विराटनगर । प्रदेश १ मा एक वर्षको अवधिमा ६७ जनाको हत्या भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ ले हिजो नेपाल मानवअधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै प्रदेश १ मा सन् २०२१मा ६७ जनाको हत्या भएको तथ्याँक सार्वजनिक गरेको हो।

सन् २०२०मा प्रदेश १ मा ८२ जनाको हत्या भएको थियो। प्रदेश १ मा सन् २०२१ मा ९ सय १९ जना मानवअधिकार उलङ्घन तथा ज्यादतीका घटनामा पीडित भएका छन्। इन्सेक प्रदेश १ का प्रलेख अधिकृत पुन्य पी अधिकारीले प्रदेश १ को मानवअधिकारका विषयमा जानकारी दिंदै सन् २०२१मा राज्य पक्षबाट मानवअधिकार उलंघनका घटनामा ३० जना र अन्य पक्षबाट भएका ज्यादतीका घटनामा ८ सय ८९ जना पीडित भएको बताए। गत वर्ष प्रदेश १ मा मानवअधिकार उलंघनका घटनामा ८ सय १३ जना पीडित भएका थिए।

सन् २०२१मा प्रदेश १ मा अपहरणका घटनामा ४, जातीय विभेद १ धम्की ४, यातना १, महिला हिंसा ४ सय ६८ जना पीडित भएका छन्। सन् २०२१मा प्रदेशका विभिन्न कारागारमा ७ जनाको मृत्यु भएको थियो।