विराटनगर । तीन जना साझेदार साथीको हत्या सिराह नगरपालिका २ घर भइ काठमाडौंको बल्खुमा बस्ने ३१ वर्षीय अनिल कुमार मण्डलको मुख्य योजनामा ६ जनाले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न ६ नै जना नेपाली रहेको प्रहरीले जनाएको छ ।
‘कमिसन’ एक्लै हत्याउन मण्डलले १५ लाख दिने भएपछि भाडाका पेशेबर अपराधी झिकाएर फिल्मी शैलीमा तीन जना साझेदार साथीको हत्या गरेको खुलेको छ । ललितपुरको क्यान्सर अस्पताल नजिक रहेको २५ रोपनी ७ आना जग्गा बैंक ग्यारेन्टी मिलाएवापत आउने १ करोड ५० लाख रुपैयाँ ‘कमिसन’ एक्लै हत्याउन मण्डलले फरकफरक मितिमा तेह्रथमु संक्रान्ति २ घर भइ काठमाडौं बस्दै आएका ६३ वर्षीय मोहन लिम्बू, सुनसरीको धरान घर भइ भक्तपुर बस्दै आएका ४८ वर्षीय राजेन्द्र श्रेष्ठ र सप्तरीको शम्भुनाथ नगरपालिका ४ घर भई काठमाडौं बस्दै आएका ३२ वर्षीय शम्भुकुमार चौधरीको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए ।
तीन जनाको हत्यामा आधा दर्जन बढीको संलग्न भएपनि मुख्य योजनाकार मण्डलसहित मोरङ प्रहरीले बिहीबार चार जनालाई पक्राउ गरेको छ । प्रहरीले हत्या आरोपमा पक्राउ परेका मण्डलसहित मोरङको जहदा गाउँपालिका ४ सिस्वनी बस्ने २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार र धनपालथान गाउँपालिका ७ कमलपुरका ६२ वर्षीय नासिर आलमलाई शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको छ । घटनामा संलग्न अर्का एक जना पक्राउ परेको भएपनि प्रहरीले पहिचान खुलाएको छैन ।
कारागार मै भएको थियो अनिल र अमितको चिनजान
व्यावसायिक साझेदार मण्डलले श्रेष्ठ, चौधरी र लिम्बूको हत्या गरेवापत अनिलले १५ लाख रुपैयाँ दिने भनेपछि जहदा ४ का २९ वर्षी अमित साह भनिने दिनानाथ सोनारले हत्याको जिम्मा लिएको प्रहरीको अनुसन्धानदेखि खुलेको छ । हत्या गर्नुभन्दा अगाडि अनिलबाट अमितले तीन लाख रुपैयाँ लिइसकेका छन् । बाँकी रहेको १२ लाख रुपैयाँ कमिसन रकम आएछि दिने सर्त बनाएका थिए । हत्या गर्नुभन्दा अगाडी अमित काठमाडौं गएको पनि देखिएको छ ।
‘अनिमलले भने अनुसार मोहनको हत्या गर्ने योजना बनाएपछि अमितले हत्या गर्न ६ जना मान्छे लिएर काठमाडौंसम्म पुगेको देखिएको छ,’ एक प्रहरी अधिकृतले भने । अनिल र अमित यसअघि जेल बसेका अभियुक्त पनि हुन् । उनीहरुको जेलमा रहदा चिनजान भएको थियो । अनिल ठगी मुद्दा र अमित लागूऔषध मुद्दामा जेल जीवन बिताएका थिए । त्यहीबाट उनीहरुको चिनजान भएको हो । उनीहरुको चिजान नख्खु कारागारमा बस्दा चिनजान भएको थियो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।