विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा माघ १२ र १३ गते मृत भेटिएका दुई व्यक्ति र बिहीबार ललितपुरको गोदावरीमा नगरपालिका १२ थेचोमा गाडिएको अवस्थमा शव भेटिएका मोहन लिम्बूको हत्या गर्ने समूहलाई मोरङ प्रहरीले सार्वजनिक गर्दैछ । तीन जनाको हत्या उनीहरुकै सहकर्मीबाट भएको प्रहरी अनुसन्धानबाट पुष्टि भइसकेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–३ घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ, सप्तरीको शम्भुनाथ नागरपालिका–४ घर भई काठमाडौंमा बस्दै आएका ३२ वर्षीय शम्भु चौधरी र तेह्रथुम घर भई काठमाडौं बस्ने लिम्बुको हत्या गर्ने समूह एउटै भएको प्रहरीको अनुस्न्धानबाट खुलेको हो । प्रहरीले हत्या आरोपमा अनिल मण्डलसहित तीन जनलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका आरोपीहरुलाई मोरङ प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजानिक गर्ने तयारी गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार तीनै जनाको डोरीले घाँटी कसेर हत्या गरेपछि शव खाल्डोमा पुरिएको थियो ।

मृतकको शारीरिक बनावट र घटनास्थलमा भेटिएको कपडा तथा कागजातका आधारमा आफन्तले शवको पहिचान गरेका हुन् । सिरहाका अनिल मण्डलसँग मिलेर मृतकहरुले जग्गा लगायतको कारोबार गर्दै आएको पाइएको प्रहरीले जनाएको छ । चार जना व्यवसायिक साझेदारमध्ये मण्डलले भारतीय र नेपाली अपराधी प्रयोग गरेर तीन जनाको हत्या गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए ।

अनिललाई केही दिनअघि नै अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो । घटनाका बारेमा केही पनि बताउन नचाहेका उनलाई बिहीबार काठमाडौंबाट विराटनगर ल्याइएको छ । नियन्त्रणमा लिइएकामध्ये दुई जनाले घटनामा संलग्नता स्वीकार गरिसकेका थिए ।

‘अपराधमा संलग्न भारतीय र नेपालीको प्रयोग गरेर हत्या गरेको पाइएको छ’ अनुसन्धानमा संलग्न एक अधिृकतले भने, ‘घटना गराउने तीन जनालाई पक्राउ गरिसकिएको छ । अरु व्यक्तिहरुको खोजी जारी छ ।’

लिम्बूको हत्या मंसिर २८ गतेअघि नै भएको प्रहरीले जनाएको छ । श्रेष्ठ र चौधरीको हत्या कहिले भएको हो भन्ने यकिन नभएपछि परिवारसँग ४ पुसदेखि सम्पर्कविहिन भएकाले सोही दिन हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । हत्या मोरङमै गरेर दुबै जनाको शव गाडेको निस्कर्षमा प्रहरी पुगेको छ । उनीहरु दुवै जना ४ पुसदेखि एकै समयमा सम्पर्कविहीन बनेका थिए ।

हत्याअघि उनीहरुलाई विराटनगरस्थित मेट्रोसिटी गेष्ट हाउसमा राखेको पाइएको प्रहरी स्रोतले बताएको छ । गत मंसिर पहिलो साता व्यवहार मिलाउन भन्दै श्रेष्ठ काठमाडौंबाट पूर्वतर्फ आएका थिए । चौधरी पनि उनीसँगै आएको प्रहरी निष्कर्ष छ । कल डिटेल रेकर्ड (सीडीआर) ले पनि त्यही सङ्केत गरेको प्रहरी स्रोतले बतायो ।

उनीसँग सम्पर्क भएकाहरुको विवरण खोतल्दै जाँदा प्रहरीले चौधरी, मण्डल र बिहीबार शव भेटिएका मोहन लिम्बूको कनेक्सन फेला पारेको थियो । घटनाको अनुसन्धान अघि बढाउँदै जाँदा पक्राउ परेकाले दिएको सूचनाका आधारमा मोरङ प्रहरीका डिएसपी मञ्जिल मुकारुङ नेतृत्वको टोली काठमाडौं पुगेर मण्डललाई पक्राउ गरेको थियो । उनलाई पक्राउ गरेपछि अपराध महाशाखाको टोलीसहितले ललितपुरको गोदावरीमा गाडेको अवस्थामा लिम्बूको शव फेला पारेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हत्यामा ८ जना भारतीय नागरिकको प्रयोग भएको देखिएको छ । व्यवसायिक साझेदार मण्डलले श्रेष्ठ, चौधरी र लिम्बूको हत्यामा प्रतिव्यक्ति ५ लाख रूपैयाँ दिएर अपराधी प्रयोग गरेका थिए । ‘पाँच लाख दिने सर्तमा तीन जनाको हत्या गर्न मण्डलले लगाएको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘हत्यामा संलग्नले प्रतिव्यक्ति तीन लाख रूपैयाँ लिइसकेको र दुई लाख रूपैयाँ लिन बाँकी रहेछ ।’

