विराटनगर । विराटनगर २ मा रहेको स्पर्श नेपाल नामक सुधार गृहबाट भागेका एक जना युवा बुधबार दिउँसो मृत भेटिएका छन् । मंगलबार दिउँसो ३ बजेतिर सुधार गृहबाट फरार भएका सुनसरी गढी गाउँपालिका २ घर भइ धरानमा बस्दै आएका २६ वर्षीय दिलेन्द्र परियारका शव सिंघीया खोलामा भेटिएको हो ।

सुधारगृहबाट परियारसहित उनका साथीहरु धरानका निशान धमला, विराटनगरका दिनेश बस्नेत र रोहित कामत फरार भएका थिए । फरार भएका मध्ये तीन जना सिंघीया खोला तरेर बाहिर निस्किएका थिए भने परियार खोलामा डुबेका थिए । हराएको दिनदेखि खोजी गरेको परियारको शव बुधबार दिउँसो मृत अवस्थामा फेला पारेको मोरङ प्रहरीले जनाएको छ । भागेका मध्ये अन्य तीन जना भने परिवारको सम्पर्कमा पुगेका छन् ।

धमलालाई भाग्दाभाग्दै प्रहरी र सुधार केन्द्रको टोलीले नियन्त्रणमा लिएको थियो । बस्नेत र कामत परिवारको सम्पर्कमा पुगिसकेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए ।

भाग्ने क्रममा परियार भने सिंघीया खोलामा हामफालेर बेपत्ता भएका थिए । दहमा हामफालेपछि बाहिर निस्कन नसक्दा पानीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । लागुऔषध दुव्र्यसनी चारै जनालाई परिवारले सुधारका लागि एक महिनाअघि सुधार केन्द्रको जिम्मा लगाएका थिए ।

मृतकका बुबा दिलीपकुमार परियारले सुधार केन्द्रको लापरबाहीका कारण घटना भएको आरोप लगाएका छन् । ‘छोरालाई फागुन १ देखि सुधार गृहमा राखेका थिए । मासिक ५० हजार रुपैयाँ दिएर राखेको सुधारको लापरवाहीले अहिले यस्तो घटना भएको छ,’ उनले भने, ‘सुधार गृहका संचालकलाई कारवाही गरिनुपर्दछ ।’ सुधार गृहको नाममा बिगार गर्ने संस्था भएकोले प्रशासनले कारवाहीकोे दायरामा ल्याउनुपर्ने मृतक परिवारको माग छ । ‘सुधार केन्द्रबाट दिउँसै छोरो भागे पनि परिवारलाई ढिलो मात्रै जानकारी दिइयो,’ उनले भने, ‘सुधार केन्द्रमा चरम लापरबाही रहेछ । नियमक निकायाले छानविन गरिनु पर्दछ ।’

सुधार केन्द्रले दुव्र्यसनीको रेखदेखका लागि केही युवालाई राखेको थियो । उनीहरूले वास्ता नगर्दा घटना भएको मृतकका आफन्त बताउँछन् । परिवारका सदस्य र आफन्तले मृत फेला परेका परियारको शव बुझ्न अस्वीकार गरेका छन् । सम्झाइबुझाई गरेर शव भने पोस्टमार्टमका लागि कोसी अस्पताल लगिएको एसपी जिसीले बताए । उनका अनुसार घटनाका सम्बन्धमा विभिन्न कोणबाट अनुसन्धान थालिएको जानकारी दिए ।

सुधार केन्द्रका अध्यक्ष सञ्जिव खड्काले सुधार गृहले कुनै पनि लापरवाही नगरेको दाबी गरेका छन् । अहिले पनि सुधार गृहमा १५ जना युवा रहेका छन् । ‘सरसफाइको समयमा कर्मचारीलाई झुक्याएर उनीहरु फरार भएका रहेछन् । यसमा हामीले कुनै लापरवाही गरेको छैन । फरार भएपछि खोजी कार्य गरेको थियौं । तर, यस्तो दुःखद घटना हुन पुग्यो । यस घटनाले हामी पनि मर्माहित भएका छौं,’ उनले भने ।