मोरङमा एमालेका ६ उम्मेदवार विरुद्ध उजुरी,काठ चोरीमा संलग्नदेखि चोरी सिकारीसम्म भएको आरोप

विराटनगर  । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका मोरङका ९ जना उम्मेदवार विरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ ।
एमालेबाट उठेका ६, काँग्रेसबाट उठेका २ र जनमत पार्टीबाट उठेका एका जना उम्मेदवार विरुद्ध निर्वाचन कार्यालय उजुरी परेको हो । उजुरी केराबारीमामा ४, रंगेलीमा १ र विराटनगर महानगरपालिकामा चार उम्मेदवार विरुद्ध उजुरी परेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका निर्वाचन अधिकारी लेवन काश्यप अधिकारीले जानकारी दिए ।
एमालेबाट केराबारी गाउँपालिका ८ न.वडामा वडा अध्यक्षको उम्मेदवार दिएका  ५७ वर्षीय टिकाराम चापागाईँ विरुद्ध उजुरी परेको छ । वडा अध्यक्षमा उम्मेदवार दिएको चापागाईँ काठ चोरीमा संलग्न भएको भन्दै उजुरी परेको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै सोही ठाउँमा वडा सदस्यमा एमालेबाट उम्मेदवार दिएका २७ वर्षीय दिल बहादुर राईको विरुद्ध पनि निर्वाचन कार्यालयमा उजुरी परेको छ । राई वन्यजन्तु चोरी सिकारी गर्न हातहतियार समेत लिई वन क्षेत्रमा प्रवेश गरेको मुद्दा रहेको  छ ।
केराबारी ८ न. वडामा एमालेबाट  महिला सदस्यमा उम्मेदवार दिएकी ३७ वर्षीय सन्तोषी सार्की विरुद्ध पनि उजुरी परेको छ । उनले आमजुङगी सामुदायिक वन उपभोक्ता समितिको कोषाध्यक्ष रहेको हाल सम्म राजीनामा नदिएको भन्दै उजुरी परेको हो । केराबारी गाउँपालिका १ न. वडामा महिला सदस्यमा एमालेबाट महिला सदस्यमा उम्मेदवार दिएकी ४७ वर्षीय पवित्रा लिम्बुले केराबारी गाउँपालिकाको महिला स्वंयम सेविकाको जिम्मेवारीमा बहाल रहेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको हो ।
 यस्तै विराटनगर १३ न. वडामा महिला सदस्यमा एमालेबाट उम्मेदवार दिएकी ५० वर्षीय गौरी कुमारी वैश्य अदालतले तोकेको दण्ड जरिवाना नबुझाएको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ ।
रंगेली नगरपालिका ८ न. वडाको वडा सदस्यमा काँग्रेसबाट उम्मेदवार दिएका  ४९ वर्षीय भीम किशोर मल्ल ठकुरी विरुद्ध पनि उजुरी परेको छ । ठकुरीको नाममा रंगेली नगरपालिकामा बेरुजु रकम देखिएको भन्दै उजुरी परेको निर्वाचन कार्यालयले जनाएको छ ।
विराटनगर महानगरपालिका ८ न. वडाको महिला दलित सदस्यमा जनमत पार्टीबाट उम्मेदवार दिएका गीता मुखियता र काँग्रेसबाट उम्मेदवारी दिएकी  ससीता सहनी दलित जाती भित्र नपर्ने भन्दै  उजुरी परेको छ ।
प्रदेश निर्वाचन अधिकारीले उजुरी सम्बन्धमा थप अनुसन्धान भइरहेको र मङ्गलवारसम्म उजुरी लिने म्याद रहेकोले यसको निर्णय सम्बन्धित निर्वाचन अधिकृतले गर्ने बताए ।
बिहिबार, १५ बैशाख, २०७९, बिहानको ०८:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर