बिक्रम लुईटेल
प्रहरीको विषयमा पहिला पहिला धेरै समचार र लेखहरू लेख्ने गर्थे । सुरू–सुरूमा पत्रकारिता गर्दा प्रहरीको समचार र निकटता महत्वपूर्ण हुन्थ्यो । किनकि सूचनाको बलियो स्रोत प्रहरी थियो । हिजोआज प्रहरी सूचनाको स्रोत होइन, मौका परे पत्रकारसँग सूचना लिएर आफ्नो कर्तब्य निर्वाह गर्न खोजेको अनुभूति हुन्छ ।
अपराधिक घटनाका विवरणहरू पत्रकारहरूलाई उपलब्ध गराएर सहजकिरण गरेजस्तो, काम गरेजस्तो पनि गर्दछन् । अलिकति भविष्य भएका प्रहरी अधिकृतहरू प्रचारबाजी पनि गर्ने र भित्र भित्र नजानिदो ढंगले सेटिङ्ग पनि गर्ने गर्दछन् । खास गरेर नेपालमा निर्वाचनको बेलामा ठूला खालका सेटिङहरू हुने गर्दछन् । हामीले सुन्दै आएको २०३६ सालको बहुदल, निर्दल चुनावमा बनजंगल मास्ने सेटिङ भए र जंगल पनि मासियो । हामीले पत्रकारिता गर्दै आएको यो दुई दशकमा भिन्दै खालका सेटिङहरू प्रहरीले गर्दै आएको छ । खास गरेर विराटनगर क्षेत्रमा मात्रै होइन सुनसरी, मोरङ र झापालगायतका सीमा चुनावमा बेला बोर्डर खुल्ला गर्ने र तस्करीलाई सजिलो बनाइदिने गरेको तथ्य छ ।
२०६४ देखि यताका हरेक जसो चुनावमा बोर्डरमा नाम चलेका नेताहरूले आफू अनुकुलका डिआइजीदेखि एसपीसम्म ल्याएर बोर्डर खुल्ला गर्ने र चुनावका लागि मेलोमेसो मिलाउने गरेको चर्चा छ । कतिपय सन्दर्भमा तत्कालिन बोर्डरमा बस्ने प्रहरीका हाकिमहरूले बोरामा पैसा हालेर पनि लैजाने गर्थे । नशाका सुरमा यस्ता कुरा व्यक्त गर्ने प्रहरी हाकिमहरू मनग्गे भेटिन्थे । अहिले पनि सुनसरी, मोरङ र झापाका बोर्डरहरूबाट सानातिना कारोबार भइरहेका छन् ।
अहिले पछिल्लो समयमा स्थानीय तहको चुनाव आउँदैगर्दा यस्ता चर्चाहरू सुनिन थालेको छ । त्यहि मेलोमा प्रहरीका हाकिमहरूको सरूवा भएका चर्चा बजारमा चल्न थालेको छ । बिगतका तथ्यहरूले बोर्डरमा अनेकन तस्करीका धन्दा चल्थे र निर्वाचनमा ती झन् खुलम्खुल्ला हुन्थे भन्ने छिपेको छैन । पछिल्लो पटक प्रविधिमा भएको विकासले प्रहरीहरू केही हच्किएपनि ती सम्भावनाहरू प्रवल बढेर गएका छन् । हुन त कतिपय सुनसरी, मोरङ र झापामा यस्ता कारोबारीहरूले नै टिकट पाएका छन् । हामीकहाँ हेर्दा राम्रा, त्यागी जस्ता लाग्ने र लामो समयदेखि राजनीतिकमा भएकाहरू यस्ता धन्दाका बिचौलिया बनेर प्रधानमन्त्रीसम्म पुग्ने गर्दछन् । त्यसैले अहिले प्रहरीमा खबरदारी गर्नुपर्ने आवश्यकता किन पनि छ भने चुनाव आउँदैछ । बोर्डर व्यापक रूपमा खुल्ला गरेर अनेक धन्दा चल्ने संकेत देखिदैछ । त्यसैले प्रहरी र प्रशासनले बोर्डर सेटिङ हैन, चुनाव सुरक्षामा ध्यान दिनु जरुरी छ ।