विराटनगर । कृष्णप्रसाद सिग्देल स्मृति युवा युवा पत्रकारिता पुरस्कारबाट विराटनगरमा दुई जना सम्मानित भएका छन् । प्रेस चौतारी नेपालको २४औं स्थापना दिवसका अवसरमा विराटनगरमा आज आयोजित एक कार्यक्रममा विराटनगरका पत्रकार नेत्र पि अधिकारी र उर्लाबारीका पत्रकार घनश्याम भण्डारी पुरस्कृत भएका हुन् ।

२०७७ र २०७८ साल दुई वर्षको पत्रकारिता पुरस्कार एकै पटक प्रदान गरिएको प्रेस चौतारी मोरङकी उपाध्यक्ष चीना थापाले जानकारी दिइन् । दुवै पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पुरस्कार वितरण गरे । कार्यक्रममा बोल्दै नेता ढकालले एक जना युवा व्यवसायीको नामबाट स्थापित पुरस्कारले युवाहरूलाई उत्साहित बनाउने बताए ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य विनोद ढकालले प्रेस चौतारीले सबैलाई मिलाएर र अगुवाइ गर्ने संगठन रहेको बताए । उनले राजनीतिमा जोडिएको भन्दै आफ्नो विवेकलाई बन्धक बनाउन नहुनेमा जोड दिए ।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय लेखा आयोग संयोजक विक्रम लुइँटेल, नेकपा एमाले सचिव रूपेश खतिवडा, प्रेस चौतारी मोरङ अध्यक्ष सुदिप कोइराला, पत्रकार महासंघ मोरङ अध्यक्ष सञ्जीव खनाल, प्रेस सेन्टरका मोरङ अध्यक्ष अर्जुन आचार्य तथा प्रेस युनियन मोरङ उपाध्यक्ष कौशल निरौलाले स्थापना दिवसको शुभकामना दिएका थिए ।