गठबन्धन भएपनि विराटनगरमा काँग्रेसको एकल चुनाबी अभियान

विराटनगर । सत्तारुढ गठबन्धनबाट विराटनगर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले एकल रुपमा मतदातासँग भेटघाट गर्ने घरदैलो थालेका छन् ।

मेयर पदका उम्मेदवार कोइरालाले गठबन्धनका सहयात्री तथा उपमेयर पदका उम्मेदवार अमरेन्द्र यादवलाई पनि नलिई घरदैलो अभियान थालेका हुन् ।

बिहीबार नेपाली काँग्रेसका नेताहरु डा.शेखर कोइराला र महेश आचार्यसहितको सहभागितामा मेयरका उम्मेदवार कोइराला वडा नं. १ का विभिन्न स्थानका मतदाताबीच पुगेका थिए । विराटनगरमा मेयरको टिकट पाएका कोइराला स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नुहुँदैन भन्ने मत राख्दै आएका नेता डा.शेखर कोइराला निकट हुन् ।

महानगरमा केन्द्रबाट मेयर र उपमेयरको गठबन्धन भएपनि वडामा गठबन्धन गर्न काँग्रेसले चासो दिएको छैन । काँग्रेसले वडामा गठबन्धन गर्न चासो नदिएको बेला चुनाबी अभियानमा पनि कोइराला एक्लै हिँड्नुले गठबन्धन अझै बलियो हुन नसकेको आँकलन गरिएको छ ।

वडा तहसम्म गठबन्धन नभएको कारण महानगरको मेयरसहित उपमेयरमा पनि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुले बागी उम्मेदवारी दिएका छन् । वडामा गठबन्धन नभए मेयर र उपमेयरलाई मत मात्र हाल्नेगरि काँधमा बोक्न नसक्ने चेतावनी गठबन्धनमा आबद्ध अन्य दलका स्थानीय नेताहरुले दिइरहेका छन् ।

त्यसो त डा.शेखर कोइरालाको जोडबलमा महानगरको मेयरको उम्मेदवार बनेका नागेशको चुनाबी अभियानमा काँग्रेसको संस्थापन पक्षका नेताहरु पनि जोडिइसकेका छैनन् । विहीबारको घरदैलो अभियानमा संस्थापन पक्षनिकट रहेका केन्द्रीय सदस्य अमृत अर्याल, काँग्रेस जिताउन चुनाबी अभियानमा लाग्ने भन्दै बुधबार मात्र महानगरको मेयरबाट राजीनमा दिएका भीम पराजुली पनि सहभागी थिएनन् । उनीहरु दुबै जना मेयरको आकांक्षी थिए ।

बिहीबारको घरदैलो कार्यक्रमका क्रममा मेयर पदका प्रत्यासी कोइरालाले अब कांग्रेसको नेतृत्वमा बन्ने स्थानीय सरकारले जनचाहना अनुरुप विकास निर्माणलाई अघि बढाउने बताए । नयाँ परिस्थिति र समय सुहाउँदो महानगरको निर्माणको अभियानमा लाग्ने उनको भनाइ थियो ।

कांग्रेस नेता महेश आचार्यले विराटनगरले युवा उमेदवारलाई अघि सारेको बताउँदै अब देश र स्थानीय तहको विकास कांग्रेस नेतृत्वको सरकारबाट मात्र संभव हुने बताए ।

बिहिबार, १५ बैशाख, २०७९, साँझको ०५:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर