विप्लव समूहका जिल्ला सेक्रेटरी खतिवडा रिहा

विराटनगर । नेकपा विप्लव समूहका तत्कालिन मोरङ जिल्ला सेक्रेटरी कुमार खतिवडा रिहा भएका छन् । उनलाई जिल्ला अदालत मोरङले सोमबार धरौटीमा छोड्न आदेश दिएको थियो । २०७६ साल असोज १६ गते पक्राउ परेका खतिवडालाई संगठित अपराध विष्फोटक पदार्थ सम्बन्धी मुद्दा चलाइएको थियो ।

अढाई वर्षपछि सो मुद्दाको विषयमा फैसला गर्दै जिल्ला अदालत मोरङका न्यायाधीश किशोर घिमिरेको इजलाशले धरौटीमा छोड्न आदेश दिएको खतिवडाले बताए । खतिवडासहित सोही मुद्दामा पक्राउ परेका अर्का नेकपाका नेता बालकुमार डाँगीसमेत रिहा भएका छन् ।

डाँगी मोरङ बुढीगंगाका ७ निवासी हुन् भने खतिवडा बुढीगंगा ४ का स्थायी बासिन्दा हुन् । उनीहरुलाई प्रहरीले मोरङको इक्राहीबाट पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई डंग्राहाको बालकुमार डाँगीको घर छेउको खोलाबाट फेला परेको विष्फोटक पदार्थ ओसार पसारमा संलग्न भएको अभियोग लागेको थियो ।

अदालतले धरौटीमा छोड्न आदेश दिएसँगै उनीहरुले आफ्नो राजनीतिक यात्रा नेकपा विप्लव समूहमै रहेर निरन्तर गर्ने बताएका छन् । ‘हामी राजनीतिक प्राणी हौं, त्यही पार्टीको नामबाट हामीलाई पक्राउ गरी अढाई वर्ष जेलमा राखियो, अहिले त्यो पार्टी छोडिँदैन, राजनीतिक काममा लाग्छौं,’ खतिवडाले भने । खतिवडा बुढीगंगा ४ का लोकप्रिय र बौद्धिक युवा नेता मानिन्छन् ।

बुधबार, १४ बैशाख, २०७९, दिउँसोको १२:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर