विराटनगर । तीन जना साझेदारको हत्या प्रकरणमा जोडिएका घटनाको मुख्य अभियुक्त सिरहा नगरपालिका घर भइ काठमाडौंको बल्खुमा बस्ने ३१ वर्षीय अनिल कुमार मण्डलसहित चार जना पुर्पक्षको लागि जेल चलान भएका छन् ।

मोरङ अदालतका न्यायाधीश भरत लम्सालको इजलाशले मुख्य अभियुक्ति मण्डलसहित चार जनालाई पुर्पक्षको लागि थुनामा राख्न बुधबार आदेश दिएको हो ।

अदालतको आदेशपछि मण्डलसहित जहदा ४ का २९ वर्षीय अमित भन्ने दिनानाथ सोनार, धनपालथान गाउँपालिका ७ का ६३ वर्षीय नासिर मियाँ, रंगेली ३ का ३५ वर्षीय सोहान मिया भन्ने मोहमद सुभान मनसुरी पुर्पक्षको लागि मोरङ कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिए । श्रृंखलाबद्ध हत्याको घटनामा एक जना नावलक रहेकाले ती बालकलाई अदालतले बाल सुधार गृहमा राख्न आदेश गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय मोरङले पक्राउ परेका पाँच र फरार १ जनासहित ६ जनालाई प्रतिवादी बनाएर कर्तब्य ज्यान मुद्दामा मोरङ अदालतमा मुद्दा दर्ता गरेको थियो । बुधबार बादी र प्रतिवादीतर्फका कानुन व्यवसायीहरुले बसह गरेपछि अदालतले आदेश गरेको हो ।

ललितपुरको क्यान्सर अस्पतालनजिक रहेको २५ रोपनी ७ आना जग्गा बैंक ग्यारेन्टी मिलाएवापत आउने १ करोड ५० लाख रुपैयाँ ‘कमिशन’ एक्लै हत्याउन घटनाको मुख्य योजनाकार मण्डलले भाडा गुण्डा प्रयोग गरि फरक फरक मितीमा तीन जना साझेदार साथीको हत्या गरेका थिए ।

मण्डलले आधा दर्जन भाडाका पेसेवर अपराधि झिकाएर एउटै शैलीमा तेह्रथमु संक्रान्ति २ घर भइ काठमाण्डौ बस्दै आएका ६३ वर्षीय मोहन लिम्बु, सुनसरीको धरान घर भइ भक्तपर बस्दै आएका ४८ वर्षीय राजेन्द्र श्रेष्ठ र सप्तरीको शम्भुनाथ नगरपालिका ४ घर भइ काठमाण्डौं बस्दै आएका ३२ वर्षीय शम्भु कुमार चौधरीको हत्या गरेका थिए ।

मोरङको धनपालथान गाउँपालिका–७ उखुबारीमा गत माघ १२ र १३ गते दुईवटा शव भेटिएको थियो । चाँडो गलाउन ३० मिटरको दूरीमा रहेका दुवै खाल्डोमा नुनसमेत हालेर गाडिएको अवस्थामा शव भेटिएको थियो । अनुसन्धानबाट राजेन्द्रको हत्या पुस ३ र शम्भुको पुस ७ गते भएको खुलेको छ । त्यसअघि नै उनीहरुका व्यावसायिक साझेदार िलम्बूको हत्या भइसकेको पत्ता लाग्यो । ललितपुरको गोदावरी नगरपालिका–१२ थेचोस्थित एउटा घरको कम्पाउण्डमा खाल्डो खनी सिमेन्ट प्लाष्टर गरेर गाडेको अवस्थामा माघ २० गते प्रहरीले मोहनको शव उत्खनन ग¥यो । मंसिर २८ गते मोहनको हत्या भएको थियो ।

तीनै जनाको हत्या व्यावसायिक साझेदार मण्डलको योजनामा भएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए । उनका अनुसार आफैँ योजना बनाएर ९ दिनको अवधिमा ३ जना साझेदारको हत्या गरे पनि शव बरामद भइसकेपछि घटनाको अनुसन्धानमा सहयोग गर्ने बहानामा अनिल प्रहरीको सम्पर्कमा आएका थिए । काठमाडौंबाट कुरियर गरेर जहाजमार्फत केही कागजात मोरङ प्रहरीलाई पठाएका उनी काठमाडौं महानगरपालिका–१३ बल्खुबाट पक्राउ परेका हुन् ।

नेपाल–बंगलादेश बैंकमा धितो राखिएको ललितपुरको हरिसिद्धीस्थित एनबी वार्ता हस्पिटल एण्ड मेडिकल रिसर्च सेन्टरको २५ रोपनी ७ आना जग्गा उकास्दा प्राप्त हुने ३ प्रतिशत कमिसन (लगभग डेढ करोड रूपैयाँ) मा कुरा नमिल्दा तीनै जनाको हत्या गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । बैंकले लिलामीको प्रक्रियामा लगेको जग्गा उकास्ने विषयमा अनिल र काभ्रेका भरत खड्काबीच सहमति भएको थियो ।

जग्गा उकास्नका लागि अनिलले भरतलाई ४५ करोड रूपैयाँ दुई महिनाभित्र दिने सम्झौता २ जनाबीच गत असोज १० गते भएको थियो । पुस २० गतेको म्याद राखेर त्यही बेला दिएको ६ करोडको चेक खातामा पैसा नभएपछि साटिएन । पैस जुटाउन नसकेपछि अनिलले राजेन्द्रलाई सुनाए । राजेन्द्रबाट मोहन हुँदै कुरा आएपछि शम्भु लगानी गर्न तयार भए । मोहनले कमिसनको आधा रकम मागेपछि क्रुद्ध बनेका अनिलले उनको हत्या गर्ने योजना बनाएको अनुसन्धानबाट खुलेको छ । मोहनको हत्या गरेको भोलिपल्ट अर्थात मंसिर २९ गते जग्गाको छलफल गर्न भन्दै राजेन्द्र र शम्भुलाई लिएर अनिल विराटनगर आए । जग्गा उकास्नलाई ५५ करोड दिन शम्भु तयार भएपछि सबै पैसा पुस २७ भित्रमा दिने गरी शम्भु र भरतबीच पुस २ गते सम्झौता भयो ।

त्यहाँ पनि कमिसनको कुरा नमिलेपछि राजेन्द्रको हत्या पुस ३ गते गरिएको प्रहरीले जनाएको छ । पुस ७ गते अनिलकै योजनामा शम्भुको पनि हत्या भयो । शम्भु र राजेन्द्रको हत्या गर्ने योजना विराटनगरको महेन्द्रचौकस्थित सातु पसलमा बनेको थियो ।