उमेश यादव
आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको चहलपहल बढेको छ । देशका ६ वटा महानगरपालिकामध्ये विराटनगर महानगरपालिका पनि एउटा महत्वपूर्ण महानगर हो । यसको मत परिणाम र चुनावी दाउपेचले केन्द्रीय राजनीतिलाई पनि आकर्षित गरिरहेको छ । विराटनगरमा २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले मेयर, उपमेयरसहित बहुमत वडा जितेको थियो । तर, वडाध्यक्षहरुको मतको आधारमा नेपाली कांग्रेस र अन्य दलको अन्तर धेरै थिएन । काँग्रेसका वडाध्यक्षहरुले १६ हजार ७६६ मत प्राप्त गर्दा एमालेको १६ हजार २१८, संघीय समाजवादी फोरमको ११ हजार र माओवादी केन्द्रको करिब ९ हजार थियो । तर, मेयर पदमा कांग्रेसका भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी बन्द एमालेका विनोद ढकालले १७ हजार ३२१ र संघीय समाजवादी फोरमका उमेशकुमार यादवले १४ हजार ९५८ मत प्राप्त गरेका थिए । एमाले र लोकतान्त्रिक फोरमको तथा संघीय समाजवादी फोरम र माओवादीको महानगरमा मेयर र उपमेयर पदमा गठबन्धन थियो । संघीय र प्रदेश सरकारमा गठबन्धन कायम गरेका दलहरुले स्थानीय चुनाबमा पनि गठबन्धन गरेर जाने निर्णय गरेका छन् । तर, त्यसको मोडल कस्तो हुन्छ भन्ने एकिन छैन । गठबन्धन भएमा विराटनगरको नेतृत्व कसको हुन्छ भन्ने यकिन छैन । यद्यपी जनता समाजवादी पार्टीका नेता उमेश यादव भने गठबन्धन भए पनि आफ्नो पार्टीले नेतृत्व पाउनुपर्ने दावी गर्दै नत्र एक्लै पनि चुनाब जित्ने पोजिसनमा रहेको दावी गर्छन् । प्रस्तुत छ यादवसँग गरिएको कुराकानी :
तपाईको पार्टीले चुनावको तयारी कसरी गरिरहेको छ ?
देशै चुनावमा गइसकेपछि हामीले पनि चुनावी गतिविधिहरु गरिरहेका छौं । हामी घरदैलोसम्म पनि अगाडि बढिसकेका छौं । स्थानीय तहबाट चैत २० गतेभित्र माथिल्लो निकायमा उम्मेद्वारको नामावली सिफारिस गर्ने गरी तयारी भइरहेको छ । सँगसँगै पार्टीको संगठन सुदृढीकरण गर्ने, जनताकाबीच तथा कार्यकर्ताको बीचमा हामी गइरहेका छौं ।
तपाईहरुको पार्टीको अवस्था विराटनगरमा कस्तो छ ? विपक्षीको अवस्थालाई कसरी हेर्नुहुन्छ ?
विराटनगरमा सबैभन्दा मजबुद अवस्था हाम्रो पार्टीको हो । किनभने विगतको चुनावले नै देखाइसकेको छ । २०७४ साल नोमिनेसनको २ दिन अगाडि पार्टीले चुनावमा भाग लिने अवस्था बन्दा हामीले चुनावको तयारी गर्ने समय नै पाएका थिएनौं । तर, हामीलाई जनताको बहुमत समर्थन आयो । हामीले जनतालाई शिक्षित पार्न सकिएन, प्रशिक्षित पार्न सकिएन, मतदाता शिक्षा दिन सकिएन जसको कारण हामीले हार व्यहोर्न पर्यो । हामीले बदर मतका कारण हारेको हो । तर, जनताको मतले त जितेकै हो नि ।
बदर मत तपाईकै थियो भन्ने आधार के छ र ?
