विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकामा गठबन्धन गरेर मनोनयन दर्ता गराएका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच वडासम्मै तालमेल गर्ने विषयमा गृहकार्य सुरु भएको छ । तालमेलमा सहमति बनेको ठाउँमा उम्मेदवारी फिर्ता गर्ने समयभित्र उम्मेदवारी फिर्ता लिएर गठबन्धन दलहरुबीच सहमति कायम गराउन दुवै पार्टीले आन्तरिक तयारी थालेको बताइएको छ ।
सुन्दरहरैंचा नगरपालिकामा सोमबार अन्तिम समयमा दुई दलबीच गठबन्धन गर्ने सहमति बनेको थियो । नेपाली काँग्रेसले मेयर र नेकपा माओवादी केन्द्रले उपमेयर लिएर गठबन्धन बनाउने सहमति अनुसार मनोनयन दर्ता भएको छ । नेपाली काँग्रेसले निवर्तमान मेयर शिवप्रसाद ढकाललाई नै मेयरको उम्मेदवार बनाएको छ भने नेकपा माओवादी केन्द्रले नवराज चापागाईंलाई उपमेयरको उम्मेदवार बनाएको छ ।
चापागाईं यसअघि २०७४ सालमा पनि उपमेयर पदमा उम्मेदवार बनेका थिए । सुन्दरहरैंचा उद्योग वाणिज्य संघको अध्यक्षको जिम्मेवारी पूरा गरिसकेका चापागाईं त्यस क्षेत्रका परिचित व्यक्ति हुन् ।
अहिले गठबन्धन बनाएर चुनावमा उम्मेदवार बनेका ढकाल र चापागाईं दुवैले २०७४ सालमा पनि गठबन्धन बनाउन चाहेका थिए । समाजमा राम्रो छवी बनाएका दुवै मिलेर उठ्न सक्दा निर्वाचन परिणाम आउने विश्वाससहित उनीहरुले तत्कालीन समयमा प्रयत्न गरेपनि गठबन्धन बन्न सकेको थिएन । गठबन्धन बनाउने विषयमा त्यतिबेला दुई दलबीच छलफल भएपनि सहमित हुन नसक्दा नेपाली काँग्रेसले सुन्दरहरैंचामा उपमेयरमा चुनाव हारेको थियो । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका चापागाईंले त्यस निर्वाचनमा पार्टीको औषत मत भन्दा धेरै भोट प्राप्त गरेका थिए ।
अहिलेसम्म मेयर र उपमेयर पदमा मात्र गठबन्धन सम्भव भएको र त्यसलाई वडातहसम्म मिलाउने प्रयास भइरहेको चापागाईंले जानकारी दिए । उनले भने ‘हामी वडासम्मै मिलाएर जाने पक्षमा छौं र दुई दिनभित्रमा तालमेल मिलाउँछौं ।’ मेयर ढकाल पनि चुनावी परिणाम आफ्नो पक्षमा पार्न वडासम्म मिलाउन सकारात्मक रहेको उनले बताए ।
सुन्दरहरैंचामा यस अघि नेपाली काँग्रेसले चुनाव जित्दा नेकपा एमालेले हाराहारी मत प्राप्त गरेको थियो भने नेकपा माओवादी तेस्रो स्थानमा थियो । अहिले नेकपा एमाले विभाजन भएको र विभाजन भएको नेकपा एकीकृत समाजवादी पार्टीको पनि प्रभावकारी उपस्थिति रहेकोले गठबन्धन चुनाव जित्नेमा आशावादी देखिएको छ । त्यहाँ नेकपा एमालेले केदार गुराागाईलाई मेयरको उम्मेदवार बनाएको छ ।