विराटनगर । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि प्रयोगात्मक (ट्रायल) परिक्षामा सहभागी परीक्षार्थीले आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्थालाई खुला गरिएको छ ।यातायात व्यवस्था सेवा कार्यालय, धनकुटा र उदयपुरले मंगलबार एक सूचना जारी गर्दै प्रयोगात्मक परीक्षामा परीक्षार्थीले आफ्नै सवारी साधन प्रयोग गर्न पाउने जानकारी गराएको हो ।

सेवा कार्यालयले आगामी फागुन ५ गतेदेखि हुने परीक्षामा आफ्नै सवारी साधन प्रयोग गर्नसक्ने व्यवस्था गरेको हो । परीक्षार्थीको सवारी साधन कानुन बमोजिम मान्यता पाएको हुनुपर्ने सूचनामा उल्लेख छ ।

सूचनामा भनिएको छ ‘परीक्षार्र्थीको ब्लुबुक नविकरण भएको हुनुपर्ने, सवारी साधानको तेश्रो पक्ष बीमा अनिवार्य गरेको हुनपर्ने ,ट्राइल दिन आउँदा स.चा.अ.प. (लाइसेन्स) भएको व्यक्तिसँग आएको हुनुपर्ने र सवारी साधन सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ ले निर्दिष्ट गरेको मापदण्डबमोजिम भएको हुनपर्ने छ ।’

अघिल्लो सरकारले परिक्षार्थीले ट्रायल सेन्टरकै सवारी प्रयोग गर्नुपर्ने बाध्यकारी नियम रहेकोमा मुख्यमन्त्री राजेन्द्रकुमार राईको निर्देशनपछि ट्रायल दिनेले परीक्षामा आफ्नै सवारी साधन प्रयोग गर्न पाउने भएका हुन् । मुख्यमन्त्री राईले प्रदेशका सबै यातायात व्यवस्था सेवा कार्यालयका प्रमुखहरु बोलाएर दिएको निर्देशन कार्यान्वयन भएको हो ।

सवारी साधनको लाइसेन्स प्रक्रियामा धेरै चलखेल हुने गरेको रिपोर्टिङ आएपछि मुख्यमन्त्री राईले सबै कार्यलय प्रमुखलाई बोलाई सेवा प्रभावकारी बनाउन निर्देशन दिएका थिए । ट्रायल सेन्टर सञ्चालक र कर्मचारीको मिलेमतोमा ट्रायल परिक्षामा ट्रायल सेन्टरकै सवारी प्रयोग गर्नुपर्ने बाध्यकारी नियम अघिल्लो सरकारले बनाएको थियो ।

यसअघि दैनिक सयौं ट्रायल परीक्षा दिन जाँदा ट्रायल सेन्टरकै सवारी प्रयोग गर्नुपर्ने र त्यसको लागि शुल्क तिर्नुपर्ने व्यवस्था रहेको थियो ।