हाम्रो त्यसबेला माओवादीसँग अन्तिम समयमा गठबन्धन भयो । तर, निर्वाचन आयोगले छापेको मतपत्रमा हाम्रो गठबन्धन देखिएन । जनतालाई हामीले त्यसरी सिकाउन पनि सकेनौं । मेयर हामीले लियौं । उपमेयर माओवादीलाई दियौं । फेरि वडामा सबै आ–आफ्नो हिसावले गयौं । अब मेयरमा मसाललाई छाप, उपमेयरमा हँसियाहथौडामा दिनु भन्दा मतदाता शिक्षाबाट बञ्चीत मतदाताले मेयर, उपमेयरमै हँसिया हथौडामा पनि र मसालमा पनि हानेको छ । त्यस्ता खालको मत थियो । ल्याप्चे मतहरु बढी थियो । त्यसखालको मत ११ हजारभन्दा धेरै थियो ।
तर, विराटनगर हाम्रो गढ हो भन्ने दावी गर्ने काँग्रेस एकातिर छ, अर्कोतिर विगतको बदर मतको अवस्था सुधार हुने आधार पनि त छैन नि ?
हिजोको अवस्थाभन्दा हामी अहिले सचेत भएका छौं । निरन्तर जनताको घरदैलोमा गएका छौं । जनता आफैं पनि यसपटक सचेत छन् । त्यसबेला मतदाता शिक्षाको अभाव भयो । यसपटक मत बिगार्दैनौं भन्ने कुरा जनताबाटै आएको छ । हाम्रो पार्टी त्यतिबेला भन्दा अझ सशक्त रुपमा मजबुद भएर आएको छ ।
केन्द्रबाटै गठनबन्द गर्ने निर्णय भएको छ । त्यो अवस्थामा महानगरको नेतृत्व तपाईहरुले पाउने संभावना छ र ?
यसमा तीनवटा अवस्था छ । कांग्रेससहितको गठबन्धन बन्ने अवस्था पनि छ । त्यसबाहेक माओवादी, नेकपा एस र हाम्रोपार्टीबीच गठबन्धन हुने अवस्था पनि छ । त्यो पनि गठबन्धन भएन भने विराटनगरमा एक्लै पनि चुनाव जित्ने अवस्थामा हामी छौं । गठबन्धनको निर्णय गर्दा नेतृत्वले विराटनगरमा हाम्रो पार्टीको मेयर हुनेगरि निर्णय गर्छ । किनकि विराटनगरमा जसपाले मेयर पद लिएर मात्रै गठबन्धन हुन्छ । अरुलाई सघाउने गरी हामी अगाडि बढ्दैनौं । हामी मेयर राखेर मात्रै गठबन्धन गर्छौं ।
विराटनगर महानगरपालिकामा फेरि पनि तपाई नै उम्मेदवार हो कि के छ अवस्था ?
मेरो उम्मेद्वारी कायम राखेको छु । मेरो उम्मेद्वारी रहन्छ । जसपा नेपालको म नै आधिकारिक उम्मेद्वार हुँ । मलाई नै पार्टीले उम्मेद्वार बनाउँछ भन्ने कुरामा म विश्वस्त छु । हाम्रो पार्टी पनि स्थानीय तहबाट जनता र कार्यकर्ताको भावना अनुसार मेयरको टिकट दिने हो । मलाई लाग्छ जनता र पार्टीको कार्यकर्ताले पनि मलाई माया गर्छन् । पार्टीले पनि सोही अनुसार नै निर्णय गर्छ भन्ने मलाई लागेको छ ।
२०७४ सालको निर्वाचनबाट भीम पराजुलीको नेतृत्वको सरकार आएपछिको कामको मूल्यांकन तपाईले कसरी गर्नुभएको छ ?
स्थानीय सरकार यहाँ असफल भएको छ । हामी सबै विराटनगरमा छौं । विराटनगरमा तपाईहामीले के नयाँ देखेका छौं ? फलाना मेयरले यो ५ वर्षमा यस्तो भयो भन्ने के देख्नुभएको छ ? यहाँ नयाँपन केही पनि देखाउनु त ?
