विराटनगर । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चैत १५ गतेदेखि स्वास्थ्य विमा गरेका विमितहरुको निशुल्क उपचार नगर्ने घोषणा गरेको छ ।
बिमामार्फत प्रतिष्ठानले गरेको खर्चको भर्पाइ सरकारले समयमै नगरेका कारण प्रपितष्ठानमा आर्थिक कठिनाई उत्पन्न भएको जनाउँदै विपीले अब विमाबाट उपचार नगर्ने बताएको हो । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले बुधबार एक सूचना प्रकाशित गरेर गरेको यो घोषणा नसच्चिए प्रदेश १ र २ का हजारौं नागरिक विमा सेवामार्फत हुने उपचारबाट वञ्चित हुनेछन् ।
विपी प्रतिष्ठान प्रदेश १ कै सबैभन्दा ठूलो स्वास्थ्य प्रतिष्ठान हो । दैनिक ३ हजारभन्दा बढी विरामीले ओपिडी सेवा लिँदै आएको प्रतिष्ठानमा स्वास्थ्य विमा गरेका नागरिकले सेवा लिँदै आएका थिए । तर, बिमावापतको रकम भर्पाइमा सरकारले ढिलाई गरेको भन्दै विपी प्रतिष्ठानले उपचार सेवा नदिने घोषणा गरेको हो ।
नेपाल सरकार स्वास्थ्य बिमा बोर्डबाट बिमा गरेका बिमितहरुलाई प्रतिष्ठानले २०७४ साउनदेखि स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको थियो । तर, सरकारले उपचार वापतको रकम लामो समयदेखि उपलब्ध नगराएको भन्दै प्रतिष्ठानले चैत १५ देखि विमाबाट उपचार गर्न नसकिने जनाएको हो ।
‘स्वास्थ्य विमाको कार्यक्रम सञ्चालन गर्दा देखिउका प्राविधिक तथा अन्य समस्याहरुको सहजीकरण गर्न विभिन्न समयमा स्वास्थ्य बिमा बोर्ड लगायत अन्य सरोकारपालाहरुलाई पटकपटक लिखित अनुरोध गर्दा पनि हालसम्म समाधान हुन सकेन,’ उपकुलपति गिरीले सार्वजनिक गरेको सूचनामा भनिएको छ ‘यसबाट प्रतिष्ठान आर्थिक संकटमा परेको छ । शिक्षक तथा कर्मचारीलाई पारिश्रमिक दिन र दैनिक सञ्चालन खर्चमा समेत प्रतिकूल प्रभाव परेको छ ।’ गिरीका अनुसार विमामार्फत पाइने कुनै पनि सेवा बहिरंग, आकस्मिक तथा अन्तरंग सबै विभागमा उपचार बन्द गरिनेछ ।