विराटनगर । कोभिड–१९ को महामारीका कारण बन्द भएको खोटाङको हलेसी मन्दिर प्रवेश खुला गरिएको छ ।

कोभिड–१९ को सङ्क्रमण दर कम हुँदै गएपछि त्रि–धार्मिकस्थल हलेसी मन्दिर प्रवेश खुला गरिएको हलेसी सूचना केन्द्रले जनाएको छ । एक पटकमा २५ जना मात्र प्रवेश गर्न पाउने, सबैले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, भिडभाड नगर्ने सर्तमा मन्दिर प्रवेश गर्न दिन थालिएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए ।

कोभिड–१९ को तेस्रो लहरको महामारी सुरु भएपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको मन्दिरको गेटमा गएको माघ ७ गतेदेखि ताला लगाइएको थियो ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालको संयोजकत्वमा ५ माघमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीएमसी)को बैठकको निर्णय अनुसार हलेसीको गेटमा तेश्रो पल्ट ताला लगाइएको थियो । पूर्वको पशुपतिनाथका रुपमा चिनिने हलेसीमा दैनिक बिहान र बेलुका हुँदैआएको नित्य–नैनित्य पूजालाई भने निरन्तरता दिने गरी गेटमा ताला लगाइएको थियो ।