विराटनगरका सडकहरु युरोपको जस्तो भएको दावी मेयर पराजुलीको सुन्नुभएको छैन ?
यो प्रोजेक्ट त एडीबीको हो । यो एडीबीको प्रोजेक्ट भीम पराजुली आउनुभन्दा अगाडि सम्झौता भएर अगाडि बढेको हो । त्यसबेला प्रोजेक्ट फर्किन लागेको अवस्थामा विराटनगर १४ सिंघीया खोला क्षेत्रमा जग्गा चाहिएको थियो । जग्गा उपलब्ध नभएको खण्डमा एडिविको प्रोजेक्ट नै फिर्ता जाने अवस्था थियो । त्यसबेला मैले ८ विगाहा र जयराम यादवले ६ विगाहा जग्गा नदिएको भए त्यो प्रोजेक्ट नै फिर्ता जान्थ्यो । बजेट फिर्ता गएको भए, कुन बजेटले बाटोघाटो बन्थ्यो ? विराटनगरको विकास एडिबिको बजेटबाट बनेको हो । मेयर नभएको भएपनि वा जो भएको भएपनि त्यो बन्थ्यो । यो कुरा सबै जनताले बुझेका छन् । सबै जनतालाई थाहा छ । बरु यसको श्रेय जाने हो भने त्यतिबेलाका कार्यकारी अधिकृत गोपाल रेग्मीलाई जान्छ । उहाँकै पहलमा एडिबिएको प्रोजेक्ट आएको हो, विराटनगरमा ।
प्रदेश र संघले कार्यक्रम तथा बजेट नदिएकोले विराटनगरको विकास हुन नसकेको गुनासो पनि अहिलेको नेतृत्वको छ नि ?
तपाईले भीम पराजुलीले जुन गुनासोको कुरा गर्नुभएको छ, मेरो अनुकुलको सरकार भएन, माथिल्लो निकायले बजेट दिएन भन्ने जुन तरिकाले उहाँ भन्दै हुनुहुन्छ । त्यस्तै तरिकाले यो बाटोघाटो पनि मेरो कारणले बनेको होइन, एडिबिको प्रोजेक्टबाट बनेको हो, गोपाल रेग्मीको पालामा आएको हो पनि त भन्न सक्नु पर्यो नि । भएका कामको चाहिं जस आफूले लिन खोज्ने । नभएको कामको अपजस पनि त लिनुपर्यो नि ।
विराटनगरलाई विकसित गर्ने तपाईको एजेण्डा चाहिं के छ ?
स्वास्थ्य, शिक्षा, सुकुमबासीहरुको समस्या समाधान गर्ने, तटबन्धनको कुराहरुलाई लिएर अगाडि बढ्ने हो । विराटनगरमा कमसेकम ५ वर्षको अवधिमा फलानो मेयरले विराटनगरलाई केही चिज दिएर गएको छ भन्ने कुराको महसुस हुनेगरी काम गर्छु । विराटनगरमा आमूल परिवर्तन, आमूल विकास निर्माणको काम हुनेछन् । अहिले नै चुनावको उम्मेद्वार बनिसकेको पनि छैन । पार्टीको तर्फबाट घोषणापत्र आउँछ । त्यसबेला अरू धेरै कुरा भनौंला ।
गठबन्धनबाट बाहिर रहेको नेकपा एमालेले पनि महानगरमा यस पटक चुनाब जित्ने दावी गरिरहेको छ । त्यसलाई कसरी लिनुभएको छ ?
एमालेले जित्छु भनेको भएपनि त्यसको आधार छैन । किनभने स्थानीय वडामा ३ वटा मात्रै उहाँहरुले जित्नुभएको हो । अन्य वडामा उहाँहरुको अवस्था के थियो भन्ने कुरा पनि हेर्नुपर्छ । जित्ने हामी नै हो । त्यसको धेरै पछाडिको अवस्थामा दोस्रो कांगे्रस हुन्छ ।