लिम्बूको हत्यापछि हत्यामा संलग्न मण्डल मंसिर २८ गते विराटनगर आएको पाइएको प्रहरीले जनाएको छ । मण्डलसँग श्रेष्ठ र चौधरी पनि आएका थिए । प्रहरी स्रोतका अनुसार ललितपुरमा लिम्बूको हत्या भइसके पनि श्रेष्ठ र चौधरीलाई भने घटनाका बारेमा थाहै थिएन ।

श्रेष्ठ र चौधरीले व्यावसायिक साझेदार लिम्बूको खोजी गरिरहेको र खोजी धेरै गर्न थालेपछि उनीहरुको पनि हत्या भएको प्रहरीको निस्कर्ष छ । स्रोतका अनुसार चार जना मिलेर जग्गा, हाइड्रोपावर, सिमेन्ट उद्योगलगायतमा लगानी गरेको खुलेको छ ।

‘एउटा व्यवसायबाट एक करोडभन्दा बढी कमाई हुन थालेकाले त्यही पैसाको लोभमा परेका मण्डलले योजना बनाएर तीन जनाको हत्या गराएको देखिन्छ,’ उच्च प्रहरी स्रोतले भन्यो, ‘पैसा दिएर मण्डलले हत्यामा सहयोगीहरु प्रयोग गरेको पाइयो । हत्यामा संलग्नले मण्डलबाट अझै केही रकम लिन बाँकी नै रहेको खुलेको छ ।’

प्रहरीका अनुसार पक्राउ परेका अनिलकुमार मण्डलसहितको टोली मंसिर तेस्रो साता घर भाडामा दिन भन्दै थेँचोस्थित प्रमोद थापामगरको घर पुगेको थियो । घर कम्पाउन्डसहितको थियो । व्यापारिक कारोबारका लागि आवश्यक परेको उनीहरूले प्रमोदलाई बताए । प्रमोदले घर भाडामा दिने निर्णय गरे । त्यसपछि अनिलकुमारसहितको टोलीको घरमा आउजाउ हुन थाल्यो ।

सो टोलीले तेह्रथुमका मोहन लिम्बूलाई २८ मंसिरमा उक्त घरमा लगेर बन्धक बनाएका थिए । घरभित्रै घाँटी कसेर हत्या गरेपछि घरनजिकै खाल्डो खनेर शव गाडेका थिए ।

अनिलकुमारकै टोलीले कारोबार मिलाउन भन्दै धरानका राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीका शम्भुनाथ चौधरीलाई काठमाडौंबाट मोरङ लिएर आयो । दुबैको हत्यापछि शव व्यवस्थापनका लागि धनपालथान गाउँपालिका– ७ स्थित उखुबारी लगेको पाइएको छ ।

मोरङमा दुवैको हत्या एकै दिन भएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । ‘२८ मंसिरमा यिनीहरूले मोहनको हत्या गरेजस्तो देखिन्छ । त्यसपछि मोरङमा राजेन्द्रकुमार र शम्भुनाथलाई बोलाएका छन् । उनीहरू पनि काठमाडौंबाट छुट्टाछुट्टै पुगेका छन । र, दुवैको हत्या गरेको देखिन्छ,’ अनुसन्धान अधिृकतले भने ।

प्रहरीका अनुसार राजेन्द्रकुमार र शम्भुनाथ २८ मंसिरमै कारोबार मिलाउन भन्दै परिवारसँग बिदा भएर मोरङ आएका थिए । तर, उनीहरू ४ पुससम्म मात्र परिवारको सम्पर्कमा थिए ।

हत्या गरिएका शम्भुनाथ स्वस्तिक कान्तिपुर कन्स्ट्रक्सनका मालिक हुन् । उनको काठमाडौं– १७ मा कन्स्ट्रक्सनको कार्यालय छ । श्रेष्ठ भने केही वर्षदेखि ठेक्कापट्टा र घरजग्गा कारोबारमा संलग्न थिए । प्रहरीका अनुसार राजेन्द्रकुमार र शम्भुनाथले जग्गा कारोबारदेखि निर्माण व्यवसायमा मात्र नभएर सिमेन्ट उद्योगदेखि हाइड्रोपावरसम्म लगानी गरेका थिए ।

काठमाडौंमा शम्भुनाथको बसाइ क्षेत्रपाटीमा थियो । राजेन्द्रकुमार भने भक्तपुर बस्थे । व्यवसायमा रहेको विवाद नै हत्याको कारण हुनसक्ने अनुसन्धान अधिकृतहरु बताउँछन् ।