचित नै हुने व्यवस्था गर्नुपर्ने भट्टराईको भनाइ छ ।
अघिल्लो निर्वाचनमा सात स्थानीय तहमध्ये सबैमा नै महिला उपप्रमुख निर्वाचित भएका थिए । कांग्रेसले महालक्ष्मी नगरपालिकामा राप्रपा र साँगुरीगढी गाउँपालिकामा तत्कालीन संघीय समाजवादी पार्टीसँग गठबन्धन गरेर उपप्रमुखमा पुरुष उम्मेदवारलाई सघाएको थियो ।
२०७४ को स्थानीय तह निर्वाचनमा धनकुटाका सात वटै स्थानीय तहमा एमालेले प्रमुख र उपप्रमुख जितेको थियो । जिल्लामा ३ सय १४ जना निर्वाचित हुने स्थानीय तहको निर्वाचनमा ८२१ जनाको उम्मेदवारी दिएकोमा ३६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जिल्लामा हाल ७८५ जना उम्मेदवार रहेका छन् ।

 

सोमबार, १९ बैशाख, २०७९, बिहानको ०८:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर