श्रीमान्-श्रीमती नै मेयर र उपमेयरका उम्मेदवार

संखुवासभा । संखुवासभाको खाँदवारि नगरपालिका मेयरमा श्रीमान् र उप मेयरमा श्रीमतीको उम्मेदवारी परेको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरू देखि आम मतदातासम्मलाई चुनावले छोइसकेको छ । राजनीतिक दलहरू आफ्ना उम्मेदवारलाई भोट माग्नमा व्यस्त छन्, भने आम मतदाताहरू कस्तो व्यक्ति छान्ने भन्ने विषयमा छलफल गरिरहेका छन् ।

खाँदवारि नगरपालिकामा स्थानीय चुनावको लागि रोचक पक्ष देखिएको छ । स्थानीय तह निर्वाचनको लागि खाँदवारि नगरपालिकाको मेयर उपमेयर बन्न श्रीमान् श्रीमती कै उम्मेदवारी परेको हो ।

राजनीतिमा लागेपछि पनि निर्वाचनमा टिकट नपाएपछि कसैले बागीको बाटो समेत रोजेका छन् । तर, केही भाग्यमानी दम्पतीले यस्ता छन्, जसका श्रीमान्–श्रीमती दुवैले टिकट पाएका छन् ।

जनता समाजवादी पार्टीले खाँदवारि नगरपालिकाको मेयरमा सिताराम तिम्सिना र उपमेयरमा मैयाँ देवी चिमरियालाई टिकट दिएको छ । उनीहरू मनोनयन दर्ता पछि घरदैलोमा ब्यबस्त रहेका छन् । मेयर पदका उम्मेदवार बनेका  तिम्सिना जनता समाजवादी पार्टीको संघीय परिषद्को केन्द्रीय सदस्य हुन् ।

पार्टीले जिम्मा दिएपछि श्रीमान्–श्रीमतीले नै एउटै पार्टीबाट एउटै पालिकामा उम्मेदवारी दिएको तिम्सिनाले बताए । खाँदवारि नगरपालिका मेयरकामा ३ स्वतन्त्र सहित ९ जनाले मनोनयन दर्ता गराएका छन् ।

खाँदवारि नगरपालिका नगर प्रमुखमा पाँच दलिय गठबन्धन बाट मेयर पदका नेपाली काँग्रेसका महेश थपलिया,उपमेयरमा नेकपा माओवादी केन्द्रका दिब्यराज बरालको उम्मेदवारी परेको छ । मेयर पदका लागि नेकपा एमाले बाट जीतबहादुर घिमिरेको उम्मेदवारी परेको छ ।

त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका भरत राई, राष्ट्रिय जनमोर्चाका हेमकुमार गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोमनाथ खनाल र स्वतन्त्रबाट प्रविन कार्की, सुदिप गुरुङ र खड्गबहादुर दमाईले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै गरी उपमेयरमा एमालेबाट महेश्वरा बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हिरादेवी श्रेष्ठको उम्मेदवारी परेको छ ।

११ वडा रहेको खाँदवारिमा ५७ पदका लागि १ सय ४१ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बुधबार, १४ बैशाख, २०७९, रातीको ०८:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर