विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का ४८ वर्षीय कमल श्रेष्ठलाई आमाको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठलाई आफ्नै ९० वर्षीया आमा जगमाया श्रेष्ठको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । यही माघ १२ गतेदेखि घरैबाट एक्कासी हराएकी भनिएकी बृद्धाको हत्या पछि जलाएको भेटिएको थियो ।

अनुसन्धान गर्दै जाँदा प्रहरी टोलीले हत्यामा छोरा नै संलग्न भएको आशङ्का गर्दै श्रेष्ठलाई पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाईहरुलाई थाहा नै नदिई आफ्नो श्रींमतीको नाममा बनाएका थिए । सोही कुरा आमालगायत अन्य भाइलाई जानकारी भएपछि अदालतमा मुद्दा परेको थियो ।

अदालतले उक्त जग्गा मध्ये ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरेको थियो । त्यही रिसमा श्रेष्ठले आमाको हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाउको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।