विराटनगर । सुनसरीको धरान–४ मा पर्ने जंगलमा एक युवकको शव टुक्राटुक्रा पारेर झोलामा हालेर फ्याँकेको अवस्थामा फेला परेको छ ।

कोशी राजमार्गको भेडेटार सडक खण्ड नजिकैको जंगलमा घाँस काट्न गएका गाउँलेले बुधबार थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । सुनसरी प्रहरी प्रमुख एसपी सन्जयसिंह थापाका अनुसार घाँस काट्न गएका गाउँलेले जेब्रा झोलामा मान्छेको खुट्टा र टाउको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी घटनास्थल पुग्दा झोलामा हालेर फालेको अवस्थामा टाउको र खुट्टा फेला पर्यो । ‘आज त्यसको नजिकै अर्को जेब्रा झोला पनि भेटिएको छ,’ एसपी थापाले भने, ‘त्यसमा जीउ हुनसक्ने अनुमान छ । अब केहीबेरमा त्यो झोला खोल्दैछौं ।’

प्रहरीका अनुसार झोलामा टुक्रा भेटिएको शवको प्रकृति हेर्दा अन्दाजी ३०–३२ वर्षका युवक जस्तो देखिएको छ । प्रहरीका अनुसार शव केही पुरानै हो । त्यसैले गन्ध चलिरहेको छ । शवबारे अनुसन्धान भइरहेको प्रहरी भनाइ छ ।